बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनले रोकेन हामीलाई !

सोमबार, १२ जेठ २०७७, १८ : १६
सोमबार, १२ जेठ २०७७

कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत चैत ११ गतेदेखि गरेको लकडाउनका कारण रोकिएको रानीपोखरी पुनःनिर्माणको काम पुनः शुरु भएको छ । लकडाउनका कराण रोकिएको रानीपोखरीको पुनःनिर्माण धमाधम जारी रहेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार सामाजिक दूरी र स्वास्थ्यलाई ध्यानमा राख्दै निर्माण पुनःसञ्चालन गरिएको हो । लकडाउनका कारण काठमाडौँमा नै रोकिएका पुराना कामदारबाट काम शुरु भएको हो ।

उनका अनुसार हाल १९ जना कीर्तिपुर र काठमाडौँका स्थानीयवासीले पोखरीमा माटो  राख्ने काम गरेका छन् भने सात कामदारले मन्दिर र पुलको काम शुरु गरेका छन् । पोखरीको ९० तथा पुल र मन्दिरको ४२ प्रतिशत निर्माण सम्पन्न भएको छ ।

 हाल मन्दिरको दोस्रो तलामा काठका खाम राख्ने र पुलमा गुम्बज बनाउने कार्य भएको छ । सौन्दर्यका लागि भक्तपुरका कामदार ल्याउन नसक्दा काम रोकिएको उनले जानकारी दिए ।

पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुरानै शैली (ग्रन्थकुट/शिखर) मा पुनःनिर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । मन्दिर, मन्दिरसम्म जाने पुल र वरपरको बगैँचा १० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएरतुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको थियो ।

प्राधिकरणले मन्दिर निर्माणका लागि रु चौध करोड २७ हजार ५५७ मा ठेक्का र उपभोक्ता समितिमार्फत रानीपोखरीको पीँधमा कालो माटो राख्ने र वरपरका क्षेत्रमा पर्खाल लगाउने कार्यका लागि रु नौ करोड ९७ लाखमा बजेट विनियोजन गरेको छ । विसं २०७२ वैशाख १२ गतेको गोरखा भूकम्पका कारण क्षति पुगेका सम्पदाको पुनःनिर्माणको शुरुआत रानीपोखरीबाट गरिएको थियो ।

 भूकम्प गएको १० महिनापछि अर्थात् माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणको शुभारम्भ गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप