केन्द्रीय संस्करण
मिडिया

भारतीय मिडियाको एकोहोरो प्रलाप : के भन्छन् नेपालका सम्पादकहरु ?

‘उनीहरु उद्दण्ड छन्, हामी हुँदैनौँ’

person explore access_timeजेठ ११, २०७७ chat_bubble_outline0

गत जेठ ५ गते सरकारले नेपालको मिचिएको भूमि लिम्पयाधुरा, कालापानी र लिपुलेक समेटेर नेपालको नयाँ नक्सा प्रकाशन गर्ने निर्णय गरेको थियो । सरकारले गरेको निर्णयको २ दिनपछि भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरिन् ।

सरकारले यी कदम चाल्नुका पछाडिको कारक भने भारत सरकार नै थियो । गत कात्तिकमा उसले नेपालको भूमिसमेत समेटेर आफ्नो नक्सा प्रकाशन गरेको थियो । त्यसको नेपालमा चौतर्फी विरोध भएको थियो भने संसदीय समितिहरुले पनि सरकारलाई आफ्नो मिचिएको भूमि समेटेर नेपालको नक्सा प्रकाशन गर्न निर्देशन दिएको थियो ।

गत वैशाख २६ गते भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपालको भूमि लिपुलेक हुँदै तिब्बतको मानसरोवर जाने बाटोको उद्घाटन गरे । लिपुलेकलाई व्यापारिक नाकाका रूपमा विस्तार गर्नेबारे २०७२ जेठमा भारत र चीनबीच भएको समझदारीको नेपालले विरोध गर्दै आएको सन्दर्भमा भारतले एकतर्फी रूपमा सो स्थानबाट बाटो खुलाएपछि नेपालको ध्यान खिचिएको थियो । सन् १८१६ मा भएको सुगौली सन्धि अनुसार नेपालको भूभाग लिम्पियाधुरासम्म पर्छ । त्यसपछि जारी भएका कैयौँ नक्सामा नेपालको सिमाना काली नदीको शिर लिम्पयाधुरासम्म देखाएको तथ्यका आधारमा नेपाल सरकारले नयाँ नक्सा जारी गरेको हो ।

यही विषयलाई लिएर पछिल्लो समय भारतीय मिडियाहरूले एकतर्फी रूपमा प्रोपोगाण्डा सुरु गरेका छन् । उनीहरुले एकतर्फी प्रचारबाजीको हद यतिसम्म नाघेको छ कि चीनको संलग्नतामा नेपालले यी सबै काम गरिहेको छ भनेर झुटो दाबी गर्न थालेका छन् । भारतीय मिडियाले नेपाललाई कसरी हेर्ने गर्छ, उनीहरुको पत्रकारिताको शैली कस्तो छ ? यसबारेमा नेपालका वरिष्ठ पत्रकार तथा सम्पादकहरूको धारणा यस्तो छ :

व्यापार बढ्ने भएकाले उफ्रिएर कराउँछन्

किशोर नेपाल, वरिष्ठ पत्रकार

भारतीय केही सञ्चार माध्यमले नेपालको सिमानाको बारेमा जसरी एकतर्फी रूपमा प्रचार गरिरहेका छन्, त्यो मिडियाकर्म नै होइन । टेलिभिजनहरुले गरिरहेको त्यो काम केवल प्रचार मात्र हो । उनीहरु नपत्याउने पत्रकारिता गरिरहेका छन् । सरकारले आफ्ना मिडियाहरुलाई लगाएर प्रचार गर्ने चलन संसारभरी नै छ । भारतले नेपालको बारेमा मात्र हैन पाकिस्तानको बारेमा पनि यसरी नै एकतर्फी प्रचार गराएको हुन्छ ।  

यस्तो किसिमको प्रचारले वातावरण दूषित मात्र हुन्छ । फोहोर र अस्पष्ट भाषामा, नकारात्मक कुरा मात्र गरेर खेद्दाखेरी समस्या झन् बल्झिएर जाने हुन्छ । जिम्मेवार प्रेसले दुई देशको सम्बन्धको बारेमा बोल्दा विचार पु¥याउनुपर्ने हुन्छ । मैले बोलेपछि जनताले ताली ठोक्छन् भन्दैमा मनपरी बोल्नु हुँदैन ।

हाम्रोमा पनि कसैले आफैँले मनदेखि गरेका हुँदैनन् । तपाईं हामी पत्रकारिता गर्ने मान्छेलाई थाहा छ हामी पनि दूधले धोएका चाहिँ छैनौँ ।

बजार हेरेर यस्तो सबैतिर हुन्छ । हाम्रो मिडियाको जति विकास भएको छ, त्यहीअनुसार हामीले गर्ने हो । एक त हाम्रो बजार पनि सानो छ । भारतमा चाहिँ उफ्री उफ्री कराई कराई बोल्यो भने दर्शक धेरै पाइन्छ । व्यापार बढ्छ, चाहे युट्युब होस्, त्यो व्यापार बढाउन पनि गर्छन् । अर्कोतिर खुफिया एजेन्सीले, जासुसी संस्थाले पनि च्यानलका मालिक सम्पादकहरूलाई पनि आफ्नो नियन्त्रणमा लिइरहेका हुन्छन् । पाकिस्तानमा पनि त्यस्तो संयन्त्र छ । पाकिस्तानमा एउटा च्यानल छ, त्यसको काम नै खाली भारतलाई गाली गर्ने, भारतमा पनि त्यस्ता च्यानल छन्, जसले पाकिस्तानलाई गाली गरिरहेका हुन्छन् ।

अहिले उनीहरु हाम्रो खोइरो खनिरहेका छन् । त्यसमा तथ्यहरु केही नभएकाले उनीहरुले जे भने पनि हामी छिट्टै उत्तेजित हुने भएकाले उत्तेजित पनि हुन्छौँ । उनीहरुले भनेका कुरामा त्यस्तो केही पनि हुँदैन, हाँसेर टारे हुने कुरा हुन्छ ।

भारतीय मिडियाले निर्देशित गरेका कुराले नेपाली जनता र भारतीय बीचको सम्बन्धमा त्यस्तो असर त पर्दैन । लाखौँ लाख नेपाली भारतमा बसेर काम गर्न विवश छन् । उनीहरुको मिडियाको प्रभाव पर्ने भए लाखौँ भारतीय पशुपतिनाथको दर्शन गर्न आउने थिएनन् । तर शासन गर्ने तहमा यसले अलिकति घृणा द्वेष भने फैलाउँछ । लिम्पियाधुराबाट इन्डियन सेना हट्छ भन्ने कुराको ग्यारेन्टी पनि छैन ।

हामीले राष्ट्रवादको जति कुरा गरे पनि नेताहरुले भन्नुप-यो राजा महेन्द्रले काँग्रेसको आन्दोलन दबाउनका लागि भारत चीन युद्धका बेला सो भूमि भारतलाई प्रयोग गर्न दिएका थिए भनेर । यो ऐतिहासिक तथ्यलाई मान्नुप-यो ।

नेपाली मिडिया होस् या भारतीय मिडिया हुन्, मौसमअनुसार बाजा बजाउँछन् । पत्रकारिता भनेकै कतिबेला स्यालको जस्तो हुइँय्या गर्नुपर्ने हो, कतिबेला कस्तो गर्नुपर्ने भन्ने हो । 

अचेल फेसबुकमा हेरिरहेको छु नेपालीले युद्ध जितेको जस्तै गरिरहेका छन् । अब युद्ध लडेर भूमि फिर्ता ल्याउनुपर्छ भनिरहेका छन् । यो सबै मौसमी राष्ट्रवाद हो ।

नेपालमा केही राजनीतिक घटना भयो कि भारतले चीनलाई दोष दिने त्यो पुरानो परम्परा नै हो । हामीलाई चीनले त्यस्तो गर्दैन जस्तो लाग्छ तर हामी चिनियाँ भाषा बुझ्दैनौँ । तर उनीहरुले आफ्नो तरिकाबाट प्रोपोगान्डा गरिरहेका हुन्छन् ।

भारतीय मिडियाको तुलनामा नेपाली मिडिया धेरै जिम्मेवार छ

प्रशान्त अर्याल, प्रधान सम्पादक कान्तिपुर टिभी 

नेपालले आफ्नो सम्पूर्ण भूभाग सहितको नयाँ नक्सा जारी गरेपछि भारतीय मिडिया जसरी प्रस्तुत भएको छ, हामी त्यसरी जानु हुँदैन । भारतीय मिडियाको तुलनामा नेपाली मिडिया धेरै नै जिम्मेवार छ । नेपालको र भारतको टेलिभिजन च्यानलहरूको तुलना गर्ने हो भने पनि यहाँको मिडिया धेरै नै मर्यादित छ ।

भारतीय मिडिया अलि बढी नै अराजक जस्तो लाग्छ । अरुको कुरा सुन्दै नसुन्ने, बोल्नै नदिने यो यो राम्रो हैन ।

मनिषा कोइरालाले त्यहाँ बसेर काम पो गरेको हो त । मान्छे त नेपालको हो । नेपालीले नेपालकै पक्ष लिन्छ, कसरी अरूको पक्ष लिन्छ त ? भारतीय मिडियाले आफ्नो आँखा अलि सफा गर्नुपर्छ जस्तो लाग्छ । अरू देशहरु पनि स्वतन्त्र छन्, अरू देशको पनि कुरा सुन्नुपर्छ भन्ने कुरामा मिडियाको पनि भूमिका हुनुपर्छ । यो केशमा उनीहरुले गरेजस्तो देखिँदैन ।

केही टिभी च्यानलबाट नेपाललक्षित आक्रामक सामग्री सम्प्रेषण गरिएको छ, त्यसमा उनीहरु हामीप्रति पूर्वाग्राही देखिन्छन् । पछिल्लो समयमा भारतीय टिभी च्यानलहरू हेर्दा छिमेकीप्रति उनीहरुको व्यवहार अलि बढी नै असहिष्णु बन्दै गइरहेको देखिन्छ ।

तर सबै भारतीय मिडियालाई एउटै घानमा हाल्न भने मिल्दैन । भारतीय मिडियाहरुको एउटा तप्काको गाइड लाइन नै त्यहाँको विदेश मन्त्रालयको एकतर्फी भनाइलाई मात्र बोकेर हिँड्ने छ । उनीहरु एकतर्फी रूपमा मात्र लाग्छन् अरू कोणबाट विश्लेषण भने गर्दैनन् ।

हामीले सभ्य, नम्र, विनम्र भएर नै जाने हो, आफ्ना कुरा तर्कपूर्ण ढङ्गले राख्ने हो, आफ्ना प्रमाणहरु सभ्य र नम्र भएर राख्ने हो । उग्र, आपत्तिजनक, अराजक, अभद्र शैली चाहिँ अपनाउनु हुँदैन । हामी जिम्मेवार छौँ, हाम्रो मिडिया जिम्मेवार हुनुपर्छ ।

हामी दाबीका साथ भन्न सक्छौँ भारतको एउटा तप्का मिडियाभन्दा नेपाली मिडिया धेरै नै जिम्मेवार छौँ ।

भारतीय मिडियाहरुको हाउगुजी देखाउने चलन छ

गुणराज लुइँटेल, प्रधान सम्पादक, नागरिक दैनिक

भारतीय मिडियाहरुमा खासगरी त्यहाँको टेलिभिजनलाई हेर्दा बढी उत्तेजित कुरा गर्छन् । समस्या समाधान गर्ने कुराभन्दा पनि उत्तेजक कुरा ग¥यो भने त्यसले बढी टीआरपी बढाउन सकिन्छ भन्ने उनीहरुको ध्येय देखिन्छ । भारतमै पनि गम्भीर खालका विषयमा लेख्ने पत्रकारहरुलाई हेर्दा नेपालका बारेमा उनीहरु सन्तुलित नै देखिन्छन् ।

टेलिभिजनमा देखिने सीमित मान्छेहरुले, सीमित पत्रकारहरुले नेपालविरुद्ध प्रोपोगान्डा गर्छन् । भारतीय मिडियाको प्रकृति नै त्यस्तै छ । भारतीयहरुले त्यहाँको मिडियाले कसरी काम गर्छन् भनेर ‘पिप्ली लाइभ’ भन्ने एउटा फिल्म नै बनाएका छन्, जसले भारतीय मिडियाहरुलाई राम्ररी चित्रित गर्छ । यता नेपाली मिडिया भने त्यसरी चिच्याएर कुरा गर्दैनन्, बरु तथ्यहरु ल्याएर, ऐतिहासिक दस्तावेजहरु अघि सारेर कुरा गर्छन् ।

भारतमा त्यहाँको विदेश मन्त्रालयले जे कुरा अभिव्यक्ति दिन्छ, त्यसलाई नै आधिकारिक मानेर प्रचार गर्छन् ।  नेपालमा मिडियालाई  कहिले पनि परराष्ट्र मन्त्रालयले यो गर भनेर निर्देशित गर्दैन । मिडियाले आफैले बुझेर नै गर्र्छन् । कालापानीको यो मुद्दा आजको पनि होइन, जतिबेला महाकाली सन्धि हुँदै थियो, त्यो बेलादेखि नै नेपाली सञ्चार माध्यमले यो कुरालाई उठाएका थिए । त्यो बेलादेखि नै निरन्तर भन्दै आएका छन् ।

यो विषय उठाउँदा पनि नेपाली मिडियाले नक्साहरू खोज्छन्, विषय विज्ञहरुसँग कुरा गर्छन् । भारतीय मिडिया जस्तो आफै बढी चिच्याउने भन्दा बढी तथ्यहरु बोल्न दियो भनेदेखि त्यो पत्रकारिता दिगो र आम मानिसहरुले त्यसलाई बुझ्ने र निष्कर्षमा पु-याउनलाई सरकारलाई पनि मद्दत पुग्ने हुन्छ ।  पत्रकारिताले गर्ने धर्म पनि त्यही हो ।

अर्को कुरा भारतीय मिडियाहरुको हाउगुजी देखाउने चलन छ । पछिल्लो समय सीमाको विषयमा उनीहरुले के तथ्य विचार गरेका छैनन् भने लिपुलेक हुँदै व्यापारिक नाका खोल्नेबारे सन् २०१५ मै चीन र भारतको बीचमा जुन सम्झौता भयो त्यो नेपाली भूभाग पथ्र्यो । त्यतिबेलादेखि नै नेपालले त्यसमा विरोध जनाएको छ, त्यो कुरा भारतसँग पनि छ चीनसँग पनि छ ।

त्यति हुँदाहुँदै पनि चीनलाई देखाएर नेपालले नक्सा सार्वजनिक गर्छन् भन्नु उनीहरु तथ्यहरुमा पुग्न नसकेको हो । नेपाल आफ्नो विषयमा आफै निर्णय गर्न सक्षम छ । जहिले पनि स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न मुलुक भएको हुनाले यसले आफ्नो कुरा भन्न कसैको साहारा लिनु पर्दैन ।

यसअघिका सरकारले सन् २०१५ मै यो कुरा उठाएका थिए तर भारतले त्यहाँ सडकनै बनाएपछि यो हाम्रो भूभाग हो, सार्वभौमसत्ता सम्पन्न मुलुकको  भूभागमा तिमीले बाटो खन्यौ भनेको हो । त्यसकारण त्यहाँको मुलुकले अर्को देशले लगाएको भनिरहेका छन्, त्यो गलत हो ।

नेपालले न भारतसँग न चीनसँग, बीचमा बसेर आफ्नो भूमिका खेलिरहेको छ । यहीँ नेपालमै पनि कुनै दलले कुनै देशको पक्ष लियो भने त्यसो गर्नु हुँदैन भनिन्छ । दुईवटै छिमेकीलाई समान रूपमा हेर्नुपर्छ भन्ने नेपालको दृष्टिकोण रहँदै आएको बेला भारतीय मिडियाले गलत तरिकाले विषय उठाइरहेका छन् । 

अहिले भारतीय मिडियाले जसरी प्रोपोगान्डा गरिरहेका छन्, उनीहरु त्यसरी चिच्याए भन्दैमा नेपाली मिडिया चिच्याउनु हुँदैन । चिच्याउने त तिनीहरुको काम हो, जोसँग आफ्नो तथ्य प्रमाण हुँदैन । निरन्तर रूपमा हामीसँग यी तथ्य छन् भनेपछि त्यसले पुगिहाल्छ । नेपाली मिडियाले निरन्तर रूपमा यी कुराहरु लेख्दै पनि आएको छ । अहिले आम मानिसले भारतले अतिक्रमित गरेको भूभागको बारेमा जति जानकार छन्, त्यसमा नेपाली मिडियाको भूमिका छ ।

भारतीय मिडियाको एकोहोरो प्रलाप पत्रकारिताको मापदण्डभित्र पर्दैन

ध्रुवहरि अधिकारी, वरिष्ठ पत्रकार

भारतीय सञ्चार माध्यमहरु खासगरी टेलिभिजनहरुबाट र अखबारबाट, अनलाइनहरुबाट जुन प्रोपोगान्डा आइरहेको छ । त्यो पत्रकारिताको सर्वमान्य मान्यताको मापदण्ड विपरीत छ ।

कुनै पनि एउटा घटना भयो भने त्यो घटनाको दुईवटा पक्ष हुन्छ नै । दुईभन्दा बढी पक्ष भए पनि सबै सरोकार भएका पक्षको दृष्टिकोणहरु राखेर प्रस्तुत गर्नुपर्छ भन्ने सामान्य मान्यता हो । त्यो पस्तुत गर्ने रेडियो, टेलिभिजन जुनसुकै माध्यम भए पनि अडियन्सलाई बताउँदा घटनाका बारेमा दुवै पक्षको भनाइ राख्नुपर्ने हुन्छ ।

अहिले सिमानाको बारेका कुरा गर्नुपर्दा भारतको भनाइ यो छ अथवा नाम तोकेर भन्नुपर्दा कुनै मन्त्री, सचिव वा प्रवक्ताको एउटा भनाइ  र नेपालको एउटा आधिकारिक भनाइ यो छ भनेर सन्तुलित ढङ्गले राख्नुपर्ने हुन्छ । उनीहरुको माध्यममा नेपालको भनाइ खै त ? अहिले प्रविधिले गर्दा टाढा भएकोसँग पनि कुरा गर्न सहज छ । यदि त्यो सम्भव भएन भने पनि दिल्लीमा रहेको नेपाली दूतावासमा राजदूत त छन् । त्यसबारेमा नेपालको भनाइ के हो त ? त्यसलाई पनि उनीहरुले समेट्नु पर्छ ।

खाली उनीहरुको एकोहोरो प्रलाप मात्रै छ । त्यस्तो प्रलाप पत्रकारिताको मापदण्डभित्र पर्दैन । त्यो प्रलाप केवल सत्ताधारी पार्टीबाट गरिएको प्रोपोगान्डा मात्र हो । त्यो समाचार नभई एकतर्फी प्रचारलाई पनि समाचार मानिदिनुपर्ने जुन बाध्यता छ, त्यसलाई स्वीकृत पत्रकारिता मान्न सकिँदैन ।

आजको जमानामा भारतीय मिडियाले भनेको मान्नुपर्ने भन्ने छैन । दुईवटा पक्षको भनाइ नराखी समाचारले पूर्णता पाउन सक्दैन अधिकांशले त्यो गरेको देखिँदैन । प्रश्न सोध्दा खेरी नै उनीहरुले डोमिनेट तरिकाले गरेको देखियो  । मिडियाले मर्यादित ढङ्गले प्रश्न सोध्नुपर्छ र उत्तर नआउन्जेलसम्म धैर्यताका साथ पर्खनुपर्छ । अशिष्ट ढङ्गले, हप्काउने ढङ्गले प्रश्न सोध्ने शैली संसारका कुनै पनि मिडियामा देखिँदैन तर भारतीय मिडियामा देखिन्छ ।

त्यहाँको सत्ताको चरित्र त्यहाँको मिडियामा पनि प्रतिविम्बित, प्रतिध्वनित भएको पाइन्छ । त्यहाँको मिडियालाई कतै एकतर्फी प्रचारको माध्यम मात्र त बनाइको छैन भन्ने प्रश्न पनि उठेको छ । उनीहरुको पत्रकारिता विकृत रूपमा प्रस्तुत भइरहेको छ । उनीहरुले भन्ने बेलामा संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भएको दाबी गर्छन् तर उनीहरुको प्रचार शैलीले त्यसलाई देखाउँदैन ।

उनीहरु एकतर्फी प्रचार गर्ने मानसिकताबाट ग्रसित छन् । उनीहरु आरोप लगाउने क्रममा नेपाललाई लिएर चीनको पछि पनि कुदेका छन् । अहिले सीमा विवाद भएको लिपुलेक, कालापानी, लिम्पियाधुरासँग चीन पनि असम्बन्धित त छैन तर यो हिजो मात्र उठाएको विषय पनि हैन । झन्डै २ सय वर्षदेखिको विषय हो ।

चीनले उचाल्यो अनि यो विषय अहिले उठायो भन्ने कुरा किन पनि गलत छ भने नेपाल र भारत बीच सन् १९९७ देखि अहिलेसम्म निरन्तर सिमानासँग सम्बन्धित समस्या समाधानका लागि नेपालले पत्राचार गरेको अभिलेख छ । ती पत्र जसरी नेपालको परराष्ट्र मन्त्रालयमा छन् उनीहरुको परराष्ट्र मन्त्रालयमा पनि छन् ।

तर उनीहरुले ९८ प्रतिशत समस्या समाधान भयो २ प्रतिशत मिलाउँदै गरौँला भनेर टार्दै आएका छन् । त्यहाँका मिडियाहरूले यसको पृष्ठभूमि खोज्नुपर्नेमा त्यो नगरेर चीनलाई देखाउन लाग्नुमा सत्ताधारी दलबाट मिडियालाई निर्देशन आएको पनि हुन सक्छ । त्यसकारण उनीहरु पत्रकारिता नगरी बढी प्रचारमुखी बन्दा भारतमै पनि उनीहरुले विश्वसनीयता गुमाएको अवस्था  छ । एकतर्फी रूपमा प्रचार गर्दा इन्डियन मिडियाले भनेको पनि पत्याउने भन्ने खालको अवधारणा नेपालमा पनि बनिसकेको छ ।

उनीहरु उच्छृङ्खल ढङ्गले टिभीमा प्रस्तुत भए पनि नेपाली मिडिया सन्तुलित ढङ्गले अघि बढिरहेको छ । हामीले तथ्यपूर्ण रूपमा मर्यादित भएर संयमित भएर आफ्नो तर्क राखिरहेका छौँ । महाकालीको मुहान लिम्पियाधुरा हो, सुगौली सन्धिले पनि त्यही कुरा देखाँउछ । पुराना नक्साहरुले पनि त्यो नेपालको भूभाग रहेको भनेर तथ्यपूर्ण रूपमा नेपाली मिडियाले प्रस्तुत गरिहेको छ ।

उनीहरु उद्दण्ड छन्, हामी हुँदैनौँ

प्रतीक प्रधान, प्रधान सम्पादक, बाह्रखरी अनलाइन 

भारतीय मिडियाहरु पनि धेरै खालका छन्, धेरै तहका छन् । अहिले भारतका टेलिभिजन च्यानलहरूमा अलिकति उद्दण्ड टाइपका पत्रकारहरुले आक्रामक शैली प्रस्तुत गर्ने गरेका छन् ।  अहिले नेपाल पनि त्यसको सिकार हुन पुगेको छ । उनीहरुले त्यसो गरे भन्दैमा हामी उद्दण्ड हुनुहुँदैन । उनीहरुले गाली गरे भन्दैमा सम्पूर्ण भारतीय मिडियालाई हामीले पनि गाली गर्नुपर्छ भन्ने छैन ।

हामीले हाम्रो कुरा नियमसङ्गत ढङ्गले, इतिहास सम्मत ढङ्गले, ऐतिहासिक सन्धिहरु, सुगौली सन्धि, जायज तरिकाले राख्दै सार्वभौमसत्ता जोगाउने हो । यसलाई उनीहरुले पनि बुझ्नुपर्छ । उनीहरुले उत्तेजनापूर्ण तरिकाले आएर कहिले मनिषा कोइरालालाई गाली गर्ने कहिले गलत शब्दमा कुरा गर्ने, भारतको खाओगी, चिनिया गाओगी भन्ने जस्ता एकदमै गलत तरिकाले नेपालको बारेमा गलत किसिमले प्रोपोगान्डा गरे ।

उनीहरुले त्यसरी उत्तेजनात्मक काम गर्नु हुँदैनथ्यो, हामी त्यसको विरोध गर्छौँ । हामीले उनीहरुलाई गाली गर्ने कुरा हुँदैन । हामीले संयमतापूर्वक काम गर्नुपर्ने हुन्छ । उनीहरु गैरजिम्मेवार बच्पना देखिए भन्दैमा हामीले पनि त्यस्तै गर्नुहुँदैन र आफ्नो अडान छोड्नुहुँदैन ।

नेपालले जुन अडान लिएको छ, सक्यो भने चाँडो भन्दा चाँडो आफ्नो भूमि प्राप्त गर्नुपर्छ । सयौँ, हजारौँ वर्ष किन नलागोस् नेपालले आफ्नो भूमिको लागि लड्नुपर्छ ।

जहाँ जुन किसिमका दर्शक, श्रोता, पाठक हुन्छन् त्यस्तै खालका मिडियाले उनीहरुलाई प्रभाव पारिरहेका हुन्छन् । ती मिडियाले गरेको गलत प्रोपोगान्डालाई विश्वास गर्ने पनि निश्चित समूह हुन्छन् । उनीहरुको त्यस्तो प्रस्तुतिले नेपालीलाई भारतमा बस्न र भारतीयहरुलाई नेपालमा बस्न, काम गर्न निकै अप्ठ्यारो वातावरण बनाउन सक्छ । नेपालीहरुले पनि उत्तेजनामा आएर यस्ता कार्य गर्नुहुँदैन ।

नेपालको कूटनीतिक, जायज मागलाई स्थापित गर्ने, अन्तर्राष्ट्रिय समुदायमा पु-याउनेलाई साथमा लिएर जानुपर्छ । उत्तेजना फैलाउने, घृणा फैलाउने, जातीय हिसाबले नेपालीलाई हेप्ने भारतीय मिडियाहरूले जुन काम गरिरहेका छन्, उनीहरुलाई हामीले शालीनतापूर्वक बहिष्कार गर्नुपर्छ । त्यस्ता मिडियाहरूप्रति हाम्रा जनतालाई पनि समयमै सचेत गराउनुपर्छ ।

भारत लोकतान्त्रिक देश भएकाले त्यहाँका मिडियामा पनि धेरै किसिमका स्वार्थ समूहहरु लागेका छन् । त्यहाँका मिडियामा पनि राजनीतिक प्रभाव छ । सत्तामा बसेकाहरू पनि विरोधीलाई आक्रमण नै गरेर जानुपर्छ भन्ने खालका पनि छन् । सत्तामा बसेकाहरुले पनि मिडियालाई निर्देशित गरेका हुन्छन् ।

तर नेपाली मिडियाहरु जिम्मेवार ढङ्गले नै अगाडि बढिरहेका छन् । राष्ट्रिय हिसाबले, हाम्रो सार्वभौमसत्ताको हिसाबले भारतले अतिक्रमण गरेको भूमि हाम्रो जमिन हो, हामी प्रमाणित गर्न सक्छौँ भनेर आवाजलाई बुलन्द गराएका छन् । तथ्य प्रमाण दिएका छन्, अतिरञ्जना गराएका छैनन् ।

भ्रम फैलाउने भारतीय मिडिया विरुद्ध हामीले शान्तिपूर्वक, सम्यमतापूर्णक काम गरिरहेका छौँ । नेपाली मिडियाले अहिलेसम्म गैरजिम्मेवारपूर्ण तर्क दिएको छैन ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.