शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोनाभाइरस भ्याक्सिनको विषयमा शीर्ष वैज्ञानिकले यस्तो किन भने ?

शुक्रबार, ०९ जेठ २०७७, ०८ : ५०
शुक्रबार, ०९ जेठ २०७७

ह्यूमन इम्युनोडेफिशियेन्सी भाइरस (एचआइभी) माथि अनुसन्धान गर्ने अमेरिकाका एक नामी वैज्ञानिकले कोरोनाभाइरसको भ्याक्सिन चाँडै बन्ने कुरामा आफूलाई शंका भएको बताएका छन् ।

विलियम हेसलटाइनको क्यान्सर, एचआइभीसमेत अन्य प्रोजेक्टमाथि गरिएको कामको अत्यधिक चर्चा भएको छ । उनलाई कोभिड–१९ को खोप कति छिटो विकसित होला भन्ने प्रश्न सोधियो ।

यसको जवाफमा उनले समाचार एजेन्सी रोयटर्सलाई भने, ‘म यसको प्रतिक्षा गर्न चाहन्नँ किनभने मलाई लाग्दैन कि निकट भविष्यमा यो सम्भव छ ।’

उनले थपे, ‘कोरोनाभाइरस महामारी रोक्नका लागि बिरामीको उत्कृष्ट तरिकाले परीक्षण गर्नु, उनीहरुको सही तरिकाले खोजी गर्नु र जहाँ संक्रमण फैलन्छ, त्यहाँ उनीहरुलाई कडा आइसोलेशनमार्फत् रोक्नुपर्ने हुन्छ ।’

अमेरिकी सरकारलाई सल्लाह दिँदै उनले भने, ‘उनीहरुले खोपको प्रतिक्षा गरेर बस्नु हुँदैन । यदि शीर्ष नेताहरुले खोप तयार भएपछि गरिएको घोषणाको आधारमा नै लकडाउनको प्रतिबन्धमा छुट दिने निर्णय गर्ने भनेर सोचिरहेका छन् भने यो रणनीति सही होइन ।’

अन्य किसिमका कोरोनाभाइरसका लागि तयार गरिएको खोपले नाकलाई संक्रमणबाट सुरक्षा दिन विफल भएका छन् । नाकबाटै भाइरस शरीरभित्र प्रवेश हुने सबैभन्दा धेरै आशंका रहन्छ ।

विलियम हेसलटाइनले भने, ‘कुनै प्रभावकारी उपचार वा खोप बिना नै कोरोनाभाइरसलाई नियन्त्रण गर्न सकिन्छ । यसका लागि संक्रमणको सही पहिचान आवश्यक छ । जो व्यक्ति संक्रमित छन् उनीहरुलाई आइसोलेशनमा राख्नु सबैभन्दा प्रभावकारी हुन्छ । अन्य व्यक्तिहरुले हात धोइरहने, मास्क लगाउने र अत्यधिक प्रयोग हुने स्थानलाई सफा राख्ने हो । यति गरे यो संक्रमणमा निकै कमी आउनसक्छ ।’

विलियम हेसलटाइन मान्छन् कि चीन र अन्य एशियाली देशले यो वैकल्पिक रणनीतिलाई निकै प्रभावकारी तरिकाले लागू गरेका छन् जबकि अमेरिकामा यस्तो देखिएको छैन । यहाँ संक्रमित व्यक्तिहरुलाई कडा आइसोलेशनमा राखेको आफूले नदेखेको उनले बताएका छन् ।

उनका अनुसार चीन, दक्षिण कोरिया र ताइवानले यो तरिकाले कोरोनाभाइरसको संक्रमण दरलाई कम गर्न सफल भएका छन् जबकि अमेरिका, रुस र ब्राजिल यसो गर्न विफल भए ।

प्राध्यापक विलियम भन्छन्, ‘जनावरमाथि कोभिड–१९ को रिसर्च भ्याक्सिन प्रयोग गर्दा यसमा बिरामीको शरीरमा विशेषगरी फोक्सोमा संक्रमणको असर कम भइरहेको देखिएको छ ।’

केही देशमा प्लाज्मा थेरापीको पनि ट्रायल चलिरहेको छ । यो थेरापीमा कोभिड–१९ बाट ठिक भएका बिरामीको शरीरबाट एन्टीबडी लिएर संक्रमित बिरामीको शरीरमा राख्ने गरिन्छ । यसमार्फत् बिरामीको कोरोनाभाइरससँग लड्ने क्षमता पनि बढ्ने अनुमान गरिएको छ ।

केही औषधी कम्पनीले अब यो थेरापीलाई मध्यनजर गर्दै उत्कृष्ट र रिफाइन्ड सिरम तयार गरिरहेका छन् जसमार्फत् कोभिड–१९ का बिरामीलाई कम गर्ने सम्भावना छ । प्राध्यापक विलियम पनि यो विधि सफल हुने कुरामा निकै सम्भावना भएको मान्यता राख्छन् ।

उनका अनुसार यो भविष्यमा यसको पहिलो उपचार प्रमाणित हुनसक्छ किनभने हाइपरइम्युन ग्लोब्यूलिन भनिने यो एन्टीबडीले मानव शरीरको हरेक सेलमा गएर भाइरसलाई नष्ट गर्ने क्षमता प्रदान गर्छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप