बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रौतहटका २ स्थानीय तहमा निषेधाज्ञा जारी

मङ्गलबार, १३ जेठ २०७७, २० : १७
मङ्गलबार, १३ जेठ २०७७

रौतहट । रौतहटको दुईवटा स्थानीय तहमा मंगलवार निषेधाज्ञा जारी गरिएको छ । जिल्लाको दक्षिणी भेग राजपुर नगरपालिका र ईशनाथ नगरपालिकामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।  दुवै नगरपालिकामा पटक–पटक कोरोना भाईरसको संक्रमित पुष्टी भएपछि जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरीएको रौतहटका प्रमुख जिल्ला अधिकारी वादुदेव घिमिरेले जानकारी दिए ।

आज एक सूचना जारी गर्दै अर्को आदेश नआएसम्मको लागी राजपुर र ईशनाथ नगरपालिकामा निषेधाज्ञा घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । अहिले दुबै स्थानीय तहमा बाहिरबाट आउने मानिसहरुको आवतजावत रोक्न सुरक्षाकर्मी समेत परिचालन गरिएको छ ।

जिल्लामा क्वारेन्टाइनको अवस्था 
उता, रौतहटका विभिन्न स्थानिय तहले निर्माण गरेका क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीको संख्या ३ हजार नाघेको छ । भारतका विभिन्न सहरबाट आउनेको संख्या बढेसँगै क्वारेन्टाइनमा बस्नेकोे संख्या एक्कासि बृद्धि भएको हो ।  भारतबाट आउनेहरुलाई बस्नका लागि जिल्लाका २६ स्थानमा  क्वारेन्टाईन निर्माण गरिएको छ ।

मंगलवार अपरान्हसम्म क्वारेन्टाईनमा बस्नेको संख्यामा बृद्धि भई २ सय ११ महिलासहित ३ हजार  १ सय ७४ पुुगेको घिमिरेले जानकारी दिए । क्वारेन्टाइनबाट ८ सय  २१ जना घर फर्किएको समेत उनले जानकारी दिए । त्यस्तै कूल ११ सय ७८ जनाको स्वाब संकलन गरी जाँचको लागी पठाइएकोमा ७१ जना पोजिटिभ, ५ सय ७१ नेगेटिभ र अन्यको नतिजा आउन बाँकी रहेको उनले बताए ।  

भारतका विभिन्न सहरमा रोजगारीको सिलसिलामा बसेका रौतहटेलीहरु फर्किने क्रम बढेसँगै प्रत्येक स्थानीय तहहरुमा पाँच– पाँच सय बेडको क्वारेन्टाईन निर्माण गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन समेत दिएको छ । त्यसैगरी फतुवा बिजयपुर नगरपालिकामा अर्को पनि क्वारेन्टाइन निर्माण गरिएको छ ।

यसअघि एउटा मात्र क्वारेन्टन सञ्चालन गर्दै आएको नगरपालिकाले हिजोदेखी दोस्रो स्थान बिजयपुर माविको भवनमा क्वारेन्टाईन सञ्चालनमा ल्याएको हो । नयाँ क्वारेन्टाईनमा मंगलवार अपरान्हसम्म ३५ जना शंकास्पद बिरामीको उपचार भइरहेको नगर स्वास्थ संयोजक भागवत चौधरीले बताए । उता, दुधिअवा माविस्थित पहिलो क्वारेन्टाइनमा पाँचजना शंकास्पद बिरामीको उपचार भइरहेको नगरस्वास्थ सहसंयोजक प्रभु पटेलले जानकारी दिए ।

यता, रौतहटको देवाहीगोनाही नगरपालिका अन्तरगत जयकिसान पोलिटेक्निकल क्याम्पसमा रहेको क्वारेन्टाईनमा बस्ने शंकास्पद बिरामीलाई निकै कठिनाई भइरहेको बताइएको छ ।
भवनको क्षमताभन्दा बढी बिरामी भएकाले बस्न, खान, सौचालय, पानी सबै किसिमको सुबिधामा समस्या भइरहेको नगर प्रत्यासी भोला यादवले बताए । नगर स्वास्थ संयोजक नागेन्द्र कुश्वाहासँग अवस्थाबारे बुझन खोज्दा उनको मोबाइल अफ थियो ।

नगरपालिका स्रोतका अनुसार देवाही गोनाही नगरपालिका अन्तरगत  जयकिसान माविमा अर्को क्वारेन्टाईन बनाउन खोज्दा स्थानियले बिरोध गरेका छन् । सोही कारण क्वारेन्टाइन बिस्तार हुन नसक्दा कठिनाई भइरहेको जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप