बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

कोभिड-१९ः सफल महिला नेतृत्व

मङ्गलबार, १३ जेठ २०७७, १४ : ४०
मङ्गलबार, १३ जेठ २०७७

कोभिड-१९ ले  मानवीय दिनचर्या अस्तव्यस्त छ। दिनप्रतिदिन क्षति बढ्दै छ । जिम्मेवार व्यक्तिहरू रोग निराकरण गर्ने कुरामा करिब करिब विश्वस्त भै सकेका छन् । मानवसभ्यताको करिब २ हजार वर्षको इतिहासलाई हेर्ने हो भने सन् १६५ देखि १८० सम्म चलेको एन्टोनाइलान प्लेगबाट ५० लाख मानिसको मृत्युबाट सुरु भएको महामारी विभिन्न समयमा अनेक रोगबाट करोडौं मानवीय क्षति भएको छ। हालआएर कोभिड-१९ महामारीमा आईपुग्दा  ३ लाख ४८ हजार मानिसको मृत्यु भइसकेको छ र यो संख्या निरन्तर बढ्दो छ । 

कोभिड-१९को खोप जसले पहिला पत्ता लगाउँछ त्यो राष्ट्रनै संसारको नायक बन्नेछ र नायक बन्ने दौडमा विश्वका सानादेखि शाक्ति सम्पन्न राष्ट्र सबै लागेका छन् । रोग कुनै सानो हुँदैन, जस्तोसुकै रोगले पनि मानिसको मृत्यृ हुनसक्छ । कोभिड-१९देखि सतर्क हुने हो डराउने र आत्तिने होइन। यो रोग सामूहिक प्रयत्न र सामाजिक दुरी कायम गर्दा निर्मुल हुन्छ । 

अल्पविकसित राष्ट्रभन्दा विकसित राष्ट्रमा मानवीय क्षति झन बढी देखिएको छ । नेपालको सन्दर्भमा भन्नुपर्दा लकडाउनलाई सकारात्मक रुपमा लिँदै जनताले सरकारलाई पूर्ण सहयोग गरे । चीनबाट बिद्यार्थी ल्याउँदा सरकारको कामको सबैले सरहाना गरे । तर माहामारीको अवस्थामा पनि सरकारका केही मन्त्रीहरु  भष्ट्रचारमा मुछिए । जनभावनाअनुरुप काम हुनुपर्नेमा उल्टो देखियो । शुरुवाती प्रयासहरूलाई निरन्तरता दिन सकेको भए कोभिड–१९ रुपि बम पड्किने अवस्थामा पुग्ने थिएन । सरकारले  लगाएको लकडाउन सरकार आफैंले तोड्यो ।

मन्त्रीहरू आफ्ना कार्यकर्ताको बीचमा उपस्थित भै मानिसहरुलाई गाउँ पठाउने र उपत्यका भित्र्याउने काम गर्न थाले । आफ्ना मानिसलाई छानीछानी पास बाँडियो भने सोझासाझा जनता लालाबालासहित हप्तौ हिँडेर घर पुगे । छिमेकी राष्ट्र चीनले करिब–करिब महामारी नियन्त्रण गरिसक्यो भने भारतमा भयाभव रुप लिँदै छ । यस रोग नियन्त्रणका लागि सरकार र जनताको उत्तिकै भूमिका हुन्छ भन्ने कुरा चीनका अनुसासित जनताबाट सिक्न सकिन्छ भने भारतका अनुशासनहिन जनताका कारण हामीले पनि छिट्टै भयावहको स्थिति ब्योहोर्नुपर्ने हुनसक्छ । 

कोभिड–१९ महामारीको नियन्त्रणको सन्दर्भमा विश्वमा महिला नेतृत्वले रोगलाई नियन्त्रणमा लिएका छन् । जब चीनमा कोभिड-१९ को पुष्टि भयो र उहान सहर भरि फैलियो जर्मन की चान्सलर एन्जिला मार्कलले जर्मनीमा पनि ७० प्रतिशत जनता यो महामारी पीडित हुन सक्छन् भन्दै तुरुन्त ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङ  सुरु गरे पश्चात स्वघोषित लकडाउनमा जनता बसे र विश्व स्वास्थ संगठनले निकालेका हरेक निर्देशनलाई गम्भीरतापूर्वक पालना  गरे । हाल त्यहाँ दिनचर्या सामान्य हुँदै गएको छ । जर्मनीमा फूटबल लिग नै सुरु भैसक्यो । आजसम्म त्यहाँ करिब १ लाख ८० हजारमा ८,३६६ मत्यू र १ लाख ६० हजार बिरामी निको भएका छन् । 

ताईवानकी प्रधानमन्त्री तासी इङ्ग वेनले कोभिड-१९ चीनमा फैलिन थाले पश्चात २१ जनवरी २०२० बाट पूर्ण सतकर्ता अपनाउँदै  ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङ  शुरु गर्दै क्वारेन्टटाइनको पुरा व्यवस्था गरिन् । १२४ वटा तरिका वा फर्मूला तयारीका साथ उपयोग गर्दै एयरपोर्ट बन्द गरियो ।

विदेशीहरूलाई ताइवान आउनै पर्ने भए १४ दिन क्वारेन्टाइनमा बस्नै पर्ने व्यवस्था पसल, महल र रेष्टुराँ आदि सबै क्षेत्रमा लागू गरियो । पूर्णतया औधोगिक राष्ट्र ताइवानले छोटो समयमा नै महामारी नियन्त्रण गरी १ करोड मास्क यूरोप र अमेरिकामा सहयोग स्वरुप पठाइसक्यो । सरकारले विश्वास दिलायो, जनताले पूर्ण साथ दिए । तैपनि हालसम्म जम्मा ७ जनाको मृत्यृ र ४४१ संक्रमित भेटिएका छन् । तीमध्ये ४१४ जना निको भै सकेका छन् । 

न्यूजिल्याण्डमा प्रधानमन्त्री ज्याकिण्डा आरडनले जम्मा ६ जना मात्र संक्रमित हुँदै लकडाउन शुरु गरिन् । सेल्फ आइसोलेसन, क्वारेन्टाइन, देशभित्र प्रवेश निषेध, ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङलाई प्राथमिकता दिएपछि निकै न्युन क्षति भएको छ । तैपनि हालसम्म त्यहाँ २१ जनाको मृत्यृ भएको छ भने १५०४ संक्रमित देखिएका छन् । त्यस्तै १४५६ जना बिरामी निको भैसकेका छन् । 

आइसल्याण्डकी प्रधानमन्त्री  क्याट्रिन ज्याकोबस्डटिरले  झण्डै ५ करोड १२ लाख जनसंख्या भएको दक्षिण कोरियामा भन्दा पाँच गुणा बढी पटक आफ्नो देशमा कोभिड–१९ को टेस्ट गराइन् ।  त्यहाँ ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङको फर्मूला घरदेखि घरसम्म कार्यक्रम सञ्चालन गरेपछि लकडाउन नै गर्नुपरेन । त्यहाँ हालसम्म १८०४ संक्रमणमा १० जनाको मृत्यृ भएको छ भने १७९१ निको भएका छन्।

विश्वको सबैभन्दा दोस्रो कान्छी फिनल्याडकी प्रधानमन्त्री साना मारिनले सामाजिक सञ्जाललाई व्यापक सदुपयोग गर्दै यो महामारीबाट धेरै हदसम्म निराकरण गर्न सफल भइन् । सामाजिक सञ्जालमा जसका फलोअरहरू धेरै थिए ती व्यक्तिलाई नै अग्रपंक्तिमा राखेर घर–घरमा सन्देश पुर्‍याउनुका साथै ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङको व्यवस्था गरिन् । करिब साढे पाँच करोड जनसंख्या भएको राष्ट्रमा हाल सम्म ६५६८ संक्रमित देखिएका छन्, जसमध्ये ३०६ जनाको मृत्यृ भएको छ । त्यस्तै ४८०० जना निको भएर घर फिर्ता भैसकेका छन् । 

नर्वेकी प्रधानमन्त्री इरना सोलवर्गले कोभिड–१९ विरुद्ध लड्न प्रक्षय रुपमा वच्चाहरूसँगग टिभिमार्फत नियमित छलफल नै चलाइन् । उनले पनि  आइसोलेसन, क्वारेन्टइन, ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङ प्रक्रियालाई पूर्ण रुपमा अपनाइन् । करिब ५४ लाख जनसंख्या भएको देशमा हालसम्म ८,३४६ जना संक्रमित पुष्टि भएका छन् भने २३५ जनाको मृत्यृ भएको छ । त्यहाँ ७ हजार ७ सय २७ निको भएका छन् ।  

डेनिस प्रधानमन्त्री मेटी फ्रिडरइसकिनले १० जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने, स्कुल, कलेज र रेष्टुरेन्ट सबै बन्द गर्ने, देशभित्र आउन जान बन्द गर्ने र  सामाजिक दुरी कायम गर्ने जिम्मेवारी जनताकै जिम्मामा छोडिन् । साथै उनले बच्चाहरूलाई प्रथमिकतामा राखेर कार्यक्रम नै चलाईन्,  जहाँ युवाहरूलाई समेत बन्देज लगाइयो । त्यहाँ पनि ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङलाई उच्च महत्वका साथ कार्यान्वयन गराइएको थियो । तर पछिल्लो समयमा त्यहाँ आफ्नो देशका नागरिकलाई देश भित्रिने अनुमति उनले दिएकी छिन् । करिब ६ करोड जनसस्ंख्या भएको उक्त राष्ट्रमा ११ हजार २८९ संक्रमित, ५६१ को मृत्यृ र ९८३६ जना निको भएका छन् । 

भारतको केरला राज्यको वामपन्थी सरकारका सक्षम स्वाथ्यमन्त्री पूर्व शिक्षिका के के सैलाजाले करिब केरलालाई कोराना मुक्त बनाएकी छिन् । त्यहाँ सर्वप्रथम जनवरी २४ तारिखमा चीनको बुहानबाट छुट्टिमा आएका विधार्थीको ३० तारिखमा कोभिड-१९ प्रमाणित हुँदा उनी भारतकै पहिलो संक्रमित व्यक्ति थिए । १४ जिल्लासहित ३ करोड ५० लाख जनसंख्या रहेको केरलामा उनले चीनमा कोराना फैलिएसँगै जनवरी १४ मा नै सम्पूर्ण मेडिकल टीम तयार पारिन्  । पूर्णतया विश्व स्वास्थ संगठनको निर्देशन पालना गर्दै ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङ कार्य सुरु गरिन् । सुरुमा भेनिसबाट आएका ५ जना संक्रमित भागेपछि सामाजिक सञ्जाल प्रयोग गरि समातेर आइसोलेसनमा राख्न समेत उनी सmल भइन् । उनले २३ मार्चमा १ लाख सत्तरी हजार शंकास्पद मानिसलाई सरकारी खर्चमा क्वारेन्टाइनमा राखिन् । हाल त्यो संख्या घटेर २१०० भएको छ ।  ४२ दिनसम्म दशौं हजार अन्य प्रदेशका मजदूरहरूलाई तीन छाक खाना खान दिँदै सरकारी बन्दोबस्तीमा घर पठाउने कार्य समेत उनले सम्पन्न गरिरहेकी छिन् । उनले प्रत्येक जिल्लामा  स्वास्थ्य टोली पठाएर जाँच गर्न सामाजिक कार्यकर्ता र स्थानीय जनप्रतिनिधि परिचालन गर्दै आएकी छिन् । २४ मार्चमा प्रत्येक जिल्लामा दुई अस्पताल कोभिड-१९ का लागि छुट्टयाईएको छ भने प्रत्येकमा ५०० बेड व्यवस्था गर्न उनी सफल भएकी छिन् । अहिले त्यहाँ लकडाउन खोलेपश्चात  हुनसक्ने जोखिमलाई ध्यानमा राखेर पूर्वतयारीस्वरुप एक लाख ६५  हजार वेड तयार पारिएको छ । यसरी पूर्व तयारीका साथ लाग्दा भारत कै राज्य  केरलामा हाल सम्ममा ६०१ कोराना संक्रमित र ४ जनाको मात्र मृत्यृ भएको छ । 

यस अवस्थामा नेपाल सरकारले पनि ढिला नगरि व्यापक रुपमा ट्रयाकिङ, टेस्टिङ र ट्रेसिङ कार्य गर्नुपर्दछ । ७५५ हस्पिटललाई आइसोलेसनको लागि प्रयोग गर्नुपर्छ ।  लकडाउन पूर्ण पालना गराउनुपर्छ । एक जिल्लाबाट अर्को जिल्ला आउजाउ प्रतिबन्ध गर्नुपर्छ ।  भारतीय सीमानामा आइपुगेका नेपालीलाई राख्नको लागि सीमाना नजिकका स्कुलहरूलाई क्वारेन्टाइन बनाउन सकिन्छ ।  सीमानाभन्दा केहि किलोमिटर टाढा स्वघोसित सिमाना बनाई कडाई गर्नुपर्छ । विदेशबाट आउन चाहने नेपालीलाई उनीहरूकै खर्चमा ल्याई क्वारेन्टाइनको  व्यवस्था गर्नुपर्छ । राष्ट्रको पहिलो त्रैमासिक बजेटको ९० प्रतिशत कोभिड-१९ नियन्त्रणमा वा स्वाथ्य क्षेत्रमा व्यवस्था हुनुपर्दछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुरेन्द्र केसी
सुरेन्द्र केसी
लेखकबाट थप