बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौं उपत्यका छिर्ने उत्तरपूर्वी नाकामा पूर्ण कडाइ

शुक्रबार, ०९ जेठ २०७७, २२ : २०
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि पूर्णरुपमा बन्द गरिएका छन् । वडा नं ३ को जहरसिंह पौवा र वडा नंं ८ को कात्तिके नाकाबाट छिर्न प्रतिबन्ध लगाइएको हो ।

बिहीबार नगरपालिकाको वडा नं ४ देखि ९ सम्मका जनप्रतिनिधि, अत्यावश्यक सेवामा खटिने कर्मचारी स्थानीयवासीलगायत कोरोनाको लक्षण देखिएकामा गरिएको आरडिटी परीक्षणका क्रममा १२ जनाको प्रतिवेदन पोजेटिभ प्राप्त भएकाले नगर क्षेत्र बिहान १०:०० बजेदेखि सिल गर्दै दुवै जिल्लाबाट प्रवेश गर्न पूर्णरुपमा बन्द गरिएको नगर प्रमुख सुवर्ण श्रेष्ठले बताए । 

 इन्द्रायणी स्वास्थ्य केन्द्र, पिपल्स लाइफ केयर, सुषमा कोइराला मेमोरियल अस्पताल र घुमारचोक शहरी स्वास्थ्य केन्द्रमा बिहीबार २९० जनाको आरडिटी परीक्षण गरिएको थियो । आरडिटी परीक्षणमा पोजेटिभ देखिएका १२ जनालाई नगरपालिकाको वडा नं ७ स्थित बाल क्षेत्र नेपालको क्वारिन्टाइनमा राखिएको छ । पिसीआर परीक्षणको प्रतिवेदन नआएसम्म सबैलाई यही राखिने छ । क्वारेन्टाइनमा राखिएकालाई आवश्यक सुविधा र खानपिनको व्यवस्था नगरपालिकाले नै गरिरहेको छ ।
आरडिटी परीक्षणमा पोजेटिभ देखिएकाको आज बिहान स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको छ । आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि नगरपालिकाको नाका क्षेत्रका युवाले जहरसिंह पौवाबाट साँखु आवतजावत रोकेका छन् । नेपाल प्रहरीले समेत नाकामा गत दिनभन्दा बढी कडाइ गरेको छ ।

यस क्षेत्रका कागेश्वरी मनोहरा, गोकर्णेश्वर र बूढानीलकण्ठबाट उपत्यका भित्रने नाकामा पनि कडाइ गरिएको छ । तीनै नगरपालिका क्षेत्रमा पर्ने शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मार्ग हुँदै सवारी र पैदलयात्रासमेत गरेर सिन्धुपाल्चोक र नुवाकोट आवतजावत हुने गरेको छ । 

गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गाना बिहीबार गृहमन्त्रालयमा स्थानीय तहका जनप्रतिनिधिसँग भएको बैठकअनुसार उपत्यका बाहिरबाट आउनेलाई पूर्णरुपमा रोक लगाउन सहयोग गरिएको बताउँछन् । प्रहरीले नाकामा रोक्ने गरेकामा यस क्षेत्रका स्थानीय तहले सहयोग गरिरहेका छन् । 
 
निकुञ्जबाट भित्रने मूल सडकमा नेपाली सेनाको समेत सुरक्षा छ । हिँडेर आउने बाटोमा भने सबैतिर सेना एवं प्रहरीको निगरानी नभएकाले यसमा सरोकार भएका निकायको ध्यान जानुपर्ने गोकर्णेश्वर-१ का बासिन्दा सोमबहादुर तामाङ बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप