बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँगै रौतहटमा हावाहुरीको कहर, सयौं परिवारको बिजोग

मङ्गलबार, १३ जेठ २०७७, १८ : २७
मङ्गलबार, १३ जेठ २०७७

रौतहट । रौतहटमा एकातर्फ कोरोनाभाइरसको संक्रमित दिन प्रतिदिन बढ्दै गएका छन् । अर्कोतर्फ पटक पटक वर्षासँगै आइरहेको हावाहुरीले जनजीवन प्रभावित बनेको छ ।

हावाहुरीले दर्जनौ विद्युत पोल ढलेका कारण विभिन्न स्थानीय तहमा बिजुली अवरुद्ध बनेको छ भने दर्जनौ घरको छाना उडाएका कारण ठूलो समस्या उत्पन्न भएको छ ।

सोमवार राति आएको भिषण हावाहुरीले जिल्लाको पश्चिमी भेग गुजरा क्षेत्रमा ठूलो क्षति गरेको छ।

गुजरा नगरपालिका वडा दुुई तीन र पाँचमा ७० देखि ८० वटा घरमा क्षति पुरयाएको छ भने दर्जनौं बिद्युतको पोल ढलेको छ ।

हावाहुरीले गुजरा नगरपालिका ३ कटानीटोलका गिरीमाया मोक्तान, ज्ञानकहादुर मोक्तान, सोमबहादुर बोलखे, दुुर्गा बोलख, सिताब मिँया लगायतको ४ दर्जन बढी घरको छाना उडाएको स्थानीय समाजसेवी शेख बदरुदिनले जानकारी दिए । 
हावाहुरीले वडा नम्बर २ का किसानले लगाएको केराखेतीमा समेत ठूलो क्षती पुगेको गुजरा नगरपालिकाका प्रवक्ता आरिफ मियाँ दर्जीले बताए । 

वडा २ मा हावाहुरीले गएराति २८ वटा बिद्युतको पोल ढलेकाले नगरक्षेत्र अन्तरगत अधिकांश स्थानमा विद्युत सेवा अवरुद्ध भएको उनको भनाइ छ । 

यसैबीच गुजरा नगरप्रमुख संतलाल चौधरी, उपप्रमुख रौषन खातुन शेख सहितको टोलीले हावाहुरी प्रभावित क्षेत्रमा मंगलवार स्थलगत निरीक्षण गरेको छ ।

निरीक्षण पश्चात नगर प्रमुख चौधरीले हावाहुरीले गुजरामा ८० भन्दा बढीघरमा लाखौंको क्षति गरेको बताएका छन् । यस्तै सयौं प्रभावित भएका छन् । 
उता दुुईदिन अघि आएको हावाहुरीले फतुवा बिजयपुर,​ देवाहीगोनाही, बौधीमाई, कटहरिया,मौलापुरमा पनि दर्जनौ घरमा क्षती पुर्याएको छ । 

हावाहुरीले दर्जनौ बिद्युतको पोल ढलेको कारण फतुवा बिजयपुर र देवाहीगोनाही नगरक्षेत्रमा आइतवार रातीदेखि नै बिद्युत सेवा अवरुद्ध छ ।

कोरोनाको कहरका बीच आएको हावाहुरीले आफूहरुको बिजोग भएको स्थानीयको भनाइ छ । हालसम्म रौतहटमा ७१ जना कोरोना संक्रमित पुष्टि भइसकेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय मिश्रा
सञ्जय मिश्रा

सञ्जय मिश्रा रातोपाटीका लागि रौतहट जिल्लाका संवाददाता हुन् ।

लेखकबाट थप