बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको  ‘बिओपी’ स्थापना

शनिबार, १० जेठ २०७७, १७ : ०९
शनिबार, १० जेठ २०७७

बैतडी । नेपाल–भारत सीमानाका बैतडीको झुलाघाटमा पहिलोपटक सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ । सुदूरपश्चिम सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशङ्कर बुढाथाकीले सो बिओपीको आज उद्घाटन गर्दै यसबाट सीमा निगरानी हुने बताए  ।  सीमा निगरानी, राजश्व सङ्कलनमा वृद्धि तथा सबैखाले सीमा आपराधिक क्रियाकलाप नियन्त्रण हुने विश्वास गरिएको छ । 
 
सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा बिओपी बस्ने भए पनि हाल सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा टोली बसेको छ । आफ्नो भवन नहुँदा बिओपी अहिले घर भाडामा लिएर बसेको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिए ।  हाललाई भाडाको घरमा बस्ने भए पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेकाले निकट भविष्यमै आफ्नो भवनमा बस्ने जनाइएको छ । 

बैतडीका पञ्चेश्वर गाउँपालिकाको रोलघाटमा बिओपी स्थापना हुने भनिए पनि उक्त क्षेत्रमा हाल पोष्ट खडा गरिएको छ । पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै निकट भविष्यमा त्यसलाई नै बिओपीमा रुपान्तरण गरिने जनाइएको छ । पञ्चेश्वरमा पनि जग्गा प्राप्तिको प्रक्रियामा रहेको सशस्त्र प्रहरीको नं ५१ गुल्म बैतडीले जनाएको छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । 

अब सीमा सुरक्षाका लागि सजिलो हुने  प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए । बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ । सरकारले सशस्त्र प्रहरी बललाई देशभरिका भारतसँग सीमा जोडिएका क्षेत्रमा खटाइसकेको छ । सीमा परिचालन गरिएका सशस्त्र प्रहरीलाई स्थायीरूपमा बिओपी स्थापना गरी परिचालन गर्न लागेको हो । हाल सीमामा देशभरि १२१ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा ५०० पु¥याउने तयारी गरेको जनाइएको छ ।
 
नेपालतर्फको सीमानाकामा भारतको ५३० बिओपी रहेको बताइएको छ । नेपाल सरकारले पनि सोही अनुपातमा बिओपी थप्ने तयारी गरेको हो । कोरोनाको जोखिम हुन नदिन सीमा सिलपछि विस्तार गरिएका अस्थायी पोष्टलाई बिओपीमा रुपान्तरण गर्ने सरकारी तयारी रहेको जनाइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप