बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘सरकारले पार्टीमा छलफल नगरी संसदमा एमसीसी लगे दुर्घटना हुन्छ’

मङ्गलबार, १३ जेठ २०७७, १३ : ३१
मङ्गलबार, १३ जेठ २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पार्टीमा छलफल नै नगरी संसदमा लगे ठूलो दुर्घटना हुने चेतावनी दिएका छन् । रातोपाटीसँग संक्षिप्त कुरा गर्दै नेता खनालले पार्टीमा छलफल नभइकन एमसीसी अगाडि बढ्नै नसक्ने भन्दै त्योभन्दा अरु ढङ्गले अगाडि बढ्न खोजे दुर्घटना हुने बताएका हुन् ।

‘पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । पार्टी कमिटीले निर्णय गरेरमात्रै अगाडि बढाइन्छ, बढाउनुपर्छ । त्योभन्दा अरु वा अन्यथा ढङ्गले अगाडि बढ्यो भने दुर्घटना हुन्छ’, नेता खनालको भनाई छ । उनले सकभर एमसीसीबारे केन्द्रीय कमिटीमै छलफल गर्नुपर्ने र यदि त्यसो गर्न नसकिए स्थायी कमिटीमा छलफल गरेर त्यसको निर्णयअनुसार मात्रै अघि बढ्न सकिने बताए ।

‘केन्द्रीय कमिटी बैठक अहिले आयोजना गर्न नसकिने हो भनेपनि स्थायी समितिको बैठक आयोजना गरेर त्यसमा छलफल गर्नुपर्ने हुन्छ । र, स्थायी समितिको बैठकले जे निर्णय गर्छ पार्टीको भ्वाइस त्यही हुन्छ । पार्टीको निर्णय पनि त्यही हुन्छ’, नेता खनालको दावी छ । यस्तो छ नेता खनालसँग गरिएको संक्षिप्त वार्ता :

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमै उभिएर एमसीसी संसदबाटै पास हुन्छ भन्नुभएको छ । तर तपाईं नेतृत्वको कार्यदलले एमसीसीबारे अध्ययन गरेर बुझाएको प्रतिवेदनमाथि अहिलेसम्म किन ठोस छलफल हुन नसकेको हो ?

सबभन्दा पहिलो कुरा त पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठकले कार्यदल बनाएर यसबारेमा अध्ययन गरेको छ । त्यसको प्रतिवेदन हामीले बुझाइसकेका छौँ । त्यो प्रतिवेदन हामीले दुईवटा अध्यक्षलाई दिएका छौँ । अब त्यो प्रतिवेदनबारे पार्टी कमिटीमा छलफल हुन्छ । त्यसमा पनि उत्तम केन्द्रीय कमिटीमा छलफल गरे राम्रो हुन्छ । तर केन्द्रीय कमिटी बैठक अहिले आयोजना गर्न नसकिने हो भनेपनि स्थायी समितिको बैठक आयोजना गरेर त्यसमा छलफल गर्नुपर्ने हुन्छ । र, स्थायी समितिको बैठकले जे निर्णय गर्छ पार्टी भ्वाइस त्यही हुन्छ । पार्टीको निर्णय पनि त्यही हुन्छ र त्यसलाई मात्र हामीले कार्यन्वयन गर्न सक्छौँ ।

प्रतिवेदन बुझाएको नै लामो भैसक्यो । तर पार्टीमा छलफल नै हुन सकेको छैन । उता एमसीसी सम्झौता अनुसार आगामी असार १६ भित्रै कार्यान्वयनमा जानुपर्ने बाध्यता छ । अब यति छोटो समयमा कहिले छलफल होला र पार्टीको निर्णय कार्यान्वयन होला त ?

यो समयभित्र काम गर्न सकिएन भने अर्को समय नै आउँदैन, समयको लिमिट हुन्छ भन्ने कुरा हुँदैन । समय निरन्तर छ । अहिले लकडाउन र कोरोना महामारीले सम्पूर्ण विश्व आक्रान्त भएको अवस्था छ । त्यसकारण केही कुराहरु स्थगित भएका छन् । त्यसैले यो कुरा पनि फेरि पुनर्विचार गरेर र छलफल गरेर अनि मात्रै हामी के गर्ने भन्ने निर्णयमा पुग्न सक्छौँ । हाम्रो पार्टीको तर्फबाट पार्टी कमिटीले छलफल गरेर निर्णय गरेपछि मात्रै बल्ल निष्कर्षमा पुग्न सकिन्छ ।

सरकारले यहि अधिवेशनबाट एमसीसी पास गर्ने तयारी गरेको भनेर प्रधानमन्त्रीले नै घोषणा गरिसक्नुभएको छ । यदि पार्टीमा छलफल नै नगरी संसदको कार्यसूचीमा प्रवेश भयो भने के गर्नुहुन्छ ?

तपाईंले कसरी थाहा पाउनुभयो ? कार्यसूचीमा जान्छ भनेर ?

प्रधानमन्त्रीले नै भनिसकेपछि त पत्याउनुपरेन ?

पार्टीमा छलफल नभइकन यो कुरा अगाडि बढ्नै सक्दैन । पार्टी कमिटीले निर्णय गरेरमात्रै अगाडि बढाइन्छ, बढाउनुपर्छ । त्यो भन्दा अरु वा अन्यथा ढङ्गले अगाडि बढ्यो भने दुर्घटना हुन्छ ।

सरकारले अगाडि बढाएर सासंदहरुलाई ह्वीप जारी गर्न पनि त सक्छ नि ?

त्यस्तो कल्पना नै नगर्नुस् । यो सरकार पार्टीको सरकार हो, सरकारको पार्टी होइन । पार्टीले जे निर्णय गरेर जुन निर्देशन दिन्छ, त्यो अनुसार सरकार चल्नुपर्छ । त्यो भन्दा अन्यथा ढङ्गले सरकार चल्न खोज्यो भने त्यो पनि दुर्घटनामा जाने कुरा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप