शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको नयाँ इपिसेन्टर बन्दै भारत

सोमबार, १२ जेठ २०७७, १२ : ५८
सोमबार, १२ जेठ २०७७

भारतमा कोभीड–१९ कोरोना भाइरसले भयावह रुप लिएको छ । पछिल्लो २४ घण्टामा ईरानलाई उछिन्दै भारत कोरानाबाट सर्वाधिक प्रभावित हुने देशको सुचीमा दशौं स्थानमा पुग्यो । यस सूचीमा अमेरिका, ब्राजिल, रुस, स्पेन, बेलायत, इटली, फ्रान्स, जर्मनी, टर्की र इरान भारतभन्दा अघि छन् ।

तर सक्रिय संक्रमण हेर्ने हो भने अमेरिका, रुस, ब्राजिल र फ्रान्सपछि भारतको नाम आउँछ । बेलायतले अहिलेसम्म कति निको भए भन्ने स्पष्ट तथ्याङ्क खुलाएको छैन ।

दैनिक ठूलो संख्यामा संक्रमित हुने देशको सुचीमा भारतको नाम अझै अगाडि छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका झन्डै ७ हजार नयाँ बिरामी फेला परे,  यो अवधिमा अमेरिका, ब्राजिल, रुसमा मात्रै भारतभन्दा ठूलो संख्यामा नयाँ बिरामी थपिएका छन् ।

एउटै राम्रो पक्ष, कोरोनाबाट सर्वाधिक प्रभावित १० देशमध्ये सर्वाधिक कम मृत्यु हुनेमा भारत दोस्रोमा छ । १ लाख ३८ हजार जनामा कोरोना देखिनुका बाबजुद  भारतमा अहिलेसम्म ४ हजार ०२४ जनाको मृत्यु भएको छ । अति प्रभावित देशमध्ये यसभन्दा कम मृत्यु रुसमा छ । जहाँ ३ लाख ४४ हजारभन्दा धेरैमा कोरोना देखिइसक्दा पनि ३ हजार ५ सय ४१ जनाको मात्रै मृत्यु भएको छ । खराब पक्ष, अति प्रभावित १० देशमध्ये कोरोनाबाट निको हुनेको संख्या भारतमा सबैभन्दा कम छ ।

सक्रिय संक्रमण कुन देशमा कति ?

अमेरिकामा विश्वमै सबैभन्दा धेरै संक्रमित छन् । अहिलेसम्म कुल १६ लाख ८६ हजार ४ सय ३६ मा संक्रमित भए । यसमध्ये ४ लाख ५१ हजार ७ सय २ जना उपचारपछि निको भइसकेका छन्, ९९ हजार ३ सयले ज्यान गुमाइसकेका छन् । त्यसैले ११ लाख ३५ हजार ४ सय ३४ जनामा कोरोनाको संक्रमण सक्रिय छ ।

रुसमा कुल ३ लाख ४४ हजार ४ सय ४१ मा संक्रमण देखिएकोमा १ लाख १३ हजार २ सय ९९ जना निको भए । ३ हजार ५ सय ४१ जनाको मृत्यु भयो । २ लाख २७ हजार ६ सय ४१ जना कोरोनाबाट बिरामी छन् ।

ब्राजिलमा कुल संक्रमितको संख्या रुसभन्दा ज्यादा अर्थात् ३ लाख ६५ हजार २ सय १३ जना छ । तर, सक्रिय संक्रमित रुसभन्दा कम छन् । यहाँ, १ लाख ४९ हजार ९ सय ११ जना निको भइसकेका छन्, २२ हजार ७ सय ४६ जनाको मृत्यु भइसक्यो । त्यस्तै, कोरोनाबाट बिरामी हुनेको संख्या अहिले १ लाख ९२ हजार ५ सय ५६ छ ।

कोरोनाबाट प्रभावित शीर्ष देशको सूचीमा फ्रान्सको नाम सातौं स्थानमा आउँछ । तर, सक्रिय संक्रमित संख्यामा यसले आफूभन्दा कुल संक्रमित धेरै भएका देश स्पेन र इटालीलाई उछिनेको छ, बेलायतले निको हुनेको स्पष्ट तथ्याङ्क बाहिर ल्याएको छैन । फ्रान्समा १ लाख ८२ हजार ५ सय ८४ जनामा संक्रमण देखिएकोमा ६४ हजार ६ सय १७ जना निको भए, २८ हजार ३ सय ६७ जनाको मृत्यु भयो । अहिले कोरोनाका बिरामीको संख्या ८९ हजार ६ सय छ ।

सक्रिय संक्रमितको सुचीमा यसपछि भारतको नाम आउँछ । जहाँ १ लाख ३८ हजार ९ सय १७ जना संक्रमित भएकोमा ५७ हजार ७ सय २१ जना निको भए, ४ हजार २४ जनाको मृत्यु भयो ।

स्पेन, इटली, जर्मनी र टर्कीमा भारतभन्दा धेरै मानिसमा कोरोना देखिएको थियो । तर यहाँ मृतक र उपचारपछि निको हुने दुबैको संख्या भारतभन्दा ज्यादा छ । त्यसैले यी देशमा सक्रिय संक्रमितको संख्या कम छ । स्पेनमा ५७ हजार १ सय ४२, इटलीमा ५६ हजार ५ सय ९४, टर्कीमा ३३ हजार ७ सय ९३ र जर्मनीमा ११ हजार ६ सय ५७ मा कोरोनाको सक्रिय संक्रमण छ । जबकी कुल संक्रमितको संख्या स्पेनमा २ लाख ८२ हजार ८ सय ५२, इटलीमा २ लाख २९ हजार ८ सय ५८, जर्मनीमा १ लाख ८० हजार ३ सय २८ र टर्कीमा १ लाख ५६ हजार ८ सय २७ छ ।

मृतक संख्यामा भारत १५ औं

मृतक संख्यालाई मात्रै आधार मान्ने हो भने भारत सुचीमा १३ औं स्थानमा आउँछ । अमेरिका, बेलायत, इटली, स्पेन, फ्रान्स, ब्राजिल, बेल्जियम, जर्मनी, ईरान, मेक्सिको, क्यानडा, नेदरल्यान्ड , चीन र टर्कीमा भारतको दाँजोमा धेरै ज्यान गुमाइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप