शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भियतनाम युद्ध र इन्फ्लुएन्जाभन्दा घातक कोरोना, अमेरिकाका कसरी गयो ३ महिनाभित्रै १ लाखको ज्यान ?

बुधबार, १४ जेठ २०७७, १३ : १२
बुधबार, १४ जेठ २०७७

अमेरिकामा कोभिड–१९ (कोरोनाभाइरस)  महामारीका रुपमा फैलिएको छ । तर यो रोग कसरी नियन्त्रण गर्ने ? कहिले महामारी समाप्त भएर जनजीवन सामान्य बन्छ भन्ने यावत् प्रश्न रहस्यमै छन् । यतिमात्रै होइन रोग कसरी सर्छ ? कसरी सर्दैन र कहिलेबाट अमेरिका भित्रियो भन्नेमै द्विविधा छ । 

अमेरिकी सरकारी कागजातमा रेकर्ड भएअनुसार चीनको उहानबाट १५ जनवरीमा वासिङ्टन राज्य फर्किएका एक व्यक्तिमा २० जनवरीमा कोरोनाको संक्रमण पुष्टि भएको थियो । तर, कतिपय अनुसन्धानकर्ताहरु यसभन्दा पहिले नै अमेरिकामा कोरोना फैलिएको दाबी गर्छन् । 

सरकारी अधिकारीहरुका अनुसार २९ फेब्रुअरीमा वासिङ्टन राज्यको किर्कल्यान्ड राज्यमा कोरोनाबाट पहिलो मृत्युको घटना दर्ता भएको थियो । यसलाई आधार मान्ने हो भने पहिलो मृत्यु भएको ३ महिना नबित्दै अमेरिकामा १ लाख बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । यद्यपी, पहिलो संक्रमित जसरी नै पहिलो मृतकबारे पनि द्विविधा कायम छ । कतिपय अधिकारीहरुले यो घटना दर्ता हुनअघि नै फेब्रुअरीको पहिलो साता उत्तरी क्यालिफोर्नियामा दुई व्यक्तिले कोरोनाकै कारण ज्यान गुमाएको दाबी समेत गरेका छन् । 
जेसुकै होस्, अमेरिकाका लागि कोभिड–१९  इतिहासकै ठूलो प्राकृतिक र मानवीय विपत्तिमध्ये एक साबित भएको छ । दोस्रो विश्वयुद्धको समाप्तिपछि अमेरिका महाशक्तिका रुपमा स्थापित भएको हो, त्यसयता यति धेरै मानिसको ज्यान लिने यो पहिलो विपद् हो । 
अमेरिका आफैले सुरु गरेको भियतनाम युद्धमा पनि यति धेरैको मृत्यु भएको थिएन । १९५५ देखि १९७५ सम्म चलेको भियतनाम युद्धमा २० वर्षको अवधिमा ५८ हजार ९ सय २ अमेरिकी सैनिकले ज्यान गुमाएका थिए । भियतनाम सरकारले १९९७ मा सार्वजनिक गरेको अनुमानित आँकडाअनुसार यस युद्धमा २० लाख सर्वसाधारण र दुबैपक्षका गरेर ११ लाख लडाकुको मृत्यु भएको थियो । 
मृतक सैनिकको संख्या बढ्न थालेपछि १९६० को दशकयता अमेरिकामा युद्ध रोक्न माग गर्दै दैनिकजसो प्रदर्शन हुन थालेका थिए । प्रदर्शनको क्रम त अहिले पनि जारी छ । तर, अहिले केही अमेरिकीहरु कोरोना भाइरसबाट बच्नका लागि विभिन्न राज्यले गरेको कडाई रोक्नुपर्ने माग गर्दै प्रदर्शनमा छन् । विवादमा आइरहने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अर्थतन्त्र सुचारु गर्नुपर्ने मागसहित गरिएको यस्तो प्रदर्शनलाई आफ्नो नैतिक समर्थन रहेको बताएका छन् । 

कमजोर आँक्दाको परिणाम 
कतिपय अमेरिकीहरुले सुरुमा कोरोनालाई फ्लुजस्तै ठानेका थिए । वर्ष २०१७–०१८ मा फ्लुका कारण एकै सिजन ६७ हजार अमेरिकीले ज्यान गुमाएको पछिल्लो इतिहास छ । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) का अनुसार फ्लुका कारण २०१० देखि ०१८ सम्म अमेरिकामा ३ लाखले ज्यान गुमाएका थिए । तर, प्राणघातक फ्लुभन्दा कोरोना कैयन गुणा घातक साबित भइसकेको छ । फ्लु जसरी नै आफैं हराएर जान्छ भन्दै अमेरिकीहरुले सुरुमा यसलाई कम आँकेका थिए, सर्वसाधारण जनतामात्रै होइन अमेरिकी राष्ट्रपतिलाई पनि यस्तै भ्रम थियो । १ मार्चसम्म अमेरिकामा ७५ जनामा संक्रमण पुष्टि भएको थियो, जबकी यतिबेला युरोप, चीन र इरानसहित एशियाली देशमा महामारी फैलिसकेको थियो । 
त्यसैले अमेरिकासँग सतर्क रहने र सिक्ने अवसर थियो । तर, आम अमेरिकीहरुले कोरोनालाई सामान्य रुपमै लिए, सिनेमाघर, खेलकुद प्रतियोगिता, रेस्टुरेन्ट, बीच पार्टीलगायतका स्थल सामाजिक दूरीको न्युनतम नियमसम्म पालना नगरी सञ्चालनमा भए ।  मार्चको दोस्रो सातादेखि विभिन्न राज्य सरकारले सर्वसाधारणलाई भ्रमण गर्न, भेला हुन र घर छाड्न कडाई गरे । तर, यतिबेलासम्म हजारौंमा कोरोना फैलिसकेको थियो ।
‘यदी, दुई साताअघि नै अर्थात् १ मार्चमै शहरलाई लकडाउन गर्ने र सामाजिक सम्पर्क कम गर्ने प्रयास गरिएको भए  (मेइको सुरुवातमा ज्यान गुमाउने ६६ हजारमध्ये) ८३ प्रतिशतको ज्यान जोगाउन सकिन्थ्यों,’ गत साता प्रकाशित कोलम्बिया विश्वविद्यालयको अनुसन्धानले भनेको छ । मार्च ७ देखि सामाजिक दूरी पालना गर्न थालिएको भएपनि मृतकको संख्या (मेइको सुरुवातसम्म) ३६ हजारले कम हुने  यस अनुसन्धानले जनाएको छ । अनुसन्धान टोलीका नेता तथा कोलम्बिया विश्वविद्यालयका इपिडिमियोलोजिस्ट जेफर सामानले भनेका छन्,‘ फैलिँदै गर्दाको अवस्थामा यसलाई नियन्त्रणमा लिन सकिएको भए मृतकको संख्या घटाउन महत्वपूर्ण हुने थियो ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गैरजिम्मेवारीका कारण पनि कोरोना नियन्त्रणमा कठिनाइ भयो । दशौं हजारमा कोारोना फैलिरहेका बेला उनी भन्दै थिए,‘केही सटडाउन हुनेछैन । कहीं लकडाउन हुनेछैन । अर्थतन्त्र चलिरहनेछ ।’
उनले यस अवधिमा मास्क लगाउन अस्वीकार गरे, चीनले ल्याबमा कृतिम रुपमा कोरोना बनाएको दाबी गरे, आफ्नो सरकारले भाइरसमाथि अद्भूत नियन्त्रण राखेको दाबी गरे, अनि आम अमेरिकीझै यो आफैं हराएर जानेछ समेत भन्न भ्याए ।  
बरु, कोरोनाबारे सतर्कता फैलाउने सञ्चारमाध्यममाथि उनी उल्टै खनिए । एक लाखभन्दा धेरैको मृत्यु र अस्पतालमा बिरामीका लागि बेड  तथा शव गाड्न चिहानको समेत अभाव भइरहेको अहिलेको अवस्थाले सुरुवातमा कोरानाको प्रभाव कम आँक्नु नै अमेरिकी समाज र नेतृत्वको गल्ती थियो भन्ने देखाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप