बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख विरुद्ध ३ सुत्रीय माग गर्दै वडाध्यक्षहरुले बुझाए ज्ञापनपत्र

बुधबार, १४ जेठ २०७७, १७ : २४
बुधबार, १४ जेठ २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहविरुद्ध दर्जनौँ वडाध्यक्षहरु खडा भएका छन् । कोरोना महामारी विरुद्धको लडाईमा बेवास्ता गरेको भन्दै १८ जना वडाध्यक्षहरुले नगर प्रमुख साहको विरुद्ध ३ सुत्रीय माग अघि सार्दै आन्दोलनको चेतावनी समेत दिएका छन् ।

प्रमुख साहले नगरवासीप्रतिको जिम्मेवारी र कर्तव्यबोध नगर्दा संक्रमणले भयावह रुप लिने संकेत देखिएको भन्दै उनीहरुले जिल्ला समन्वय समिति धनुषालाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल–भारत सिमावर्ती क्षेत्रबाट सर्वसाधारणहरु आउने क्रम बढिरहेका बेला क्वारेन्टाइनको व्यवस्था नगरेको र यस्तै लापरवाही भएमा अवस्था भयावह उत्पन्न हुने भन्दै उनीहरुले नगरप्रमुखलाई सचेत गराएका छन् ।

वडाध्यक्षले संयुक्तरुपमा ज्ञपानपत्र बुझाउदैँ प्रत्येक वडामा तत्काल क्वारेन्टाइन स्थापना गर्नुपर्ने, उपमहानगरवासीका लागि एक थान रियल टाइम पिसिआर मेसिन (ठुलो) जडान गर्नुपर्ने र जटही नाकाबाट पालिकाभित्र आउनेहरुलाई भोजन र यातायातको व्यवस्था अनिवार्यरुपमा गर्नुपर्ने माग गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–७ का वडाध्यक्ष जानकीराम साहले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा व्यवस्थितरुपमा कोरोना परीक्षणको मेसिन पटक पटक बिग्रिनु, चेकजाँच व्यवस्थित रुपमा र तिव्ररुपमा नभएकोले आफुहरुले बाध्य भएर ज्ञापनपत्र बुझाएको बताए ।

उनले मागहरु तत्कालै सम्बोधन नभएमा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी स्वयम् नगर प्रमुख तथा सरोकारवालले लिनुपर्ने चेतावनी दिए । 
त्यस्तै, उपमहानगरपालिका–९ का वडाध्यक्ष परमेश्वर साहले जनकपुरधाम नगरमा पनि भारतबाट थुप्रै मानिसहरु फर्किरहेको बताउदैँ संघिय सरकारको प्रवधानअनुसार क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेकजाँच गराउनुपर्ने व्यवस्थाको माग गरे ।
जिसस धनुषाका अध्यक्ष रामवनरैत यादवले वडाध्यक्षहरुको मागप्रति आफु गम्भिर रहेको बताउदैँ यसको लागि तत्काल पहल गर्ने जानकारी दिए । वडाध्यक्षहरुले प्रदेश नम्बर २ को सरकार, जिल्ला प्रशासन कार्यालय धनुषा र जनकपुरधाम उपमहानगरपालिका कार्यपालिकाको कार्यालय समेत बोधार्थमा ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझाउनेहरुमा वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साह, वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साह, वडा नम्बर १० का मिथिलेश कर्ण, वडा नम्बर ३ का दिपेन्द्र साह, वडा नम्बर ६ का  जगरन्नाथ साह, वडा नम्बर १ का सत्रुधन साह, वडा नम्बर १३ का शुभनारायण मण्डल, वडा नम्बर ५ का मनोज साह, वडा नम्बर २ का शिवकुमार साह, वडा नम्बर २० का भोगेन्द्र झा भोगी, वडा नम्बर २२ शिवरत्न पाण्डे, वडा नम्बर २४ का  ासत्यनारायण साह, नगर कार्यपालिका सदस्य रामशंकर पासमान, वडा नम्बर २५ का उमेश यादव, वडा नम्बर ८ का रमेशकुमार ठाकुर, जनकपुरधाम नगरका कार्यपालिका सदस्य श्यामप्रसाद साह र वडा नम्बर १९ का जगदीश यादव लगायत १८ जना रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप