शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दाङका कोरोना संक्रमित १८ जना भारतबाट

बुधबार, १४ जेठ २०७७, २२ : २८
बुधबार, १४ जेठ २०७७

दाङ । दाङ जिल्लामा आज कोरोना संक्रमण पुष्टि भएका सबै व्यक्ति भारतबाट फर्किएका हुन् । दाङमा आज कोरोना संक्रमित पुष्टि भएका १५ जनासहित जिल्लामा संक्रमितको सङ्ख्या १८ पुगेको छ । उनीहरु सबै विभिन्न मितिमा भारतबाट फर्किएका हुन् ।

जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाव परीक्षणबाट आज एकै दिन कोरोना पुष्टि भएका १५ जनामध्ये घोराही उपमहानगरपालिकाका सात र लमही नगरपालिकाका आठ जना  छन् ।  घोराही १० र १८ ले निर्माण गरेको क्वारेन्टिनमा बसेका सात संक्रमित सबै भारतको नयाँदिल्लीबाट यही जेठ ९ गते फर्किएको उपमहानगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिए । उनीहरुलाई कपिलवस्तुको कृष्णनगर नाकाबाट उपमहानगरपालिकाले ल्याएर सीधै क्वारेन्टिनमा राखी स्वाब परीक्षणमा पठाइएको बताइएको छ । संक्रमण पुष्टि भएका सातै जनाको अवस्था सामान्य रहेको र उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीको आइसोलेशनमा लगिएको घोराही उपमहानगरपालिका कोरोना फोकल पर्सन विकेश रेग्मीले जानकारी दिए । 

यस्तै लमही नगरले जेठ ९ गते २२  र ११ गते ४७ जनाको स्वाब परीक्षणका लागि प्रतिष्ठानमा पठाएकामध्ये आज कोरोना संक्रमण पुष्टि भएका आठ जना पनि भारतका विभिन्न ठाउँबाट फर्किएका व्यक्ति रहेको नगरपालिकाले जनाएको छ ।   संक्रमितमध्ये वडा नं १ का २३ वर्षीय पुरुष तथा वडा नं २ का ३० र १७ वर्षीय पुरुष  जेठ ९ गते हैदरावादबाट कृष्णनगर नाका हुँदै लमही आएका थिए । यस्तै वडा नं ४ का २६ वर्षीय पुरुष राजस्थान र वडा नं ५ का २० वर्षीया महिला तथा २० र २३ वर्षीय पुरुष पनि भारतका दार्जिलिङ, पञ्जाब र दिल्लीबाट आएका हुन् ।

 लमही नगर प्रमुख कुलबहादुर केसीका अनुसार दार्जलिङबाट आएकी २० वर्षीया विद्यार्थी भारतको सिलगुडी हुँदै नेपालको झापाबाट धरान आएको र धरानबाट दाङका ५० जनाभन्दा बढी मिलेर गाडी रिजर्भ गरेर दाङ आएका हुन् । ती महिलासँगै घोराही, तुलसीपुर र  भालुवाङका यात्रु पनि संँगै आएको महिलाले दिएको जानकारीबाट खुलेको उनले बताए । वडा नं ८ का अर्का २३  वर्षीय पुरुष  भने दिल्लीबाट आएका थिए । संक्रमित सबैलाई उपचारका लागि कोरोना अस्पताल बेलझुण्डी पु¥याइएको नगर प्रमुख केसीले बताए ।  

यसअघि घोराहीमा भेटिएका कोरोना संक्रमित पनि दिल्लीबाट कृष्णनगर हुँदै जेठ ३ गते दाङ आई सोझै कुइरेपानी क्वारेन्टाइनमा बसेका थिए । समुदायमा हेलमेल नभएकाले सामुदायिक संक्रमण नभए पनि उनीहरुसँग गाडीमा अरु ३२ जना आएकाले सबैको परीक्षणको तयारी रहेको घोराही उपमहानगरले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप