शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘रुकुम घटनामा उच्चस्तरीय नागरिक छानविन आयोग गठन गरियोस्’

बुधबार, १४ जेठ २०७७, १४ : ४२
बुधबार, १४ जेठ २०७७

काठमाडौं । बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन् ।   खगेन्द्र सङ्ग्रौला, राजेन्द्र महर्जन, तुलानारायण शाह र  विनोदविक्रम केसीलगायत १३८  लेखक, साहित्यकार र अधिकारकर्मीले आज संयुक्तरुपमा प्रेस विज्ञप्ति जारी गरी घटनाको विरोधमा ऐक्यबद्धता जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘जाजरकोट भेरी नगरपालिका–४ का नवराज विक र रुकुम चौरजहारी नगरपालिका–८ की मल्ल युवतीबीचको प्रेम सम्बन्धका कारण  नवराजसहित तीनजनाको हत्या गरिएको र अन्य तीनजनालाई बेपत्ता पारिएको नरसंहारका घटनामा पीडितलाई न्याय र पीडकलाई हदैसम्मको कारवाही होस् । पीडित परिवारका साथै मल्ल युवतीको मानसिक र भौतिक सुरक्षाको बारेमा पनि आवश्यक कदम चालिनुपर्छ ।’

शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती निवासी सुष्मा मल्लसँग  विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्ध भएको र विवाहका लागि साथीहरु लिएर केटीको घरमा जाँदै गर्दा स्थानीयवासीले कुटपिट गरी हत्या गरेको पीडित परिवारको भनाइ छ ।

नवराजको शव भेरी नदीमा भेटिएको थियो । नवराजसँगै केटीको घरमा गएका अन्य दुईजनाको शव पनि भेरी नदीमा भेटिएको छ । सोही घटनामा अन्य तीनजना बेपत्ता छन् । उनीहरुले देशैभरि अन्तरजातीय विवाहका कारण हत्या गरिएका र दबाबका कारण आत्महत्या गर्ने अवस्थामा पु¥याइएका सबै घटनाको छानविन गर्नका लागि उच्चस्तरीय संसदीय समिति तुरुन्त गठन गर्नसमेत आग्रह गरेका छन् ।

निष्पक्षरुपमा छानबिन गरी दोषीलाई हदैसम्मको कानूनी कारवाही गर्न माग गर्दै संसद् र सडकमा विभिन्न राजनीतिक दलका नेता, अधिकारकर्मी, दलित नागरिक समाज, सरोकारवाला सङ्घसंस्थाले आवाज उठाउँदै आएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप