शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश नं १ को प्रदेश सभाको बैठक प्रारम्भ

बुधबार, १४ जेठ २०७७, २१ : १३
बुधबार, १४ जेठ २०७७

प्रदेश नं १ को प्रदेश सभाको बैठक आजदेखि प्रारम्भ भएको छ । सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश प्रमुखबाट प्राप्त प्रदेश सभाको छैटौँ तथा बजेट अधिवेशन आह्वानसम्बन्धी पत्र सांसदलाई पढेर सुनाएका थिए ।

बैठकमा मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० संसदीय दलका नेता शेरधन राईले कोरोना नियन्त्रण, रोकथाम एवं जनतालाई राहत प्रदान गर्न स्थानीय तहको भूमिकाको सराहना गरे । 

उनले कोरोनोसँग लड्न प्रदेश सरकार आवश्यक तयारीका साथ लडिरहेको प्रसङ्ग उल्लेख गर्दै प्रदेश सरकारले कोरोना नियन्त्रण, उपचार एवं रोकथाममा प्रारम्भदेखि नै व्यवस्थित ढङ्गले अघि बढिरहेको चर्चा गरे । 

उनले प्रदेश नं १ मा अहिलेसम्ममा पाँच हजार ५५६ जनाको पिसीआर र ११ हजार २५२ जनाको आरडिटी परीक्षण भइसकेको जानकारी दिँदै सरकारले दैनिक एक हजार जनाको कोरोना परीक्षण गर्ने व्यवस्थातर्फ अग्रसर रहेको बताए । 

मुख्यमन्त्री राईले सरकारले स्थापना गरेको कोरोना उपचार कोषमा अहिलेसम्म रु २९ करोड ३५ लाख रकम जम्मा भइसकेको जानकारी दिँदै भारतबाट नेपाल प्रवेश गर्न इलामको पशुपतिनगर, झापाको काँकडभिट्टा, भद्रपुर र गौरीगञ्ज मोरङको रंगेली र रानी तथा सुनसरीको भन्टाबारीलाई प्रवेश बिन्दु तोकेको जानकारी दिए ।

उनले नेपाली नागरिकलाई ससम्मान नेपाल प्रवेश गराई रोजगार गुमाएका युवालाई समृद्धिसँग जोडेर उत्पादनशील क्षेत्रमा उहाँहरुको सीप, क्षमता, ज्ञान र दक्षतालाई प्रयोग गराई उत्पादन बढाउने योजना रहेको चर्चा गरे । 

उनले कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीको ज्यान गएमा रु ५० लाख आर्थिक सहयोग गर्ने भन्दै प्रदेशमा अहिले एक हजार ६८८ श्ययाको क्वारेन्टाइन रहेको र यसको सङ्ख्या वृद्धि गर्ने योजनाकासाथ अधि बढिरहेको बताए । 

उनले तिब्बत सरकारबाट रु आठ करोड मूल्य बराबरको १८ प्रकारको कोरोना उपचारमा आवश्यक पर्ने सामग्री सहयोग स्वरुप प्राप्त भएको सदनलाई जानकारी दिँदै प्रदेशमा ५० हजार जनाको पिसिआर परीक्षण हुने बताए ।

मुख्यमन्त्री राईले प्रदेश सरकार बनेको २५ महिनाको अवधिमा सरकारले धेरै रचनात्मक कार्य गरेको बताउँदै चालु आर्थिक वर्षमा विकास निर्माणका योजनामा विनियोजित बजेट ४० प्रतिशत खर्च भएको र मसान्तसम्ममा ६० प्रतिशत पुग्ने विश्वास व्यक्त गरे ।

नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले भारतमा बसोबास गर्ने तथा रोजगारी गर्ने युवा नेपाल प्रवेश गर्न चाहेमा उहाँहरुलाई ससम्मान प्रवेश गराउने वातावरण सिर्जना गर्न सरकारको ध्यानाकर्षण गराए । उनले कोरोना भाइरसका कारण चौतर्फी अवरोध सिर्जना भइरहेको अवस्थामा लकडाउनको विकल्प निकाल्नुपर्ने सुझाव दिँदै चालु आर्थिक वर्षको विनियोजित बजेट जथाभावी खर्च नगर्न सरकारको ध्यानाकर्षण गराए ।

समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले कोरोना उपचारमा सरकारले गरेको कार्यप्रति सन्तुष्टि व्यक्त गरे । उनले लकडाउनको समयमा रोजगार गुमाएका, गरिब एवं विपन्न परिवारको जीवनयापन गर्न स्थानीय तहले खेलेको भूमिका सराहनीय छ भन्दै नेपालको भूमि कसैले इन्च मिचेमा सहन नसकिने भन्दै सामाजिक सञ्जालमा सीमाको विषय लिएर मधेशी समुदायलाई लक्षित गरी आइरहेको अभिव्यक्तिप्रति आक्रोश व्यक्त गरे । 

सङ्घीय लोकतान्त्रिक मञ्चका संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले आउने बजेटमा अनुत्पादक खर्च घटाई कोरोना उपचारमा खर्च गर्न बजेट विनियोजन हुनुपर्ने सुझाव दिए। उनले कृषि र रोजगारमूलक क्षेत्रको पहिचान गरी सरकारले बजेट विनियोजन गर्न सक्यो भने नेपाल आत्मनिर्भर बन्ने भन्दै कोरोना परीक्षणको दायरा बढाउन सुझाव दिए ।

 राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता इन्दिरा राईले कोरोना उपचारमा सरकारले गरेको प्रयास सन्तोषजनक छ भन्दै विदेशमा रहेका र नेपाल आउन चाहने युवालाई ससम्मान मुलुक प्रवेश गराई रोजगार दिनुपर्ने कुरामा जोड दिइन् ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिसहितको पूर्वबजेट प्रस्ताव सदनमा पेश गरे ।

उनले आगामी आर्थिक वर्षको बजेटको आकार घट्ने भन्दै सरकारले रोजगारमार्फत उत्पादन बढाउने, उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्न बजेटले प्राथमिकता दिने कुरामा जोड दिए । 

उनले आगामी बजेटले राहत तथा पुनःस्थापना कार्यलाई प्राथमिकता दिने, युवालाई कृषि पेशामा आबद्ध गराउने, उद्यमशीलता र रोजगारीको अवसरहरु सिर्जना गरी गरिबी र बेरोजगारी समाधान गर्नेतर्फ बजेट केन्द्रित हुने प्रष्ट पार्दै सरकार खानेपानी, सिँचाइ र सरसफाइ कार्यमा बजेट विनियोजन गर्नुका साथै प्रदेशको सुरक्षा व्यवस्थालाई सुदृढ गर्न सुरक्षा क्षेत्रमा बजेट केन्द्रित हुने कुरामा जोड दिए ।

 प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप