शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय सहमति जुटाएर मात्रै संविधान संशोधन हुने

मङ्गलबार, १३ जेठ २०७७, २० : ३७
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । नयाँ नक्सा जारी भएपछि गरिने भनेको संविधान संशोधन तत्काल नहुने भएको छ । मंगलबार प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा काँग्रेसले केही दिन समय मागेकाले तत्काल संविधान संशोधन नहुने भएको हो । 

बैठकमा संविधान संशोेधनका लागि प्रधानमन्त्रीले राष्ट्रिय सहमति जुटाउन प्रस्ताव गरेका थिए । जवाफमा काँग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय समिति बैठकमा राष्ट्रिय सहमतिका लागि छलफल गर्नुपर्ने भएकाले केही दिनको समय दिन आग्रह गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्रीको प्रस्ताव सकारात्मक भएको भन्दै त्यसका लागि काँग्रेसले साथ दिने बचन दिएको बताए । उनले काँग्रेस केन्द्रीय समिति बैठकमा यसबारेमा निर्णय हुने बताए ।

यस्तै बैठकमा जनता समाजवादी दलका नेता महन्थ ठाकुरले संविधान संशोधन गर्दा आफ्ना मागहरु पनि समेट्न आग्रह गरेका थिए । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका शीर्ष नेता सहभागी भएका थिए । बैठकमार्फत सरकारले निशाना छाप संसोधनका लागि एकमत बनाउने प्रयास गरेको हो ।  सरकारले जेठ ५ गते नेपालको नयाँ नक्सा ल्याउने निर्णय गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले लिम्पियाधुरासहित गुञ्जी, नाभी, कुटीलगायत केही भूभाग समेटिएको नेपालको नक्शा (राजनीतिक तथा प्रशासनिक) जेठ ७ गते सार्वजनिक गरिसकेको छ । सोही अनुरुप निशान छापभित्र रहेको नेपालको नक्सा सीमा अनुरुप मिलाउने तयारी स्वरुप सरकारले संविधान संशोधनको प्रस्ताव जेठ ९ गते संसद्मा दर्ता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप