शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

'सांसद विकास कोष' वित्तीय अपराध हो, यसलाई बन्द गरौँ : साझा पार्टी

बुधबार, १४ जेठ २०७७, ११ : ०७
बुधबार, १४ जेठ २०७७

साझा पार्टीले संघीय तथा प्रदेश सांसदहरूलाई पूर्वाधार विकासका नाममा दिइने ‘सांसद विकास कोष’ बन्द गर्न माग गरेको छ । आगामी वर्ष पनि यो कार्यक्रम कायम रहन लागेको खबरप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नीति निर्माणमा केन्द्रीत हुनु पर्ने सांसदहरूलाई ‘ठेकदार’ बनाउँदै अर्को चुनाव जित्न सघाउ पुग्नेगरी हाल संघीय तथा प्रदेश सांसदहरूलाई दिइँदै आएको वार्षिक लगभग रू २० अर्ब रकम नीतिगत भ्रष्टाचारको चरम नमूना रहेको पार्टीको ठहर छ। 

 


साझा पार्टीका सहप्रवक्ता शरदराज पाठकद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड १९ का कारण देश चरम आर्थिक संकटमा पर्ने देखिँदैछ। सरकारको राजस्व घट्ने आँकलन छ। विज्ञहरूले अनुत्पादक र अनावश्यक खर्च कटौतीमा निर्मम हुन सरकारलाई सुझाएका छन्। यस्तो अवस्थामा पनि सांसदलाई बजेट बाँड्ने कुकृत्य जारी राख्नु असंवेदनशीलता मात्र होइन, वित्तीय अपराध पनि हो।’

‘एकातिर कोभिड १९ विरूद्ध लड्न सरकार आम सर्वसाधारणसँग सार्वजनिक अपील गरेर केही अर्ब रूपैयाँ जम्मा गर्न प्रयास गर्दैछ। अर्कोतर्फ सहजै रोक्न सकिने ‘खुल्लमखुल्ला भइरहेको चरम नीतिगत भ्रष्टाचार’ बन्द गरेर एकै वर्षमा रू २० अर्ब बचत गर्न सकिने यथार्थलाई भने निहित राजनीतिक स्वार्थपूर्तिका लागि बेवास्ता गर्दैछ। २० अर्ब रुपैयाँले अत्यावश्यकीय स्थानहरूमा आधुनिक उपकरणहरूसहितका २००–२०० शैयाको ७ वटासम्म अस्पताल निर्माण हुनसक्ने जानकारहरु बताउँछन्।’

पार्टीले सांसद विकास कोष समेत भनेर चिनिने सो कार्यक्रम सधैँका लागि बन्द गरेर उक्त बजेट हालका लागि कोभिड १९ संक्रमणविरुद्धको लडाईंमा र आउँदा वर्षहरूमा स्वास्थ्य पूर्वाधारको विकासमा लगाउन पनि माग गरेको छ।

त्यस्तै, साझा पार्टीले संघीय तथा प्रदेश संसदका सबै सांसद तथा आम सर्वसाधारणलाई उक्त बजेट बहिस्कार गरेर देश र जनताको हितका पक्षमा उभिन अपील पनि गरेको छ। साझा पार्टीले अघिल्ला वर्षहरूदेखि नै यसको तीब्र विरोध गर्दै आएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप