शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजेश हमाल भन्छन्, ‘जे नेपालको हो, त्यहि मात्र फिर्ता मागेका हौं, बढी होइन घटी पनि मान्य छैन’

बिहीबार, ०८ जेठ २०७७, १६ : ०७
बिहीबार, ०८ जेठ २०७७

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समावेश गरी संसोधन गरेको नयाँ नक्सा सार्वजनिक भएपछि भारतीय मिडिया नेपालमाथि बेस्सरी खनिए ।

उता भारतले नेपालमाथि तथानाम टिप्पणी गरेको छ भने यता पनि विभिन्न क्षेत्रका व्यक्तित्वले यसप्रति आफ्नो धारणा राख्न थालेका छन् ।

यही विषयमा नेपाली सिने जगतका महानायक राजेश हमाललले पनि लिम्पियाधुरा र कालापानीबारे आफ्नो धारणा फेसबुकमार्फत् राखेका छन् । उनले फेसबुक पेजमा अंग्रेजी भाषामा यसबारे धारणा सार्वजनिक गरेका हुन् । जसको केही अंश यहाँ अनुवाद गरेर हालिएको छः

म विशेषतः आफूलाई राजनीतिमा रुची नभएको मानिसको रुपमा हेर्ने गर्दछु । धेरै वर्ष अघि कलेजमा हुँदा मेरा ‘क्रिटिकल साइन्स’का शिक्षकले भनेको कुरा मलाई अझै पनि राम्रोसँग याद छ – ‘जब तिमी कुनै राज्यमा बस्छौ, तिमी राजनीतिबाट टाढा त बस्न सक्छौ तर राजनीति तिमीबाट टाढा बस्न सक्दैन ।’

र यतिका वर्षसम्म मेरो अनुभवले पनि मलाई ठ्याक्कै यस्तै सिकाएको छ ।

नेपालमा अहिले जुन विषयको उठान भइरहेको छ, यो राजनीतिभन्दा पनि माथिको विषय हो । नेपाल र भारतबीचको सीमा विवादलाई म खासमा दुई छिमेकीबीचको गलत बुझाई भन्न चाहन्छु । यो विवाद हो । यो राजनीतिभन्दा माथि छ किनभने यसले हामी सबैमाथि प्रभाव पारेको छ । यसले जुनसुकै समुदाय, जाती, वर्ग, राजनीतिक विचार भएकाहरुको भावनामाथि प्रहार गरेको छ ।

यो घटनापछि धेरैजसो नेपालीले आफ्नो गौरवमाथि गम्भीर आघात पुगेको अनुभव गरे । एक स्वतन्त्र, सार्वभौम राष्ट्रको नागरिक हुनुको एउटा बलियो आधार बेस्सरी हल्लिएको छ । अहिलेको यो स्थितीको विकासलाई हेर्ने हो भने, यो पूर्ण रुपमा असह्य र कुनै पनि स्थितीमा मान्य छैन ।

यो राष्ट्र हो । एउटा यस्तो देश जसलाई हाम्रा पितापूर्खाहरुले सबै पृष्ठभूमि, जाती, धर्मका नेपालीसँग मिलेर आकार दिए । म यो भन्दिनँ कि हामीले विगतमा कुनै कमजोरी र सम्झौता गरेनौं । तर विगतमा हामीले जे जति त्याग गरेका छौं, त्यो मात्रै एउटा कारणले गरेका थियौं र त्यो हो स्वतन्त्रता र सार्वभौमसत्ताको कायम र संरक्षण । र अहिले हामीले जसलाई ‘नेपाल’ भनिरहेका छौं, त्यो कुनै मूल्य नचुकाई बनेको आकार होइन । तसर्थ, नेपालको भूमि यस्तो हो, जसलाई यो राष्ट्रका जनताले कुनै पनि परिस्थितीमा सम्झौता गर्न तयार छैनन् । र यो ठूलो कुरा पनि होइन । भारतले पनि यो कुरा राम्ररी बुझेको छ, ऊ यो भावनासँग वाकिफ छ ।

My View on Limpiyadhura and Lipulekh..

Posted by Rajesh Hamal on Wednesday, 20 May 2020

नेपालको जनसंख्या पहिलेको जस्तो कदापी छैन । अहिलेको जनसंख्याले कुनै पनि हालतमा अन्याय सहँदैनन् । तसर्थ यो नेपाल सरकारको मात्र मुद्दा होइन, यसलाई देशका थुप्रै युवाले निकै चासो देखाउँदै अँगालेका छन् ।

मलाई के अनुभूती भइरहेको छ भने, अहिलेको यो सीमा विवाद निकै लामो समयसम्म रहिरहनेछ । दुई छिमेकी राष्ट्र जसको मूल्य मान्यता समान छ, समान संस्कृती र परम्परा छ, उनीहरुबीचको यो ‘डेडलक’ ले दुई देशलाई मात्रै नभई यसले यो क्षेत्रमा अति आवश्यक विकास र शान्तिमा खलल पुर्याउँछ ।

यसमा कुनै शंका छैन कि भारत एउटा शक्तिशाली देश हो, भारतको संसारभरी नै इज्जत र सम्मान छ । त्यसकारण यस्तो देशले केही हदसम्मको उदारता देखाउँदै छिमेकी राष्ट्रसँग उपयुक्त व्यवहार गर्नुपर्छ ।

नेपालले आफ्नो जे हो, त्यहि मात्रै मागेको छ, त्योभन्दा बढी खोजेको छैन र कम पनि सहने छैन । नेपाली जनताले भारतसँग स्थायी सौहार्दपूर्ण सम्बन्ध चाहन्छ । भारतीय सरकारले नेपालप्रति आत्मीय व्यवहार देखाएका बेला नेपालीहरुले पनि खुल्ला हृदयले आत्मियता प्रदर्शन गर्ने गरेको छ ।

मोदी पहिलोपटक भारतीय प्रधानमन्त्रीको रुपमा नेपाल आउँदा नेपाली जनताले उनलाई रकस्टार जस्तो व्यवहार गरे ।

नरेन्द्र मोदीले नेपालको विनाशकारी भूकम्पपछि नाकाबन्दी लगाएको घाउ कम्तीमा पनि यो पीढिका लागि गहिरो घाउ बनेको छ ।

तसर्थ असामयिक नाकाबन्दी, असन्तुलित सन्धि, समाधान नगरिएको सीमा विवाद र हाम्रा कमजोर नेताहरुको फाइदा उठाइनुले यहाँको राष्ट्र र जनताबीच रोष पैदा गर्छ ।

अहिले भारतले लिम्पियाधुरा, लिपुलेकमाथि जुन कदम उठाएको छ, यसले अप्रत्यासित रुपमा विशाल प्रतिक्रिया पाइरहेको छ । यो दुबै देशका लागि कुनै पनि अवस्थामा फाइदाजनक छैन । यसको परिणाम दुबै देशका लागि सोचेभन्दा निकै धेरै हानिकारक हुनेछ ।

हामी नेपाली सीमा विवादलाई गलत बुझाईको रुपमा हेर्छौं । हामी भारतबाट हाम्रो आफ्नो भूमि फिर्ता मागिरहेका छौं, सबै ऐतिहासिक दस्तावेजले लिम्पियाधुरा र लिपुलेक नेपालको भूमि भएको स्पष्ट देखाउँछ । तसर्थ, एउटा राष्ट्र र यो देशको नागरिक भएको नाताले हामीले हाम्रो निकै मिलनसार छिमेकीलाई नम्र भएर इतिहासको पाना र आँकडा हेर्न आग्रह गर्छौं । यो मुद्दालाई निष्पक्ष, न्यायपूर्ण, सौहार्दपूर्ण कुटनीतिक ढङ्गबाट सल्टाउन माग गर्छौं किनभने यस्तो विरोधी वातावरण दुबै देशका लागि मात्रै नभई पूरा क्षेत्रका लागि हानिकारक छ ।   

म विश्वस्त छु कि नेपाल–भारतबीचको उतारचढावयुक्त सम्बन्धका बाबजुद भारतले नेपालीलाई खुसी तुल्याउने समाधान निकाल्नेछ । नेपालीले न्याय पाए भन्ने प्रकारले भारतले निर्णय गर्ने कुरामा पनि म आशावादी छु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप