बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गाविस सचिवको कमाई २६ करोड : जहाँ गयो, त्यहीँ घर जग्गा !

१७ करोड बढी भ्रष्टाचार गरेको भन्दै अख्तियारबाट मुद्दा दायर
बुधबार, ०७ जेठ २०७७, १७ : ००
बुधबार, ०७ जेठ २०७७

गाविस सचिव अर्थात् खरिदार पदबाट सेवा सुरु गरी अधिकृत पदबाट अवकाश लिएका व्यक्तिले आफ्नो जीवनकालका कति कमाई गर्लान् ? उत्तर सहज छ, त्यस्तै हदै कमाए चार वा पाँच करोड ।

तर स्याङ्जाबाट गाविस सचिवमा जागिर सुरु गरेका एक व्यक्तिले आफ्नो जागिरे अवधिमा २६ करोड कमाई गरे । तर त्यसमध्ये १७ करोड ८३ लाख रुपैयाँ बराबर सम्पत्तिको भने स्रोत नै खुल्न नसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्यालविरुद्ध भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अर्यालले २०३९ साल साउन १ गते जिल्ला विकास समितिको कार्यालय स्याङ्जाबाट गाविस सचिव पदमा नियुक्ति लिई ३७ वर्ष सेवा गरेको देखिन्छ । २०३९ साल साउनमा सरकारी सेवामा प्रवेश गरेका ऋषिराम अर्यालले २०७६ असार मसान्तसम्म काम गर्दा २६ करोड ६० लाख ६९ हजार ६२ रुपैयाँको कारोबार गरेको देखिएको अख्तिायरको निस्कर्ष छ । सोही अवधिमा उनले ८ करोड ७७ लाख २७ हजार ४ सय ८३ रुपैयाँ मात्रै वैद्य ढङ्बाट आर्जन गरेको देखिएको अख्तियारको निस्कर्ष छ ।

विभिन्न स्थानमा गाविस सचिव र नगरपालिकामा कार्यकारी निर्देशक थिए अर्याल

अकुत सम्पत्ति आर्जनको आरोपमा भ्रष्टाचारको मुद्दा दर्ता गरिएका अर्याल आफ्नो सेवा अवधिमा काठमाडौं लगायतका विभिन्न जिल्लामा गाविस सचिव भइ काम गरेको देखिएको छ । अर्याल काठमाडौँको धापासी, टोखा सरस्वती र भीमढुङ्गा गाविस तथा अवकाशकालमा टोखा नगरपालिकाको कार्यकारी अधिकृतसम्म बनेको देखिएको छ । यिनै स्थानहरुमा रहँदा पदको दुरुपयोग गरी अकुत सम्पीत्त कमाएको देखिएको अख्तियारले दाबी गरेको छ ।

जहाँ सचिव भयो, त्यहीँ घर जग्गा जोड्थे अर्याल

अवकाशप्राप्त सरकारी कर्मचारी अर्याल जुन स्थानमा गयो, त्यहीँ जग्गाजमिन जोड्ने गरेको देखिएको अख्तियारले जनाएको छ । अख्तियार स्रोतका अनुसार अर्याल आफू जुन स्थानमा सरुवा भयो त्यही स्थानमा एकाएक घर जग्गा जोडिएको देखिएको छ । यद्यपि उनले अर्को स्थानमा जग्गा वा घर खरिद गर्दा पहिलेको स्थानमा विक्री समेत नगरेको देखिएको अख्तियारले जनाएको छ ।

श्रीमती र छोराहरुको नाममा सम्पत्ति खरिद

भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको आरोप लागेका अर्यालले अधिकांश सम्पत्तिहरु आफ्नो श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल तथा छोराहरु सुशिल अर्याल र सुनिल अर्यालको नाममा राखिएको पाइएको छ । अर्यालले विभिन्न स्थानमा घरजग्गा, शेयर खरिद गरी श्रीमती र छोराहरुको नाममा राखेको पाइएको छ । त्यसैगरी अर्यालले कागज उदोगसमेत सञ्चालन गरेको पाइएको छ ।

आफ्नो पदीय दुरुपयोग गरी भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाएको भन्दै पूर्व गाविस सचिव ऋषिराम अर्यालविरुद्ध अख्तियारले जेठ ७ गते विशेष अदालत काठमाडौंमा १७ करोड ८३ लाख रुपैयाँ बिगो र जरिवानाको माग गर्दै रीट दायर गरेको हो ।

अर्याललाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग) दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम अकुत सम्पत्ति जफत गरी जफत गरिएका सम्पत्तिबाट नपुग हुन आएको बिगोसमेत कानून बमोजिम असुल गरी पाउन माग गरिएको छ । अर्यालसँगै निज ऋषिराम अर्यालकी श्रीमती लक्ष्मीदेवी उपाध्याय अर्याल र छोराहरु सुशिल अर्याल तथा सुनिल अर्याल समेतलाई सम्पत्तिहरु जफत प्रयोजनार्थ प्रतिवादी बनाई मुद्दा दायर गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप