शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वदलीय बैठकमा काँग्रेसको धारणा : संविधान संशोधनमा सकारात्मक, राष्ट्रिय सहमतिमा जोड

मङ्गलबार, १३ जेठ २०७७, २२ : ०१
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा दृढ रहेको भन्दै केन्द्रीय कार्यसमिति बैठक पर्खिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । 

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नक्सामा निसान छाप परिवर्तन गर्न संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएको छ । 

संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउन मंगलबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । बैठकमा काँग्रेसले संविधान संशोधनबारे केन्द्रीय समितिको बैठकबाट संस्थागत निर्णय गरिने भन्दै समय मागेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'संविधान संशोधन बारे केन्द्रीय समितिबाट निर्णय गर्छौं । संविधान संशोधन जस्तो बिषयमा राष्ट्रिय सहमतिको स्थिति बनाएर जाँदा त्यसले राष्ट्रिय एकतालाई अझ मजबुत बनाउन सकिने हाम्रो धारणा छ । नक्साको प्रस्तावलाई हामीले सकारात्मक रूपमा लिएका छौं । यस बारेमा पार्टी केन्द्रीय समितिको बैठकबाट नेपाली काँग्रेसको संस्थागत निर्णय गर्नेछौं ।'

यता जेठ १० गते जनता समाजवादी पार्टीका नेताहरुले काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर प्याकेजमै संविधान संशोधनका लागि वाताबरण बनाइदिन आग्रह गरेका थिए । सुगौली सन्धिले कोरेको नेपालको भूभागमा नेपालको हक स्थापित हुनुपर्नेमा काँग्रेसले जोड दिएको छ ।

'महाकाली नदि पूर्वको भूभाग नेपालको हो । सुगौली सन्धिमा उल्लेख भएको ऐतिहासिक तथ्य बमोजिम लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूभाग हुन्,' विज्ञप्तिमा भनिएको छ, 'ती भूभागमा नेपालको हक निर्वाध ढंगले स्थापित हुनुपर्दछ, नेपाली काँग्रेसले विगत देखिनै प्रष्ट राख्दै आएको यो धारणा आज हामी पुनः दोहो¥याउन चाहन्छौं ।'

यसको उच्चस्तरीय कुटनैतिक प्रक्रियाबाट समाधानमा खोज्नुपर्ने काँग्रेसका भनाइ थियो ।

'कुटनैतिक पहलबाट समाधानमा पुगौँ । उच्च स्तरीय कुटनैतिक पहल मार्फत यो विषयको हल गरिनुपर्छ भन्ने हाम्रो आग्रह छ । हामी यो बिषयमा सरकारको साथमा छौं,' काँग्रेसले भनेको छ ।

सर्वदलीय बैठकमा काँग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता  रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला सहभागी थिए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप