शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालविरुद्ध खनिदै आएका भारतीय पत्रकार गोस्वामीविरुद्ध मुद्दा चलाउन आदेश

शनिबार, १० जेठ २०७७, २३ : ४०
शनिबार, १० जेठ २०७७

काठमाडौं । केही दिनयता नेपाल र नेपालीहरुप्रति आक्रमक रुपमा प्रस्तुत भैरहेका भारतीय पत्रकार अर्नब गोस्वामीबिरुद्ध साम्प्रदायिक सद्भाव भड्काएको आरोपमा अदालतले स्थानीय प्रहरीलाई मुद्दा चलाउन आदेश दिएको छ । मुस्लिम धर्मावलम्बीको मानहानी र गाली बेइज्जती गरेवापत मुम्बई प्रहरीले दर्ता गर्न लागेको मुद्दा रोकि पाउँ भनी दायर गरिएको उनको अपिल सर्वोच्च अदालतबाट गत मंगलबार खारेज भएको थियो ।  अदालतले उक्त अपिल खारेज गरेसँगै महाराष्ट्र प्रहरीलाई अनुसन्धान अघि बढाउन आदेश दिएको हो । 

पत्रकार गोस्वामीले मुम्बई शहरका लाखौं सुकुम्बासीबिरुद्ध टेलिभिजन कार्यक्रममार्फत बारम्बार प्रयोग गरेको तुच्छ र निकृष्ट भाषालाई लिएर प्रहरीले मुद्दा दर्ता गर्ने तयारी गरेको छ ।  प्रहरीले आफूलाई समात्ने देखेपछि उनले मुद्दा खारेजीको मागसहित केस चलाउनै पर्ने भए प्रहरीको केन्द्रीय  अनुसन्धान ब्युरोलाई हस्तान्तरण गर्नुपर्ने जिकिर बोकेर दिल्लीस्थित सर्वोच्च अदालत पुगेका थिए । तर अदालतले लकडाउनको अवधिमा भिडियो कन्फ्रेन्स बिधिमार्फत गोस्वामीको अपिल खारेज गरेको थियो ।

न्यायाधीश डी.आई.चन्द्रचुड र एम.आर.साहको संयुक्त इजलासले ‘प्रेस स्वतन्त्रता भनेको जथाभावी बोल्नु र लेख्नु कदापि होइन’ भन्दै ५६ पृष्ठ लामो फैसला सुनाएको थियो । त्यस्तै, गोस्वामीले केही समयअघि भारतीय राष्ट्रिय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी बिरुद्ध पनि लगातार प्रहार गरेका थिए । उनले सोनियामाथि पालगार भन्ने स्थानमा भएको सामूहिक संहारको घटनामा विना प्रमाण मुछेका थिए ।  उनीविरुद्ध अदालतले १४ अलग अलग ठाउँबाट परेका उजुरीलाई खारेज गर्दै सबैलाई एउटै प्याकेजमा राखेर अनुसन्धान अघि बढाउन (मुद्दा चलाउन) प्रहरीलाई आदेश दिएको छ ।

रिपब्लिक टिभी भारतीय जनता पार्टी निकट टेलिभिजन मानिन्छ । उक्त टेलिभिजनका उनी मालिक र प्रधान सम्पादक समेत हुन् । त्यसैले उनले काँग्रेस आई र मुसलमानहरुविरुद्ध कटाक्ष गर्दै आएका छन् । उनले महाराष्ट्रमा भन्दा पनि केन्द्रीय अनुसन्धान ब्युरो (सिबीआइ)ले आफ्नो मुद्धा हेरे केन्द्र सरकार र भाजपाको प्रत्यक्ष प्रभावमा पारेर खारेज गर्न सकिने रणनीति अप्नाएको बताइन्छ । किनभने महाराष्ट्रमा भाजपाको एकल सरकार छैन । त्यहाँ लामो समयदेखि शिवसेनाको प्रभाव रहेको छ । उनै पत्रकार गोस्वामीसँग केही दिनअघि नेपालको नयाँ नक्सा, कालिपानी र लिम्पियाधुराका विषयमा काँग्रेस नेता डा. मिनेन्द्र रिजालसँग समेत चर्काचर्की भएको थियो ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप