शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिँजडाको सुगाझैँ भइयो

शुक्रबार, ०९ जेठ २०७७, १२ : ०४
शुक्रबार, ०९ जेठ २०७७

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका सदाबहार अभिनेता हुन् भुवन केसी । रिल लाइफमा थुप्रै अभिनेत्रीसँग रोमान्स गरेका केसीको रियल लाइफमा पनि रोमान्सका किस्साहरु त्योभन्दा कम छैनन् ।

४ दशक कलाकारिताको यात्रामा बिताएका केसीको यो क्षेत्रमा नायक, निर्माता र निर्देशकको परिचय बनेको छ । करिब आधा दर्जनभन्दा बढी फिल्मसमेत निर्माण गरेका केसीले केही फिल्म निर्देशन पनि गरेका छन् । केसी जोडिएका अधिकांश फिल्मले चर्चा र सफलता दुवै हात परेको देख्न सकिन्छ । पछिल्लो समय चलचित्र विकास बोर्डको अध्यक्ष पदको दौडमा रहेका केसी बाठा कलाकारको रूपमा समेत परिचित छन् ।

कोरोनाको कहरका कारण करिब दुई महिनादेखि देशमा जारी लकडाउनका कारण सर्वसाधारणझँै उनी पनि घरभित्र थुनिएर बसेका छन् । समाचार, फिल्म हेर्ने र घरको सामान्य काम सघाउने उनको अहिलेको दैनिकी हो । कतिपय कलाकारले लकडाउन सदुपयोग गर्दै नयाँ नौलो सिर्जनामा समेत लगाएका छन् । केसीले भने लकडाउनले आफ्नो तनाव मात्र बढाएको बताउँछन् । यिनै अभिनेता भुवन केसीको शब्दमा यस्तो छ उनको लकडाउन डायरी :

यो लकडाउने मेरो जीवन इन्ट्रेस्टिङ बनाउन सकेन । घरमै बस्यो, आकाशतिर हेर्यो, कहिले काँही टिभी हेर्यो । दुःख, समस्या, अप्ठ्यारा, दुर्घटना लगायतका कुरा समाचारमा सुन्यो, दिन बितायो । यस्तै छ लकडाउनको दिन चर्या ।

जिम क्लब धाउने, फुट्सल खेल्ने लगायत फिट्नेसका लागि आवश्यक क्रियाकलाप म पहिलेदेखि नै नगर्ने मानिस हो । त्यसले लकडाउनले मेरो फिट्नेसमा असर पुर्यायो भनेर मैले भन्न मिल्दैन ।

मेरो फिल्मी गतिविधिमा भने लकडाउनले असर पुर्याएको छ । वैशाखबाट नयाँ फिल्मको सुटिङ सुरु हँुदै थियो । त्यसका लागि धेरै तयारीसमेत सकिएको थियो । त्यो रोकियो । अब सुटिङ कहिले सुरु हुन्छ । यसै भन्न सकिने अवस्था छैन ।

कोरोनाको कहरका कारण सरकारले गरेको यो लकडाउन करिब दुई महिनादेखि जारी छ । अझै कतिसमय लम्बिने हो भन्न सकिन्न । लकडाउन सकियो भने पनि फिल्मी गतिविधि सुरु हुन छिटोमा पनि दुई तीन महिना लाग्छ होला ।

अहिलेको अवस्था, गतिविधि र बाहिरी माहोलका आधारमा भन्ने दुःखसँगै दिन बितिरहेको छ भन्नुपर्छ ।

पुस्तक पढ्दिनँ

जहिले कलेज छोडेँ त्यही समयदेखि नै मैले पुस्तक पढ्न छोडेँ । यो लकडाउनमा पनि साथीको रूपमा पुस्तक आजको दिनसम्म रोजेको छैन । कति पढ्नु, केके पढ्नु । पढेरभन्दा परेर धेरै कुरा सिक्न, जान्न सकिन्छ भन्ने मेरो मान्यता रहँदै आएको छ ।

अहिले घरमा बस्दा विभिन्न देशविदेशका फिल्महरु हेरिरहेको छु । फिल्म पनि कति हेर्ने । दिक्क लागिसक्यो ।

लकडाउनको परिस्थितिमा काम गर्ने इच्छाशक्ति पनि एक किसिमले डल हुँदो रहेछ । क्रिएटिभ बन्न खोजे पनि नसकिदो रहेन छ । लकडाउनको प्रभाव, समाचारमा देखाएको दुःख, समस्या, कोरोनाको असर घरिघरि सबकन्सेस माइन्डमा घुम्दो रहेछ । यसले गर्दा अरूका लागि लकडाउन क्रिएसनको माहोल भए पनि मेरा लागि फलदायी हुन सकेको छैन ।

क्रिएसनमा लाग्न सकिनँ

लकडाउन धेरै कलाकारले नयाँ सिर्जनाका लागि पनि सदुपयोग गरेको मिडियाबाट सुन्न, देख्न, पढ्न मिलेको छ । मैले पनि यो समय नयाँ क्रिएसन गर्दै नगरेको, गर्न नखोजेको भने होइन । यसरी गर्छु, यस्तो गर्छु भनेर जे गर्न थाल्यो । त्यो भने नसकिँदो रहने छ । किनभने यो लकडाउनमा कहीँकतैबाट राम्रो कुरो सुन्न मिलेको छैन । सबै बिर्सिएर एउटा काममा लाग्यो । एउटाले कोरोनाले यस्तो भएछ भनेर सुनाउँछ । फेरि एक दुई घण्टा पछि फ्रेस भएर सिर्जनातिर लाग्यो । अर्काेले यति नेपाली दाजुभाइ बोडरमा बिचल्ली छन् रे भनेर भन्छ । यस्तो माहोलमा नयाँ कुरा सिक्न, सिर्जना नसकिने रहेछ । नराम्रा धेरै कुराले घेरिरहेको हुनाले खास क्रिएसन गर्न नसकिने रहेछ ।

पहिलो अनुभव

लकडाउन मेरो जीवनको पहिलो अनुभव हो । धेरैका पनि यस्तै होला । यो समय हामी कलाकारले आम मानिसका लागि सकारात्मक सन्देश प्रवाह गर्नुपर्छ । यो असहज परिस्थितिमा तपाईंहरुले धैर्य गर्नुस्, हिम्मत नहार्नुस्, सधैँ यस्तो दिन रहँदैन, हरेक साँझ पनि बिहानी पनि हुन्छ । कोरोना हाम्रा लागि अवसर लिएर आएको पनि हुनसक्छ । यसपछि नयाँ अवसर पनि सिर्जना हुन सक्छन् भन्ने सान्त्वना दिने त एक किसिमले छँदैछ ।

तर यर्थातमा यो लागू कहीँकतै आफैमा नभएको पाइन्छ । एकछिन यी कुराले मन बहलाए पनि धेरै बेरसम्म शान्त रहन सकिँदो रहेनछ ।

सामाजिक सञ्जाल, मिडिया लगायत विभिन्न माध्यमबाट म केही साथीहरुले एक्सरसाइज गरिरहेको, खाना पकाइरहेको, खेतबारीमा तरकारीको काम गरेको तस्बिरहरु पनि देख्छु । यतिको लकडाउनको अवधिमा ती काम केही क्षण गरेको होला । त्यस्ता तस्बिरले उहाँहरु काममा हुनुहुन्छ भनेर भन्न मिल्दैन । किनभने त्यो एकछिन गरेको होला । म पनि त केही समय किचेनमा, बगैँचामा हुन्छु ।

लकडाउन केही दिन, केही साता होला भन्ने लागेको थियो । अहिले त करिब दुई महिना पुग्न लागिसक्यो । मेरो विचारमा यसले हरेक मानिसलाई एक किसिमले असर पुर्याएको छ । यो अवस्थाले हरेक मानिसलाई एक किसिमले डिप्रेसन र मोरल डाउन गराएको छ । तर हामीले यस्तो कुरा गर्दा जनमानिसमा राम्रो सन्देश जाँदैन र भन्नु पनि हँुदैन । तर अहिलेको वास्तविकता भने यही हो । नढाँटी भन्नुपर्दा हाम्रो मोरल डाउन भएको छ ।

पिँजडाको त्यो सुगाझैँ

हामी सेलिब्रेटीको यसरी घरमा थुनिएर बस्ने बानी नै छैन । कि सुटिङ कि मिडिया कि कार्यक्रम त कि साथीभाइमाझ हामी सधैँ रहने गर्दथ्यौँ । अहिले एक किसिमले घरमै थुनिएर रहनुपर्दा जेलको जीवन कस्तो हँुदो रहेछ त भन्ने अनुभव भएजस्तो हँुदो रहेछ । जे खाए पनि, जसरी बसे पनि एउटै रुटिन सधैँ हुँदा दिक्दार लाग्दो रहेछ ।

बालक बबुरो द्विजसुक नाम

हुँ म परेको छु पिँजडामा

मकन हरे शिव शान्ति र चैन

सपनाभर पनि रति भर छैन

यो मैले सानैमा पढेको कविता हो । यो कविता पिँजडाभित्रको सुगाको हो । त्यो सुगाको जस्तै स्थिति अहिले म आफैले महसुस गरिरहेको छ ।

यो लकडाउनमा केही सिक्न पनि पाइयो । केही उपलब्धि पनि भए । पहिले पहिले मलाई मेरो कपडा लगायत घरका सरसामान कहाँ के छ भनेर केही थाहा थिएन । अहिले घरमा कहाँ के छ भनेर थाहा पाए । मेरो यति धेरै लुगा छ कि कतै जानुपर्यो भने कुन लुगा कहाँ छ भनेर खोज्न करिब एक डेढ घण्टा लाग्थ्यो । अहिले भने आफ्नो पहिरन लगायत सबैको जानकारी पाए । घरको सबै सरसामानको जानकारी यो लकडाउनको मेरो ठूलो उपलब्धि हो ।

कोही प्रेमको दौडमा

गहिरिएर हेर्ने हो भने यो लकडाउनले हामीलाई जीवन बुझाएको छ । हाम्रो दौडको महत्त्व दर्शाएको छ ।

कोही पैसा कमाउने, कोही पोस्ट कमाउने, कोही नाम कमाउने, केही प्रेम लगायतको दौडमा संसारका मानिसहरु सधैँ हुन्थे । मानिसलाई जहिले पनि हतार हुन्थ्यो । जहिले पनि भिडभाडमा हुन्थे । यो दौड नै दौडको दुनियाँमा अहिले पूर्णबिराम लागेको छ । यसले शान्तिको माहोल सिर्जना गरेको छ ।

पहिले हाम्रो देश ऋषिमुनिको देश, तपोभूमिको देश भनेजस्तै अहिलेको माहोलले शान्ति महसुस गराएको छ । आफन्त, आफ्ना नजिककासँगै बस्नर दाल र भात मात्र भए पनि पेट भर्ने खाएर रहन सिकाएको छ । दौडधुपका बीच खाने चौरासी व्यञ्जनभन्दा अहिले अवस्था नै ठीक रहेछ भन्ने महसुस गरायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप