शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशु ‘डिस्चार्ज’

शुक्रबार, ०९ जेठ २०७७, १५ : ५०
शुक्रबार, ०९ जेठ २०७७

काभ्रेपलाञ्चोक । कोरोना भाइसबाट मृत्यु भएकी सुत्केरीको नवजात शिशुको दोस्रोपटकको पिसीआर रिपोर्ट पनि नेगेटिभ आएको छ । धुलिखेल अस्पतालले सुत्केरी आमाको कोरोना भाइरसका कारण हप्ताअघि मृत्यु भएपछि शिशुको दुईपटक पिसीआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको जनाएको छ । 

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चेकी २९ वर्षीया सुत्केरीको कारोना भाइरसका कारण यही जेठ १ गते राति उपचारार्थ सो अस्पतालमा पुर्याइएको केही समयपछि नै मृत्यु भएको थियो । उनको १४ दिनको शिशुको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रशासकीय निर्देशक डा.रमेश माकजुले जानकारी दिए । उनका अनुसार आजै शिशुसहित आफन्तलाई अस्पतालबाट घर पठाइएको (डिस्चार्ज) छ । महिलाको शिशु, श्रीमान् तथा आमा र बहिनीलाई समेत आइसोलेसनकक्षमा राखी उपचार भइरहेको  निर्देशक डा.माकजुले बताए ।

उनका अनुसार शिशुलाई शुरुका दिनमा हल्का जण्डिस देखिएको र शरीरका आएका स–साना बिमिरा दैनिकरूपमा बालरोग विशेषज्ञको निगरानीले आजसम्ममा निको भएकाले डिस्चार्ज गरिएको हो । शिशुको दुईपटक र मृतक महिलाको आफन्तको पिसीआर रिपोर्ट नेगेटिभ आएको छ । 

अस्पतालले  डिस्चार्ज भएका शिशुसहितका आफन्तलाई सम्बन्धित जिल्लामा एक हप्ताको क्वारेन्टिनमा राख्न र क्वारेन्टिनबाट डिस्चार्ज गर्नुपूर्व आरडिटी गर्न सुझाव दिएको छ । ‘यसबीचमा नवजात शिशु वा परिवारका अन्य सदस्यमा कोभिड–१९ का लक्षण देखापरे मात्र पिसीआर परीक्षण दोहोर्याउनुपर्ने हुन्छ’, निर्देशक डा.माकजुले भने । उनका अनुसार १० दिनकी महिलाको कोरोनाका कारण मृत्यु भएलगत्तै उनका शिशुसहित आफन्तको परीक्षणका लागि स्वाब सङ्कलन गरी सावधानीपूर्वक आसोलेसनमा राखिएको थियो ।

मृतकका  श्रीमान्का अनुसार वैशाख २४ गते महाराजगञ्जस्थित शिक्षण अस्पतालमा सुत्केरी भएकी र २५ गते अस्पतालबाट डिस्चार्ज भइ सिन्धुपाल्चोकस्थित घर गएको केही दिनपछि उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । बाह्रबिसेस्थित अस्पतालमा आरडिटीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि उपचारार्थ धुलिखेल ल्याइएको परिवारले जनाएको थियो । गत शनिबार साँझमात्रै स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले ती महिला कारोना भाइरसका कारण मृत्यु भएको पुष्टि गरेको थियो । मन्त्रालयकाअनुसार कोरोनाबाट मृत्यु हुने ती महिला नेपालमा पहिलो घटना हो । ती महिलासहित नेपालमा हालसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप