बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ईदु उल फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह

शनिबार, १० जेठ २०७७, १६ : ३७
शनिबार, १० जेठ २०७७

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगले ईदु–उल–फित्रका दिन घरमै बसेर नमाज पढन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज आदा गर्न आग्रह गरेका हुन् । रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदु–उल–फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज आदा गर्ने प्रचलन रहेको छ । रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज आदा गरेका थिए ।

आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भएपनि घरमै बसेर नमाज पढ्न आग्रह गरे । उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदान प्रदान नगर्न समेत आग्रह गरे । यस्तै अध्यक्ष अन्सारीले देशको कुनैपनि ठाउँबाट आज (शनिबार) चन्द्रमा देखिए आइतबार ईदु-उल-फित्र मनाउने नभए सोमबार मात्रै ईदु-उल-फित्रको नमाज आदा गरिने बताए ।

इस्लाम धर्मावलम्बीहरु रमजान महिनामा दिनभर निराहार वर्त अर्थात रोजा (उपवास) बसेर नमाज आदा गर्ने गर्दछन् । रमजानको अन्तिम दिन ईद–उल–फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने छ । आइतबार रमजान महिनाको अन्तिम (३० औं) दिन रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप