शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थापाथलीस्थित प्रसुति गृहका हाकिम आफैं दिन्छन् बिरामीलाई रगत

मङ्गलबार, १३ जेठ २०७७, १९ : २७
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । अस्पतालमा बिरामीको लागि चाहिने रगत पाइएन भने बिरामीसँगै आफन्तहरु तनावमा पर्ने गरेका घटनाहरु प्रसस्त पाइन्छन् । रगतका लागि थुप्रै बिरामीका आफन्तहरु भौंतारिरहेको पनि देख्न पाइन्छ । रगतको अभाव भएमा थुप्रै सर्वसाधारणले रगत दिइरहेका पनि हुन्छन् तर राजधानीको थापाथलीस्थित प्रसुति तथा स्त्री रोग अस्पतालका रक्त सञ्चार विभागका इन्चार्ज परशुराम दाहाल भने बिरामीका लागि प्रायः आफै रगत दिन तयार हुन्छन् । उनलाई बिरामीका लागि हरेकपटक रगत दिन मिल्ने भए आफ्नै दिउँ–दिउँ जस्तो लागिरहन्छ ।

जब समाजमा विषम परिस्थिति देखा पर्छ वा कुनै बिरामीलाई रगतको अभाव भएको जानकारी आउँछ उनी रगत दिन तयार भैहाल्छन् । सोही सिलसिलामा मंगलबार पनि दाहालले २२ औँ पटक रक्तदान गरे । प्रसुति अस्पतालकै एकजना बिरामी र सिभिल अस्पतालमा उपचाररत बिरामीलाई ‘ओ’ समूहको रगतको आवश्यकता भएपछि दाहालले रक्तदान गरेका हुन् । उनले यसरी थुप्रैपटक बिरामीहरुका लागि रगत दिइसकेका छन् । अस्पतालकै हाकिमले यसरी रगत दिएपछि धेरै बिरामी र आफन्तहरुले उनको प्रसंशा समेत गर्ने गरेका छन् ।   

अस्पतालमा रगतको अभाव छैन् 
कोरोना भाइरस कोभिड (१९) को महामारीका कारण दुई महिनादेखि अस्पतालहरुले अति आवश्यक सेवाबाहेक अन्य सेवा बन्द गरेका छन् । पछिल्लो समयमा अस्पतालहरुमा रगतको अभाव भइरहेको छ तर प्रसुति तथा स्त्री रोग अस्पतालमा भने शल्यक्रियाका लागि रगतको अभाव हुन नदिएको विभागका इन्चार्ज दाहाल बताउँछन् । शल्यक्रिया गर्ने बिरामीलाई आवश्यकताअनुसार रगत उपलब्ध गराइएको दाहालले बताए । 

रगतको अभाव हुँदा लकडाउनका बाबजुद पनि रक्तदान गर्न इच्छुक व्यक्तिलाई सम्पर्कमा ल्याएर रक्तादान गराउने गरिएको उनले बताए । ‘सुत्केरी हुनुभन्दा अगाडि-पछाडि केही महिलाहरुलाई बढि रक्तश्राव हुन सक्छ,’ उनले भने, ‘कतिबेला सुत्केरी महिलाहरुलाई कति मात्रा रगत चाहिन्छ थाहा नै हुँदैन, त्यसैले मौज्दात गरेर जसरी पनि राख्नै पर्छ ’ उनले भने ।

लकडाउनसँगै राजधानीमा रक्तदान कार्यक्रम अति न्युन मात्रामा हुने गरेको छ । उपत्यकाका सरकारीदेखि निजी अस्पतालमा उपचार गराउँदा गराउँदै रगतको अभाव भएमा प्रायः बिरामीका आफन्त धाउने ठाउँ मध्येको एक   प्रसुति तथा स्त्री रोग अस्पतालको रक्तसञ्चार विभाग पनि हो । उक्त विभागले लकडाउनअघि जस्तो मागअनुसारको रगत भने उपलव्ध गराउन सकिरहेको छैन । अन्य अस्पतालबाट आएका बिरामीका आफन्तलाई लकडाउनअघि जसरी रगत उपलब्ध गराउन नसकेको दाहालले बताए ।   
लकडाउनका कारण अस्पतालहरुमा अत्यावश्यक बाहेकका सेवा बन्द भएका कारण ५० प्रतिशत रगतको माग घटेको उनले बताए । रक्तदान कार्यक्रम नियमित हुन नसक्दा रगतको अभाव भइरहेको उनको भनाई छ । ‘बाहिर रक्तदान कार्यक्रम कम भएपनि प्रसुति तथा स्त्री अस्पतालका बिरामीलाई चाहिँने रगतका लागि इच्छुक व्यक्तिहरुलाई खोजेर भएपनि रगतको अभाव हुन दिएका छैनौ’ उनले भने । क्यान्सरका बिरामी, डायलासिस गर्नुपर्ने बिरामी र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत नभई हुँदैन । त्यसैले रक्तदान गर्न इच्छुक व्यक्ति खोजेर भएपनि रक्तदान गराउनुको विकल्प नभएको इन्चार्ज दाहाल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप