शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनासँगको लडाईँ जित्न विभिन्न देशबीचको शक्ति संघर्ष र युद्धहरु तुरुन्त रोक्नुपर्दछ : नेता खनाल

शुक्रबार, ०९ जेठ २०७७, २० : २८
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीमा वरिष्ठ नेता झलनाथ खनालले कोरोना महामारीले विश्वव्यापी अर्थतन्त्रलाई तहसनहस पार्दै गम्भीर आर्थिक चुनौतीहरु खडा गरिदिएको बताएका छन् । शुक्रबार एसियाली देशहरुको अन्र्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेता खनालले कोरोना महामारीका कारण अधिकांश देशहरूको आर्थिक वृद्धिदर नकारात्मक दिशातर्फ उन्मुख भएको बताए  ।

उनले भने, 'काम गरि खाने वर्गका मानिसहरु विशेषगरी आप्रवासी कामदारहरूका लागि यो महामारीको समय अत्यन्त कठिन भएको छ र उनीहरुले सबैभन्दा कष्टकर जीवन भोगिरहेका छन् ।'


नेपाल सरकारले कोरोना भाइरसविरुद्ध सबै सम्भावित उपायहरु अपनाएको खनालले बताए । 'मार्च २४ पछि देश बन्दाबन्दीमा छ । नेपालमा हालसम्म ५०७ सक्रमित भएका छन् र ३ जनाको मृत्यु  हुन पुगेको छ । नेपाल सरकारले ७५ हजार भन्दा बढी क्वारेन्टाइनहरू निर्माण गरेको छ । यसको अलावा देशै भरि आइसोलेसन वार्ड र प्रयोगशालाहरूको राम्रो व्यवस्थापन गरेको छ । हालसम्म १ लाख १८ हजार परीक्षणहरु गरिएका छन्,' उनले भने ।

उपयुक्त स्रोतको अभाव हुँदाहुँदै पनि भाइरस नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सेवासँग सम्बन्धित पूर्वाधारहरू देशै भरि विस्तार भइरहेका खनालको भनाइ छ ।

उनले भने, 'हाम्रो दक्षिण छिमेक भारतमा  कोभिड– १९ व्यापक रूपमा फैलिएको छ । एकातर्फ भारतमा काम गर्दै आएका नेपाली कामदारहरूको ठूलो संख्या नेपाल फर्कने क्रममा छ र अर्कोतर्फ अनियमित र छिर्न युक्त सीमाना भएको कारणले आज नेपाल ठूलो जोखिम र असुरक्षाको स्थितिमा छ ।'

विश्वव्यापी स्वास्थ्य आपतकालीन यस घडीमा राजनीतिक दलहरू र सरकारहरूबीच सहकार्य र एकता आवश्यक रहेको उनले बताए । कोरोना महामारीको बिरूद्ध लड्न आआफ्ना सरकारहरूलाई प्रोत्साहित गर्न एशियाली राजनीतिक दलहरूको बिचमा आपसी समझदारी, सहयोग र सामूहिक कार्य महत्वपुर्ण रहेको खनालले बताए ।

विश्वका सबै देशहरूले विगतका पाठहरूलाई आत्मसाथ गर्दै आफ्ना प्रयासहरूलाई अगाडि बढाउनुपर्ने उनले बताए । मानव र प्रकृति बिचको विश्वव्यापी सम्बन्ध निष्पक्ष र न्याय संगत हुनु आवश्यक रहेको खनालको भनाइ छ ।

 उनले भने, 'यस संकटको घडीमा महामारीको विरूद्ध लड्न सबै मानवीय प्रयासहरू  कोरोना नियन्त्रणमा केन्द्रित गर्नुपर्दछ साथै विभिन्न देशहरु बीचमा भइरहेका शक्ति संघर्ष र युद्धहरू तुरुन्त रोक्नुपर्दछ ।'

एसियाली राष्ट्रहरूले स्रोतको उचित उपयोग र विज्ञान र प्रविधिको उचित प्रयोग गर्दै आपसमा सौहार्दपूर्ण सहकार्यको उत्कृष्ट नमुना प्रदर्शन गरिरहेको उनले बताए । 

खनालले भने, 'यो सहकार्य र विश्वासलाई फराकिलो पार्नुपर्दछ र साझा शत्रुको रुपमा रहेको कोरोना भाइरसको बिरूद्ध लड्न आपसी विश्वासलाई थप सुदृढ पार्नु पर्दछ । हाम्रा साझा प्रयास र चाहनाले नै यो महामारी चाँडै नियन्त्रणमा आउनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप