शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपालमा कोरोनाबाट दुई जनाको मृत्यु, तर लक्षण किन फरक-फरक ?

के नेपालमा भएका दुवै मृत्यु कोरोनाको कारण नभई अन्य कारणबाट भएको हो ?
मङ्गलबार, ०६ जेठ २०७७, १६ : ५२
मङ्गलबार, ०६ जेठ २०७७

नेपालमा ४०० बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ भने २ जनाको मृत्यु भएको छ । त्यसैगरी ३६ जना निको भइसकेको सरकारी तथ्याङ्क छ । कोरोनाभाइरसको संक्रमण भएमा सामान्यतया ज्वरो आउने, सुख्खा खोकी लाग्ने, रुघा लाग्ने, स्वास फेर्न गाह्रो हुने, जीउ गल्ने, जिव्रोले स्वाद थाहा नपाउने र विस्तारै निमोनिया हुने लक्षण देखिन्छ । तर नेपालमा धेरैजसोमा कोरोनाको सामान्य लक्षण पनि नदेखिइ निको भएको उदाहरण छन् भने मृत्यु भएका दुईजनामा पनि फरक–फरक लक्षण देखिएका छन् ।

अनौठो त के छ भने बाँकेको नरैनापुरको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय युवामा झाडापखाला देखिएको थियो । उनको ज्वरो आउनुका साथै पखाला र तारन्तार बान्ता भएपछि मृत्यु नै भयो । दुर्भाग्य उनले सामान्य उपचार पनि नपाएको स्थानीयको गुनासो छ । यता सिन्धुपाल्चोकी महिलामा निमोनिया र स्वास–प्रश्वासमा समस्या देखिएको थियो । र, दुवैजनाको कोरोना (पीसीआर प्रविधिबाट गरिने) परीक्षण मृत्यु पश्चात मात्र भएको थियो ।

जनस्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरु यी दुवै मृत्यु कोरोनाले भन्दा पनि उपचारको अभावमा भएको र समयमा उपचार पाएको भए दुवैजनाको जीवन सुरक्षित रहने दावी गरिरहेका छन् । यता सरकारी तथ्याङ्कले भने यो मृत्यु कोरोनाभाइरसकै कारण भएको प्रष्ट्याइसकेको छ ।

के समयमै पीसीआर परिक्षण भएको भए सुत्केरीको ज्यान बच्ने थियो ?

कोरोनाभाइरस संक्रमणका कारण मृत्यु भएको भनिएकी सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षिया सुत्केरी महिलामा स्वास–प्रस्वासको समस्या देखिएको थियो । गत बिहीबार काभ्रेस्थित धुलिखेल अस्पताल लैजाने क्रममा उनको मृत्यु भएको हो । सुत्केरीको मृत्यु अस्पताल र परिवारको लापर्वाहीकै कारण भएको जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

कोरोना संक्रमण फैलिएर महामारी निम्तिएको यो समयमा सुत्केरी हुन आएकी महिलाको सोही समयमा पीसीआर परिक्षण हुनुपर्दथ्यो । ‘सुरुमै परिक्षण भएको भए उनले समयमै उपचार पाउँथिन् र उनको ज्यान बच्ने थियो,’ डा. पाण्डेको भनाइ छ ।

यता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग उपचार केन्द्रका प्रवक्ता डा.अनुप बाँस्तोला कोरोनाभाइरस संक्रमण भयो भने रुघा खोकी ज्वरो हुँदै निमोनिया भएर नै मानिसको मृत्यु हुने बताउँछन्् । सिन्धुपाल्चोककी महिलाको निमोनिया कै कारण मृत्यु भएको छ र उनको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । त्यो बाहेक उनमा अन्य केही समस्या भए नभएको बाहिर नआएकाले अरु के थियो भन्न सक्ने अवस्था नभएको उनी बताउँछन् ।


जनस्वास्थ्य विज्ञ डा. पाण्डे ती महिलामा अस्पताल जानुपूर्व नै कोरोनासंक्रमण भएको हुनसक्ने बताउँछन् । उनका अनुसार शिक्षण अस्पतालबाट संक्रमण सरेको भए सरेको ८/१० दिनमै मृत्यु हुने थिएन । सुत्केरी अवस्थामा हुने सेप्टीसेमियाबाट मृत्यु भएको भए फेरि पीसीआर पोजेटिभ देखिने थिएन । सामान्यतया संक्रमण भएको ३ देखि ६ हप्तामा मृत्यु हुन्छ । कि त ति महिलालाई पहिले नै लक्षणविहीन कोरोना संक्रमण भएको हुनुपर्छ ।


मृतक महिलाले बैशाख २४ गते काठमाडौंको महाराजगन्जस्थित शिक्षण अस्पतालमा नर्मल डेलभरीमार्फत बच्चा जन्माएकी थिइन् । २५ गते अस्पतालबाट डिस्चार्ज भएर उनी सिन्धुपाल्चोक बाह्रविसेस्थित घर पुगेकी थिइन् । घर पुगेको केही दिनमा ज्वरो आउने, स्वास–प्रस्वासमा समस्या देखिएपछि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गर्दा निको नभएपछि गत बिहीबार काभ्रेको धुलिखेल अस्पताल पुर्याइएको थियो । तर उनको अस्पताल पुगेको केही समय मै मृत्यु भयो । उनको मृत्युपछि मात्रै कोरोनाभाइरस संक्रमणको शंका गरी अस्पतालले पीसीआर प्रविधिबाट परिक्षण गर्यो र रिपोर्ट पोजेटिभ आयो । अस्पतालले काठमाडौँस्थित केन्द्रिय प्रयोगशालामा पुनः स्वाव परिक्षण गराउँदा पनि रिपोर्ट पोजेटिभ आएपछि अस्पताल तथा आफन्तमा त्रास बढ्यो । ती महिलाको मृत्यु कोरोनाभाइरस संक्रमणबाटै भएको पुष्टि भएपछि यतिवेला समाजमा कोरोना महामारी फैलिइसकेको र परीक्षणलाई तिव्रता दिनुपर्ने माग उठेको छ ।

गर्भवती तथा सुत्केरीलाई जोखिम वर्ग मानिने भएकाले परिवारले पनि यो अवस्थामा उनलाई स्वास्थ्य सुबिधा भएको ठाउँबाट गाउँमा नपुर्याएको भए उपचारको अवसर समयमै मिल्ने थियो र उनको ज्यान बच्ने थियो । यसले अस्पतालहरुलाई राम्रो पाठ भने सिकाएको डा. पाण्डे बताउँछन् । अस्पतालमा सुत्केरी हुन आउने र शल्यक्रिया गर्नुपर्ने विरामीको पीसीआर परिक्षण गरेर मात्र अगाडी बढ्न उनको सल्लाह छ । यसो गर्दा बिरामी, बिरामी कुरुवा तथा आफन्त अनि स्वास्थ्यकर्मी जोखिमबाट बच्नेछन् ।

जनस्वास्थ्य विज्ञ डा. पाण्डे ती महिलामा अस्पताल जानुपूर्व नै कोरोनासंक्रमण भएको हुनसक्ने बताउँछन् । उनका अनुसार शिक्षण अस्पतालबाट संक्रमण सरेको भए सरेको ८/१० दिनमै मृत्यु हुने थिएन । सुत्केरी अवस्थामा हुने सेप्टीसेमियाबाट मृत्यु भएको भए फेरि पीसीआर पोजेटिभ देखिने थिएन । सामान्यतया संक्रमण भएको ३ देखि ६ हप्तामा मृत्यु हुन्छ । कि त ति महिलालाई पहिले नै लक्षणविहीन कोरोना संक्रमण भएको हुनुपर्छ ।

अचम्म त यतिका दिनसम्म सँगसँगै रहेका ती सुत्केरी महिलाको परिवार र बच्चामा कोरोना परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । एकजनालाई भएपछि उक्त व्यक्तिको सम्परर्कमा आउने व्यत्तिमा सजिलै सर्नसक्ने कोरोनाभाइरस ती परिवारमा नसर्नु पनि आश्चर्यको विषय बनेको छ । यसबारे अध्ययन भइरहेको विज्ञहरु बताउँछन् । 

अस्पतालबाट संक्रमण सरेको हो या होइन अध्ययन भइरहेकाले उनलाई संक्रमण कहाँबाट सर्यो अन्यौल नै छ । तर ती महिलाको मृत्यु कोरोना संक्रमणबाट भन्दा पनि समयमै उपचार नहुँदा भएको प्रष्ट देखिन्छ । कोरोनाको लक्षण देखिएको छोटो समयमै मृत्यु हुनृुले अब सबैले बुझ्नुपर्ने छ कि कोरोना संक्रमण हाम्रो समाजमा भित्रभित्र फैलिरहेको छ ।

कोरोना संक्रमित व्यक्तिमध्ये १० प्रतिशतलाई अन्य व्याक्टेरियाको संक्रमण भइदिँदा पनि मृत्यु हुन सक्ने टेकु अस्पतालका प्रवक्ता डा. बाँस्तोला बताउँछन् । संक्रमित व्यक्तिमा अन्य समस्या पनि छन् भने संक्रमणसँग लड्ने क्षमता विरामीमा बृद्धि हुन पाउँदैन र विरामीको मृत्यु हुन्छ ।

डा. बाँस्तोला भन्छन्, ‘नेपालको सन्दर्भमा संक्रमण समुदायमा बढ्दै गइरहेको अवस्था छ । कतिलाई लक्षण नै नदेखिने त कतिलाई सिधै गम्भीर अवस्थाको लक्षण देखिएकाले यसको जोखिम बढी छ । विशेष गरेर जोखिमा अस्पताल र स्वास्थ्यकर्मी नै छन् । त्यसैले स्वास्थ्यकर्मीले आफू कसरी जोगिने र बिरामीलाई कसरी जोगाउने भन्नेमा सचेत हुन अत्यन्त आवश्यक छ ।’ 


टेकु अस्पतालका प्रवक्ता डा. बाँस्कोटा भन्छन्, ‘कोरोनाभाइरसको संक्रमण हुँदा झाडा पखाला मुख्य लक्षण होइन । मुख्य लक्षण भनेको ज्वरो, रुघा खोकी र निमोनिया नै हो । निमोनियाको कारण स्वास–प्रस्वासमा समस्या हुँदा विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।’ उनका अनुसार बाँकेका युवालाई कोरोना संक्रमणमा अन्य ब्याक्टेरियल संक्रमण थपिँदा झाडावान्ता भएको हुन सक्छ ।


जीवनजल खान नपाउँदा ज्यान गयो

बैशाख ३० गते भारतको मुम्बईबाट असुरक्षित यात्रा गर्दै नेपाल भित्रिएका बाँके नरैनापुरका २५ वर्षीय युवकको दीपेन्द्र माविको क्वारेन्टाइनमा मृत्यु भयो । उनी गत मङ्गलबार नेपाल आएका थिए र नेपाल आएको ५ दिनपछि नै उनको मृत्यु भयो । मृत्युपश्चात गरिएको उनको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आयो ।

एकातिर रिपोर्ट पोजेटिभ आयो अर्कोतिर मृत्युपूर्व ती युवालाई झाडापखालाको समस्या आयो । क्वारेन्टाइनमा बसेका ती युवाले अन्तिम समयसम्म पनि पानी र औषधि मागिरहेको क्वारेन्टाइनस्थलका अन्य व्यक्तिहरुले बताइरहेका छन् । यसले के प्रष्ट छ भने तराई क्षेत्रमा रहेका क्वारेन्टाइन कति असुरक्षित छन् र उक्त ठाउँका मानिसले प्राथमिक उपचार पनि नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ ।

डा. पाण्डे ती युवाको मृत्यु कोरोनाले भन्दा पनि जीवनजल खान नपाएरै भएको बताउँछन् । एक त बाँके गर्मी ठाउँ त्यसमाथि पनि उनी मुम्बईबाट आएका । गर्मीको मौसम अनि असुरक्षित क्वारेन्टाइन स्थल जहाँ प्रसस्त पिउने पानीको पनि अभाव छ । यस्तो कठघरामा बसेका युवामा पखाला तथा वान्ता लगातार भइरहँदा शरिरमा पानीको मात्रा कम भएर हुने जलवियोजन (डिहाइड्रेसन) भयो र उनको मृत्यु भएको हुन सक्ने डा. पाण्डे बताउँछन् । विश्वब्यापी तथ्याङ्क हेर्ने हो भने यो उमेरका व्यक्तिको मृत्युदर ०.२५ मात्र छ अर्थात उनीहरु जोखिम वर्गमा पर्दैनन् ।

बाँकेको नरैनापुरको क्वारेन्टाइनमा आइपुगेका ती युवालाई शनिबार रातिदेखि नै ज्वरो आउने र झाडापखालाको समस्या देखिएको थियो ।

टेकु अस्पतालका प्रवक्ता डा. बाँस्कोटा भन्छन्, ‘कोरोनाभाइरसको संक्रमण हुँदा झाडा पखाला मुख्य लक्षण होइन । मुख्य लक्षण भनेको ज्वरो, रुघा खोकी र निमोनिया नै हो । निमोनियाको कारण स्वास–प्रस्वासमा समस्या हुँदा विरामीलाई भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।’ उनका अनुसार बाँकेका युवालाई कोरोना संक्रमणमा अन्य ब्याक्टेरियल संक्रमण थपिँदा झाडावान्ता भएको हुन सक्छ ।

संक्रमित व्यक्तिमा अन्य व्याक्टेरियाले सजिलै आक्रमण गर्ने र यसले दिमाग तथा शरीरको अन्य अंगमा असर गर्छ र विरामीको मृत्यु हुन पनि सक्छ । बाँकेको घटना यही हुन पनि सक्ने डा. बाँस्तोला बताउँछन् । र, चिकित्सकबाट पूर्ण विवरण आएपछि मात्र के भएको थाहा हुने उनी बताउँछन् । उनी भन्छन्, कोरोनाको संक्रमण यति खतरनाक हुन्छ कि कहिलेकाँही लक्षण नै नदेखिइ निमोनिया भइसकेको पनि हुन सक्छ ।’

बाँकेको प्रचण्ड गर्मीमा उनलाई ज्वरो कम गर्ने, पखाला ठीक गर्ने तथा प्रशस्त मात्रामा जीवनजल वा स्लाइन दिइएको भए उनी बच्ने जनस्वास्थ्य विज्ञ डा. पाण्डे बताउँछन् । त्यसैगरी उनलाई कुनै दीर्घरोग थियो कि थिएन ? स्वास्थ्य अवस्था कस्तो थियो ? यसमा निर्भर हुने भएकाले अध्ययन पछि थाहा हुने नै भयो । तर पनि सामान्य रुपमा बुझ्दा ती युवाको औषधी नपाएरै ज्यान गएको उनको दावी छ ।

क्वारेन्टाइनमा राखिएका नागरिकको रक्षा गर्नु राज्यको दायित्व हो । बाँकेका युवा वसेको क्वारेन्टाइनमा पानी, वत्ति, फ्यान, स्वस्थ्यकर खानालगायतका थुप्रै समस्या भएको खवर तारन्तार आइरहेको छ । कोरोना संक्रमणको लक्षण भन्दा पनि फरक खालको समस्या उनमा देखियो यो निकै दुःखद छ ।

कोरोनाको मुख्य लक्षण ज्वरो अनि निमोनिया

विश्व स्वास्थ्य संगठनका अनुसार सामान्यतया कोरोनाभाइरसको संक्रमण भएको व्यक्तिको संक्रमणकाल ५ देखि १४ दिनको हुन्छ । त्यसपछि पनि यदि संक्रमण फैलिँदै गएको अवस्था छ भने थप २ देखि३ हप्ता पछि मात्र विरामीको मृत्यु हुन्छ ।

सामान्य त कोरोना संक्रमण भएको १४ दिनभित्रमा लक्षण देखिन्छ । तर धेरैमा ५ दिनबाटै लक्षण देखिन थाल्छ र स्वास प्रस्वासमा समस्या देखिन्छ । लक्षण देखिएको ५ दिनपछिबाट निमोनिया हुन्छ र निमोनिया बढेको विरामीलाई भेन्टिलेटर मै राख्नुपर्ने हुन्छ ।

निमोनिया बढ्दै जाँदा फोक्सोमा असर पर्छ यस्तो अवस्थामा व्याक्टेरियल संक्रमण पनि सजिलै हुनसक्छ । सँगसँगै शरीरमा रगत जम्ने, शरीरका अन्य अंगले काम गर्न छाड्दै जान्छ र विरामीको मृत्यु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप