शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

शिर झुकाएर होइन आँखा जुधाएर बहस गरौँ

शुक्रबार, ०९ जेठ २०७७, १५ : ०९
शुक्रबार, ०९ जेठ २०७७

नेपालले नयाँ राजनीतिक नक्सा जारी गरेसँगै नेपाल–भारत कूटनीतिक सम्बन्धमा नयाँ अवस्था सिर्जना भएको छ । नेपालले नयाँ नक्सा जारी गरेसँगै मनिषा कोइरालाले गरेको एक ट्वीटका कारण भारतीय मिडियामा हलचल पैदा भएको छ ।

 छोडिएका आफ्नो भूमिलाई समेटेर राजनीतिक नक्सा जारीसँगै खुसी व्यक्त गर्न पाउनु मनिषाको अधिकार पनि हो । तर भारतीय मिडियालाई नेपालले नयाँ नक्सा जारी गरेको पटक्कै मन परेन । भारतीय मिडियालाई मात्र होइन भारतलाई नै मन परेन । नेपालको राजनीतिक नक्सा अमान्य भएको स्टेटमेन्ट नै निकाल्न भ्यायो ।

हाम्रो लागि वर्षांैदेखि विवादित रहेको नेपाली भूमिलाई नक्सामा मात्र होइन फिल्डमा नै ल्याउने अवसर पनि सिर्जना भएको छ । नेपालले जारी गरेको नयाँ नक्साले नेपाल भारत सम्बन्धमा नयाँ परिस्थितिको सिर्जना भएको छ । सिमानाको बारेमा केही नहुनु भन्दा नक्सा जारी हुनु पनि ठूलो कुरा हो । त्यसैले नयाँ परिस्थितिको निर्माण भएको हो । हामीलाई हाम्रो सीमा विवादलाई अन्तर्राष्ट्रियकरण गर्ने मार्गसमेत प्रशस्त भएको छ । 

भारतीय मिडियाले नेपालका नेतालाई बहस कार्यक्रममा बोलाएर बहस गर्नु पनि नेपालका लागि राम्रो कुरा हो । यो विवादलाई हल गर्ने हामीसँग तीन विकल्प छन् । 

पहिलो भारतसँग शिर निहुर्‍याएर होइन, आँखा जुधाएर त्यो भूमि हाम्रो भएको प्रमाणसहित बहस गर्न जरुरी छ । दोस्रो त्यो भूमिमा हाम्रा सेना लगेर राख्ने र सुरक्षा गर्ने काम थाल्नुपर्ने छ । तेस्रो बहसमा पनि भारत मान्न तयार भएन भने विवादलाई अन्तर्राष्ट्रियकरण गर्न जरुरी देखिन्छ । 

त्यसो गर्दा हाम्रो निर्भरतामाथि भारतले नाकाबन्दी लगाउने खतरा उत्तिकै हुन्छ । ती सबै समस्यासँग जुध्ने मानसिकतासहित उचित कदम चाल्न जरुरी छ । त्यसको लागि हामीले आत्मनिर्भर अर्थतन्त्रको निर्माण र उत्पादनमुखी कार्यक्रम गर्नुपर्ने आवश्यकता हुन्छ । त्यसका लागि पनि केही समय लाग्न सक्छ । त्यसैले जनता पनि आगोमा भात पकाएर खान तयार हुन जरुरी छ । भारतसँगको यो विवादले नेपाल भारतको सरकार स्तरमा मात्र नभएर प्रत्येक नेपालीको चुल्हो चुल्होमा नयाँ समस्याको सिर्जना हुनेछ । ती सबै समस्यासँग जुध्न तयार भएर हामीले सीमा बहसलाई अगाडि बढाउन जरुरी छ । सरकारले गर्नुपर्ने तयारी त गर्दै गर्ला त्यसका लागि जनताले पनि तयारी गर्नुपर्ने देखिन्छ । 

सरकारले यो बेलामा सत्तापक्ष र प्रतिपक्ष नभनीकन नयाँ नक्साबारे सामूहिक धारण बनाइसकेको छ । अवको चाल्ने स्टेपको बारेमा पनि सबै राजनीतिक दलसँग बसेर साझा धारणा निर्माण गरी राष्ट्रिय एकता कायम गरी आफ्नो भूमि रक्षाका लागि सामूहिक धारणको निर्माण गर्नुपर्नेछ । अन्य विषयमा हजार असन्तुष्टि रहे पनि राष्ट्रियताको सन्दर्भमा एकता पैदा गर्नु आजको आवश्यकता हो । 

यो समयमा केही मान्छेलाई राष्ट्रियताले अलि बढी उत्ताउलो पनि पारेको छ । त्यो हाम्रा लागि त्यति शोभनीय विषय होइन । हिजो एक समय थियो । माओवादीहरु भरसँग युद्ध लड्ने भन्दै रुकुम रोल्पामा सुरुङ खनिरहेका हुन्थे । त्यसले आत्मरति बाहेक केही पूरा गर्न सकेन । आजकाल फेसबुकमा नाङ्गो खुकुरीको तस्बिर राखेर उत्ताउलो पोष्ट गर्नेहरु देख्दा त्यस्तै लाग्छ । के खुकुरी लिएर हामी हाम्रो भूमि जोगाउन सक्छौँ ? गम्भीर भएर सोचौँ । म कहिलेकहीँ सोचिल्याउँछु ती मान्छेहरूसँग देश प्रेमभन्दा डीभी भर्दा नपरेको झोंक मात्र छ । 

अहिले सरकारले नयाँ आवेगले होइन विवेक प्रयोग गरेर जारी गरेको छ तर नेपाली जनताहरु त्यसको गम्भीर्यतालाई नबुझी आवेग प्रयोग गरिरहेका छन् । लुटको स्वर्ग भत्कने भएपछि भारतीयहरुमा रुवाबासी चल्नु स्वाभाविक कुरा हो, त्यसलाई अतिरञ्जित गरेर नेपाली नेता र मिडियाबाट उत्ताउलो भएर प्रस्तुति गर्न दबाब दिन जरुरी छ जस्तो लाग्दैन । हिजोको समयमा नेपाललाई छुट्टै देशको रूपमा स्वीकार गर्न आनाकानी गर्नेहरुले नेपालका नेतालाई बोलाएर बहस गर्नु पनि त हाम्रो उपलब्धि नै हो । नयाँ नक्साले यो सबै परिस्थितिको निर्माण गरेको कुरा स्वीकार गरौँ । अन्यथा तपाईंहरुले भने झैँ खुकुरी लिएर सीमामा उभिएको भए यो परिस्थितिको निर्माण हुन सक्थ्यो कि सक्थेन । त्यति मात्र नभएर भारतको सचिव स्तरको कर्मचारीसँग शिर निहुराएर याचना गर्ने हाम्रा नेताहरुलाई सवक सिकाउँदै मिडियामा भारतीय थिङ्क ट्याङ्कसँग औँला ठड्याएर प्रश्न गर्ने हैसियतको निर्माण पनि त नयाँ नक्सा जारी गरेसँगै भएको हो । सुरुङ युद्ध वा खुकुरीको डरमा होइन ।

यो विवाद हाम्रा लागि हाम्रो स्ट्रेन्थ देखाउने सुन्दर अवसर पनि हो । हामीले हाम्रा दुई छिमेकीसँग हाम्रा कुराहरु प्रष्ट राखेर हाम्रो भूमि जोगाउन जरुरी छ । त्यो समय हामीले दुई छिमेकीमध्ये कोहीसँग पनि आसक्ति देखाउन जरुरी छैन । हामीमध्ये केहीलाई लागेको पनि छ । यो समय हाम्रो मुद्दामा चीन बोलिदियोस् तर सत्य त्यसो हुँदैन । किनकि चीन विश्वको शक्तिशाली राष्ट्रको रूपमा अगाडि बढिरहेको छ । यो अवस्थामा व्यापारिक र राजनीतिक हिसाबले चीनले भारतलाई कुनै पनि बाहनामा टाढा राख्न सक्दैन । बरु भारतलाई खुसी पारेर आफ्नो व्यापारिक केन्द्र बनाउन चाहन्छ । होइन भने नाकामा बाटो खोलेको कुरा चीनलाई जानकारी नहुने प्रश्न नै आउँदैन । 

बहसलाई खुला गरेर आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्दै राष्ट्रिय एकता कायम गर्दै हाम्रो भूमि जोगाउनका लागि यो समय नेपाल सरकार र नेपालीका लागि सुन्दर अवसर पनि हो । आवेगले होइन विवेकले निर्णय गरेर अगाडि बढौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सौगात पोखरेल
सौगात पोखरेल
लेखकबाट थप