शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गुल्मीका कोरोना संक्रमित मृत्यु प्रकरणः ‘चिकित्सकले बेहोस पारेपछि होसै खुलेन’

शुक्रबार, ०९ जेठ २०७७, १८ : ५०
शुक्रबार, ०९ जेठ २०७७

गुल्मी । श्रीमानको मृत्यु भएको दुई दिन भयो । श्रीमतीलाई पति वियोगको पीडा त छँँदैछ । त्यो बाहेक श्रीमान बिरामी छँदा अस्पतालका स्वास्थ्यकर्मीहरुले उपचारका क्रममा गरेको व्यबहारले मनमा जलन थपेको छ । त्यहीँ जलनका कारण उनी कहिले नेता, कहिले जनप्रतिनिधि र सञ्चारकर्मीहरूलाई फोन गरेर गुहार माग्दै भन्छिन्, ‘अस्पतालले मेरो श्रीमानको ज्यान लियो, न्याय दिनुप-योे ।’

रुपन्देहीको क्रिमशन अस्पतालले उपचारका क्रममा आफ्ना पतिलाई गरको व्यवहार उनलाई पटक्कै मन परेको छैन । सामान्य बिरामीपछि उपचारका क्रममा अस्पताल पुगेका श्रीमानको सोही अस्पतालमा केभिड १९ को परीक्षण गर्दा रिर्पोट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ आएपछि अस्पतालको आईसोलेशनमा राखेर उपचार गरेपनि झण्डै एक सातापछि मृत घोषणा गरियो । गुल्मीको मदाने गाउँपालिका वडा नम्वर ६ पुर्कोटदहका शिक्षककी श्रीमतीको रोदनले स्थानीयको मन पनि थामिएको छैन ।

‘मेरो श्रीमानलाई अस्पतालले चुँड्यो, न्याय दिलाइ दिनुप-यो । सञ्चारमाध्यम मार्फत गुहार माग्न चाहन्छु’ मृतक ४१ बर्षीय शिक्षककी श्रीमतीले शुक्रबार मदाने गाउँपालिकामा यस सम्वाददातासँग भेट हुँदा भन्दै थिइन् ।
‘उहाँको कुरा सुनि दिनु पर्यो, गाउँपालिका प्रमुख दानबहादुर केसीले पनि सञ्चार माध्यमका प्रतिनिधिहरूसँग अनुरोध गरे ।

गहभरी आँशु पार्दै मृतककी श्रीमतिले आफ्नो पीडाको पोको फुकाइन् । भनिन् ‘यहाँबाट सामान्य अवस्थामा साथीको मोटरसाइकलमा चढेर सन्धीखर्क जचाउन जानु भएको हो । त्यहाँबाट बुटवल पठाएपछि साँझ फोन गर्नु भएको थियो । त्यो नै उहाँसँग मेरो अन्तिम फोन बन्न पुग्यो । मेरो भाइ, देवर र छिमेकी त्यसै अस्पतालमा छन् । उनीहरुसँग मैले उहाँको स्वास्थ्य अवस्थाको बारेमा नियमित सोधपुछ गर्दै आएकी थिएँ ।’

उनले घटना विवरण सुनाउँदै गइन् । ‘जेठ १ गते दिउँसो कुरुवा र आफन्तजनलाई सोधपुछ नै नगरी इन्जेक्सन लगाएर ढाडबाट पानी निकालिएछ । जतिबेला मुखबाट रगत बगेर होसै गुमाउनु भएको जानकारी पाएकी छु, त्यसयता होसै खुलेन ।’

कुरुवा स्थानीय खिमबहादुर कुँवरले पनि आफूहरुलाई सोध्दै नसोधी बेहोस पार्ने इन्जेक्सन लगाएर चिकित्सकले ढाडबाट पानी झिकेपछि बिरामीको अबस्था गम्भीर भएको बताए । अवस्था गम्भीर बनेपछि पार नलाग्ने बुझेर हेलिकप्टरमार्फत काठमाडौं लैजान्छौ भन्दा समेत अस्पतालले नदिएको कुँवरको भनाइ छ । 
अस्पतालले अरुलाई नचुँडोस्
मृतक शिक्षककी श्रीमतीले छानविन नभएसम्म श्रीमानको शव नउठाउने अडान लिएकी थिइन् । तर रुपन्देही जिल्ला प्रशासनले सेना र प्रहरी लगाएर शुक्रबार शव उठाएको छ । 

स्वीकृति वेगर शव उठाएपछि परिवारजन आक्रोशित भएका छन् । सत्यतथ्य छानविन गरि दोषीलाई कारबाही हुनुपर्ने माग राख्दा राख्दै शव उठाएको भन्दै मृतककी श्रीमतीले भनिन्, ‘छानविन गरेर अस्पताललाई कारबाही हुनै पर्छ । मलाई पैसा चाहिँदैन । मबाट मेरो श्रीमान त अस्पतालले चुँड्यो तर अरु हरुलाई त्यसरी नचुडोस्’ मेरो माग छ ।

पत्याउनै सकिन्न
सुरुमा ती शिक्षकको स्वास्थ्य परीक्षण गरेका पुर्कोटदहका मेडिकल सञ्चालक बिष्णु भुसालले कोरोना संक्रमणबाट उनको मृत्यु भएको पत्याउने कुनै आधार नभएको बताए । बैशाख २८ गते आफ्नो मेडिकलमा आएर ज्वरो आयो टाउको दुख्यो भनेपनि चेक गर्दा ज्वरो नभएको भुसालले बताए ।

 त्यसपछि २९ गते पुन चेक गरेर औषधी दिएको उनले बताए । ‘त्यो औषधीले ठिक भयो भन्नु भयो । पछि  बैशाख ३१  बिहान पनि आउनु भयो । मैले चेक गर्दा उहाँमा जन्डिस देखा पर्यो । कलेजोमा पनि केही समस्या देखियो । विपी पनि कम देखियो र मैले सन्धिखर्कस्थित छाया पोलिक्लिनकका डाक्टर मोहन भुसालसँग परामर्श लिएँ । उहाँले यहाँ पठाइ दिनुस् भन्नुभयो र मैले त्यहाँ जान सुझाव दिएको हुँ’, भुसालले बेलीविस्तार सुनाए । 
 स्थानीय भोजेन्द्र भट्टराईको मोटरसाइकलमा उनलाई क्रिमशन अस्पतालमा पठाइएको थियो । अस्पताल पुगेपछि पनि उनले सामान्य रुघाखोकी, ज्वरो आएको मान्छेलाई  किन यत्रो अस्पताल पठाएको भनेर प्रश्न गरेका थिए । कलेजोको थोरै समस्या भएकोले पठाइएको भनेर जवाफ दिएको उनले सुनाए । 

‘डब्लुएचओले भनेअनुसारको कोरोना संक्रमणको लक्षण उहाँमा केही पनि थिएन । सन्धिखर्कमा चेक गर्दा पनि त्यस्तो लक्षण देखिएको थिएन । त्यसकारण उहाँमा कोरोनाका कारण मृत्यु भएको भनेर पत्याउने आधार नै छैन’ मेडिकल सञ्चालक भुसालको तर्क छ । कोरोना संक्रमितलाई कोरोना बिशेष अस्पतालमा नपठाइनु र ५ गते देखि बन्द कोठामा राखेर स्वास्थ्यकर्मीहरुले हेरविचार नगरि तड्पाएको आरोप पीडित श्रीमती र अन्य आफन्तले लगाएका छन् । 
तीनवटा गेट सहितको भेन्टिलेटरमा राखिएको, हेरचाह नै गर्न कोही नगएकाले ज्यान गएको मृतकका सालो विष्णु ओलीको दावी छ । तर अस्पतालले कुनै लापरवाही नगरेको अस्पताल सञ्चालक समितिका अध्यक्ष चिन्तामणि पाण्डेको भनाइ छ ।

मृतककी श्रीमतीले जिल्ला प्रशासन कार्यालय गुल्मी मार्फत रुपन्देही जिल्ला प्रशासनमा पठाउन लागेको निवेदनमा अस्पतालले अहिलसम्मको खर्च व्यहोर्नुपर्ने , कमजोरी स्वीकार गर्दै आगामी दिनमा दोहोर्याउन नहुने, शव व्यवस्थापनको जिम्मा लिनुपर्ने, मृतककी श्रीमती र छोरा छोरीको भविष्यलाई ख्याल गर्दै क्षतिपूर्ति दिलाइनुपर्ने लगातको मागदाबी गरिएको छ ।

 उनलाई  स्वास्थ्य परीक्षण गरिएको सन्धिखर्कको छाया पोलिक्लिनकका सवैजना स्वास्थ्यकर्मीको रिर्पोट नेगटिभ आइसकेको छ । मदानेबाट पठाइएको रिपोर्ट शनिबारसम्म आउने स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर भवानी प्रसाद शर्माले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप