बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेश सभाको छैठौं वर्षे अधिवेशन शुरु

मङ्गलबार, १३ जेठ २०७७, २२ : ५०
मङ्गलबार, १३ जेठ २०७७

कैलाली । सुदूरपश्चिम प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन मंगलबारदेखि शुरु भएको छ ।  अधिवेशनको पहिलो बैठकमा अधिवेशनको शुभकामना आदानप्रदान गर्न दिएको विशेष समयमा प्रदेश सांसद्हरुले प्रदेश सरकारप्रति कटाक्ष गरेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको भन्दै सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका सचेतक तारा लामा तामाङ, प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डा. रणबहादुर रावल र प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टी (राजपा) की सांसद मालामति रानाले प्रदेश सरकारले कोरोना भाइरस महामारीका बेला पनि काम गर्न नसकेको भन्दै विरोध गरेका हुन् । उनीहरुले सरकारले महामारीको बेला आफ्नो भूमिका देखाउन नसकेको, वार्षिक बजेट तथा योजनाहरु कार्यान्वयन गर्न नसकेको र आगामी योजनाहरु पनि सेटिङमा बाँडिसकेको भन्दै प्रदेश सरकारको आलोचना गरेका छन् ।

नेकपा संसदीय दलका सचेतक लामाले प्रदेश सरकारका मन्त्रीहरुलाई संसदप्रति जवाफदेही बन्न अनुरोध गरे । उनले मन्त्रीहरुले सांसद्हरुको भावना अनुसार काम गर्न नसकेको बताउँदै उनीहरुले आगामी वर्षको बजेट र योजनाहरु पनि सेटिङमा बाँडिसकेको सुन्नमा आएको बताए । उनले पुर्वाधार विकास कार्यक्रमका योजनाहरु मन्त्री र कर्मचारीहरुले जानाजान ढिलो गरी अख्तियारी पठाएको बताए । उनले पुर्वाधार विकास कार्यालयबाट सांसद्को योजना नै फिर्ता गरिदिएको बताउँदै त्यस किसिमले काम नहुने बताए ।

सचेतक लामाले कोरोना भाइरस महामारी रोक्नका लागि प्रदेश सरकारको भूमिका न्युन देखिएको बताउँदै भूमिका बढाउन समेत आग्रह गरे । उनले आफूहरुकै कारण प्रदेश सरकार प्रति टिका टिप्पणी भइरहेको स्वीकार गर्दै यसलाई सुधारेर अगाडि बढ्न प्रदेश सरकारलाई आग्रह गरे । उनले लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालको रहेको भन्दै भारतको कब्जाबाट फिर्ता लिनु पर्ने बताए ।

काँग्रेस संसदीय दलका नेता रावलले कोरोना भाइरस महामारीका बेला प्रदेश सरकार कहाँ गयो भनेर प्रश्न गरे । उनले जिम्मेवारी अनुसार प्रदेश सरकारले स्वास्थ्य सामाग्री समेत व्यवस्था गर्न नसकेका भन्दै आलोचना गर्दै प्रदेश सरकारले आफ्नै बजेटमा स्वास्थ्य सामाग्री खरिद गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकारले बजेट कार्यान्वयन गर्न नसकेको बताउँदै प्रदेशको ७२ दशमलव ४४ प्रतिशत अझै खर्च गर्न बाँकी रहेको बताए । उनले प्रदेश सरकारलाई भविष्यमा भोकमरी हुन सक्ने भन्दै खाद्यान्न भण्डारण तथा आपूर्तिको व्यवस्था गर्न सुझाव दिए । ​ राजपाकी सांसद् रानाले निर्वाचित सांसदहरुलाई पुर्वाधार विकास कार्यक्रमको बजेट कटौति गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा खर्च गर्नुपर्ने बताइन् । उनले एकै पटक राहत वितरण गरेर नपुग्ने बताउँदै विपन्न परिवार पहिचान गरी प्रत्येक महिना राहत दिने व्यवस्था मिलाउन आग्रह गरिन् ।

बजेटको सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत

प्रदेश सभाको पहिलो बैठकमै आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेटको सिद्धान्त, उद्देश्य र प्राथमिकता प्रस्तुत गरेका छन् । उनले बजेट कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्राथमिकता राखेर बजेट प्रस्तुत हुने बताए । 

उनले कोरोनाले असर पारेको अर्थतन्त्र र नागरिकको जीवनस्तरलाई उकास्नका लागि कृषि, रोजगार र उद्यमलाई प्राथमिकतामा राखेर बजेट आउने समेत बताएका छन् ।  उनले पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा समेत कोरोनाले ठूलो प्रभाव पारेको बताउँदै सार्वजनिक र निजी साझेदारीमा उच्च आर्थिक बृद्धिदर कायम हुने गरेर आगामी बजेट आउने समेत प्रदेशसभालाई जानकारी गराएका छन् ।

पहिलो बैठकमा सभामुख अर्जुनबहादुर थापाले सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रदेशसभाको बैठक सञ्चालनका लागि चार जना सांसदलाई मनोनित गरेका छन् । उनले सांसदहरु दिव्यश्वरी शाह, मालामति राना, शान्ति नेपाली र कुलविर चौधरीलाई सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता ग्रहणका लागि मनोनित गरेका छन् । प्रदेशसभाको अर्को बैठक बुधबार बिहान ११ बजेका लागि सभामुख थापाले आव्हान गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कुँवर
टंक कुँवर
लेखकबाट थप