बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब घरमाथि खस्यो यात्रुवाहक विमान, तस्विरमा हेर्नुहोस्

शुक्रबार, ०९ जेठ २०७७, २१ : २२
शुक्रबार, ०९ जेठ २०७७

पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो ।

कल साइन पीके८३०३ भएको विमानमा ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।

डन डटकमले सिन्ध स्वास्थ्य विभागलाई उद्धृत गर्दै हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यद्यपि, मृतक सबै विमानमा सवार थिए वा आवासीय क्षेत्रका थिए भन्ने खुल्न सकेको छैन । दुर्घटनामा तीन जना सकुशल रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सिन्धका स्वास्थ्यमन्त्रीका मिडिया कोओर्डिनेटरका अनुसार सकुशल रहेकामा जुबेर, ताहिरा र जाफर मसुद रहेका छन् । जाफर बैंक अफ पन्जाबका अध्यक्ष पनि हुन् ।

प्रत्यक्षदर्शीका अनुसार विमान दुई या तीन पटक अवतरणको असफल प्रयास गरेपछि दुर्घटनाग्रस्त बनेको थियो । ‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरूमाथि खस्यो,’ प्रत्यक्षदर्शी शकिल अहमदले भने ।

विमान अवतरण गर्नुभन्दा केही अघि मात्र दुर्घटनाग्रस्त बनेको थियो । लाइभएटीसी डट नेटमा उपलब्ध विमान चालक र एयर ट्राफिक कन्ट्रोलरबीच भएको अन्तिम संवादमा पाइलटले आफू ल्याण्ड गर्न असफल भएको र दोस्रो प्रयास गर्न गइरहेको बताएको सुन्न सकिन्छ । उनले विमानको इन्जिनमा समस्या रहेको पनि जानकारी गराएको सुन्न सकिने एपीले जनाएको छ । अन्त्यमा ‘मेडे मेडे मेडे’ भन्दै ट्रान्समिसन अन्त्य हुन्छ ।

कोरोनाभाइरसको महामारीका कारण बन्द रहेको हवाई सेवालाई सुचारु गरिएको केही दिनमा नै यो दुर्घटना भएको हो ।

यसअघि, सन् २०१६ मा पीआईए कै विमान उत्तरी पाकिस्तानबाट इस्लामावादसम्मको उडान भर्ने क्रममा आगलागी भएर ४७ जनाले ज्यान गुमाएका थिए । त्यस्तै सन् २०१२ मा भोजा एयरको बोइङ विमान रावलपिन्डीमा दुर्घटनाग्रस्त हुँदा १२१ यात्रु र ६ चालक दलका सदस्यले ज्यान गुमाएका थिए । सन् २०१० मा एयरब्लु एयरलाइन्सको विमान इस्लामावादमा दुर्घटना हुँदा १ सय ५२ जनाको मृत्यु भएको थियो ।​

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप