शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गुल्मीका कोरोना संक्रमितको मृत्यु प्रकरण : अस्पतालले उपचारै गरेन भन्छन् आफन्त

बिहीबार, ०८ जेठ २०७७, १३ : ४७
बिहीबार, ०८ जेठ २०७७

‘हामी वैशाख ३१ गते साँझ क्रिमसन अस्पतालमा उहाँलाई लिएर आएका थियौं । जेठ २ गते मैले उहाँलाई खुवाउन चिया र बिस्कुट किनेको थिएँ । उहाँले आफै खान सक्नुहुन्न कि भनेर मैले खुवाइदिन खोजेँ । उहाँले पर्दैन म आफै खान्छु भनेर खानुभयो’, कोरोनाबाट बिहीबार रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीको मदाने गाउँपालिका वडा नम्बर ६ का ४१ वर्षीय पुरुषका आफन्त (सालो) विष्णु ओलीले रातोपाटीलाई सुनाए । उनले जेठ ५ गते भिनाजुमा कोरोनाको संक्रमण पुष्टि भएसँगै प्रभावकारी उपचार नपाएको दावी गरेका छन् । 

 ‘जेठ ५ गते उहाँमा कोरोना संक्रमण भएको पुष्टि भनिएको दिनदेखि उहाँमाथि अमानवीय व्यवहार  भयो । त्यस दिनदेखि उहाँलाई राखिएको कोठा बन्द गरियो, कोही पसेनन्’ उनले भने । 

 उनले बुधबार मिडियामा उहाँको बारेमा विभिन्न खबर आएपछि मात्र थोरै भएपनि भिनाजुले उपचार पाएको आफूले महशुस गरेको बताए ।

 ‘हिजो बिहान उहाँको बारे समाचार आएपछि जिवितै छन् भनेर हामीलाई देखाउन  बोलाइयो’, उनले भने, ‘भित्र पस्नका लागि तीन वटा गेट छन् । पिपीपीई लगाएका डाक्टरहरु तेस्रो गेटमा आएर देखाए । उहाँको सास छ मृत्यु भएको छैन भने । फेरि आज बिहान पौने सात बजे बोलएर मृत्यु भएको कुरा सुनाएका हुन् ।’

 अहिले उनीसहित छिमेकी खिम बहादुर कुँवर र मृतकका भाइसहित ३ जना कुरुवालाई अस्पताल कै क्वारेन्टाइनमा राखिएको छ। उनका अनुसार अस्पतालको आईसीयुमा राखिएपनि कोठाको झ्याल खुल्लै राखिएकाले हेर्न सकिन्थ्यो भने हेर्दा कुनै औषधि चढाइएको देखिँदैनथ्यो ।  ‘हामी क्वारेन्टाइनमा रहे पनि उहाँलाई राखिएको कोठाको झ्याल खुल्ला थियो   । हामी हेर्न गैरहन्थ्यौं । झ्यालबाट हेर्दा उहाँलाई चढाउनु पर्ने औषधि चढाइएको थिएन, त्यतिकै थियो’, ओलीले भने, ‘ भेन्टिलेटरमा दिनको ५५ सय लाग्छ भन्दै थिए, हिसाबकिताब चाहिँ भएको छैन ।’

 हिजोसम्म मृत्यु नभएको र आफूले देखेको कुरा बताउँदै उनले विभिन्न समाचार आएपछि अस्पतालमा खैलाबैला मच्चिई आफूहरुलाई देखाउनका लागि उपचार गरेजस्तो गरेको दुःखेसो पोखे । ‘५ गतेदेखि हिजोसम्म कोही भित्र छिरेनन् , थुनेरै मारेजस्तो  महसुस गरेका छौँ,  उनले भावुक हुँदै रातोपाटीलाई बताए । 

भेन्टिलेटरमा राख्नुअघि सो अस्पतालमा करिव डेढ लाख खर्च भएको उनको भनाइ छ । बुटवलमै बस्ने मदाने गाउँपालिका निवासी गुनाराम घिमिरेले पनि उपचारमा लापरबाही भएको आफूले सुनेको बताए। त्यस गाउँपालिकाका प्रमुख प्रशसकीय अधिकृत सुरेश भण्डारीले पनि कुरुवाहरुबाट त्यस्तै गुनासो आएको बताए । 

कैयौं कोरोनाभाइरस संक्रमित उपचार गरेर फर्किएको सुनिए पनि त्यस अस्पतालमा उपचार गराएका गुल्मीका एक विद्यालयका शिक्षक समेत रहेका संक्रमितलाई गरेको भनिएको व्यवहारले थप दुःख लागेको मदानेका स्थानीयहरुले  बताएका छन् । 

नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले संक्रमितलाई कोरोना विशेष अस्पतालमा लानुपर्नेमा त्यही उपचार गराउनु नै गल्ती भएको बताए । 
उनले भने, ‘उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो भने त तत्काल कोरोना विशेष अस्पतालमा लैजान पर्ने हो । के त्यो अस्पताल कोरोना विशेष अस्पताल थियो र ? अहिलेसम्म त्यहाँ राखियो ? यो आफैमा रहस्यमय छ ।’
यता क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणि पाण्डेले भने आफूहरुमाथि लागेको आरोपको खण्डन गर्दै अस्पतालले बिरामीलाई बचाउन सक्दो प्रयास गरेपनि नसकेको बताए । 

‘उहाँलाई बचाउन पाए अस्पतालको इज्जत र गौरव बढ्छ भन्ने लागेको थियोे तर बचाउन सकिएन’, उनले भने, ‘कतिपय मिडियाले पैसाको बार्गेनिङका लागि मरेको मान्छेलाई पनि नमरेको भन्यो भनेर लेखे तर होइन । अहिले पनि हामी पैसाको छुचो कुरा गर्दैनौं  ।’
 उनले थपे, ‘पैसा सरकार वा परिवार कसले दिने भनेर कुरै गरेका छैनौं । यो मानवीयताको सवाल हो ।’

उनले कोरोना पुष्टि हुनासाथ प्रदेश सरकारलाई आफूहरुले बिरामीलाई कोरोना विशेष अस्पतालमा लैजान भनेपनि नमानेको आरोप लगाए । 

वैशाख अन्तिम सातादेखि ज्वरो,रुघाखोकी तथा जन्डिस देखिएपछि क्रिमसन अस्पतालमा भर्ना भएका ४१ वर्षीय मृतकमा गत सोमबार कोरोना संक्रमण पुष्टि भएको थियो । 

सुरुमा ज्वरो र रुघाखोकीको लक्षण देखिएपछि संक्रमितले स्थानीय स्वास्थ्य चौकीमा परीक्षण गरी टाइफाइडको औषधि खाएका थिए। यद्यपी निको नभएपछि पुनः परीक्षण गर्दा उनमा जन्डिस र मिर्गौला समस्या देखिएको भन्दै बुटवल पठाइएको थियो।

गाउँबाट एक जना आफन्तसँग मोटरसाइकलमा अर्घाखाँचीको सन्धिखर्कसम्म पुगेका उनलाई त्यहाँबाट एम्बुलेन्स मार्फत क्रिमसन अस्पताल पठाइएको थियो।

जेठ १ गतेदेखि अस्पतालको आइसियुमा राखी उपचार थालिएको उनमा कोरोना संक्रमण पुष्टि हुनुअघि राम्रै उपचार भएपनि पुष्टि भएपछि भने उपचार नपाएको आफन्तको दावी छ । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप