बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमण : काठमाडौं उपत्यका उच्च जोखिममा

मङ्गलबार, ०६ जेठ २०७७, १२ : ४३
मङ्गलबार, ०६ जेठ २०७७

कोरोनाभाइरस संक्रमणका कारण धुलिखेल अस्पतालमा २९ वर्षीया महिलाको मृत्यु भएसँगै काठमाडौं उपत्यका उच्च जोखिममा रहेको जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

 काठमाडौंको टोखामा बस्दै आएकी सिन्धुपाल्चोककी ती महिला सुत्केरी भएको ९ दिनमात्र भएको थियो । सुत्केरी भएपछि मात्र उनी आफ्नो घर गएकी थिइन् ।

ज्यान गुमाएकी ती महिलालाई तीनदेखि ६ हप्ता अगाडि नै कोरोना संक्रमण भएको हुन सक्ने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् । 

‘कोरोनाभाइरस अर्थात् कोभिड–१९को संक्रमण भएको १० दिनमै मृत्यु हुँदैन,’ उनले भने । टोखामा हुँदै ती महिलामा कोरोना संक्रमण भएको हुन सक्ने उनको आँकलन छ ।

उपत्यकामा कोरोना संक्रमण साढे दुई÷तीनमहिना अघिदेखि भित्रभित्रै फैलिएको थियो भन्ने कुरा संक्रमित सुत्केरी महिलाको मृत्युले जनाउने जनस्वास्थ्यविद् डा. समीरमणि दीक्षित बताउँछन् । संक्रमित सुत्केरी महिलाको ज्यान गएपछि काठमाडौंमा कोरोना संक्रमणको जोखिम बढेको सबैले अनुभूति गरेका छन् । तर त्यसअघि नै जोखिम रहेको डा. दीक्षितको भनाइ छ ।

काठमाडौं महानगरपालिकाले सरसफाइ क्षेत्रमा काम गर्ने ६ सय ६४ जना कर्मचारीको आरडीटी परीक्षण गराएको थियो । शुक्रबार गरेको आरडीटी परीक्षणमा ३१ जनाको कर्मचारीको रिपोर्टमा पोजेटिभ नतिजा आउनुलाई पनि काठमाडौंमा कोरोना संक्रमण केही साताअघि नै फैलिएको भन्न सकिने   जनस्वास्थ्य विज्ञहरु बताउँछन् ।

आरडीटी परीक्षणले सय प्रतिशत सही नतिजा नदिए पनि ३१ जनामा आरडीटी टेष्टमा पोजेटिभ नतिजा देखिनुले संक्रमण फिजिइसकेको संकेत मिलेको विज्ञहरुको भनाइ छ । उपत्यकामा कोरोना संक्रमित पहिलैबाटै भए पनि कडा खालको लक्षण नदेखिएका कारण परीक्षणको दायरामा नआएको हुन सक्ने डा. पाण्डे बताउँछन् । 

उपत्यका उच्च जोखिममा 
तराई क्षेत्रपछि काठमाडौं उपत्यका कोरोना संक्रमणको उच्च जोखिममा रहेको जनस्वास्थ्यविद्हरु बताउँछन् । आरडीटी परीक्षणमा पोजेटिभ नतिजा आएर पिसिआर टेष्टमा नेगेटिभ नतिजा आए पनि शरीरमा कोरोना भाइरस संक्रिय हुँदा अन्य मानिसलाई सर्न सक्ने डा. दीक्षित बताउँछन् । काठमाडौं उपत्यका पहिलेबाटै जोखिममा भए पनि १० दिन यता झन् जोखिम बढेको डा. पाण्डेको भनाइ छ । लकडाउनलाई खुकुलो बनाउँदा कोरोना प्रभावित क्षेत्रबाट विभिन्न नाका हुँदै धेरै मानिस काठमाडौं प्रवेश गरेका कारण झन् जोखिम बढेको उनले बताए ।

लकडाउनको समयमा ठूलो संख्यामा श्रमिक तथा सर्वसाधारण उपत्यकाबाट देशका विभिन्न भागमा समेत पुगेका छन् ।

भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्नेहरुबाट तराई, पहाडी जिल्लासँगै काठमाडौं पनि प्रभावित हुन सक्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमितको ठेगाना नागरिकताअनुसार भन्ने गरेको हुँदा उपत्यकाभित्र बस्दै आएर हाल आफ्नो घर पुगेका मानिस संक्रमित भएको अवस्थामा उनीहरुको गणना काठमाडौं उपत्यकाबासीका रुपमा नहुने डा. पाण्डे बताउँछन् ।

काठमाडौंमा परीक्षणको दायरा बढाउनुपर्छ 
काठमाडौं उपत्यकामा परीक्षणको दायरालाई फराकिलो बनाएमा धेरै संक्रमित भेटिने सम्भावना रहेको विज्ञहरु बताउँछन् । देशका विभिन्न भागबाट लकडाउनको समयमा मानिसहरु काठमाडौं प्रवेश गरेका छन् । केही दिनसम्म कडाभन्दा कडा लकडाउन गरेर उपत्यकामा परीक्षणको दायरालाई फराकिलो बनाउनुपर्ने डा. पाण्डे बताउँछन् । ‘धुलिखेलसम्म सवारीमा विभिन्न क्षेत्रबाट मानिस आउने गर्छन्,’ उनले भने, ‘धुलिखेलबाट हिडेर उपत्यका छिर्ने धेरै छन् ।’

उपत्यकामा पैदल र सवारीमार्फत छिर्नेलाई कडा निगरानी राख्नुको विकल्प नभएको उनले बताए । भित्री गल्लीमा मानिस ओहोरदोहोर अनि बिहान मर्निङ्वाक निस्कने खालको लकडाउनले खतराको घण्टी बज्ने हुँदा परीक्षणको केहीदिन कडा लकडाउन गर्नुपर्ने उनले बताए ।

कोरोना परीक्षणको दायरालाई फराकिलो बनाउँदै तिव्रता दिनुपर्ने उनको भनाइ छ । कार्य क्षेत्रमा सक्रिय स्वास्थ्यकर्मी, संचारकर्मी, सुरक्षाकर्मी, कर्मचारी, व्यापारी आदिको परीक्षण गर्ने र परीक्षण रिपोर्टका आधारमा कोरोना भित्रभित्र फैलिएको छ वा छैन भन्ने बारेमा वैज्ञानिक आधारमा यकिन गर्न सकिने उनी बताउँछन् ।

१५ दिन लकडाउन कडा गर्नुपर्छ
१५ दिनसम्म लकडाउनलाई कडा बनाएर परीक्षणको दायरालाई बढाउनु पर्ने डा. पाण्डे बताउँछन् । धेरै जनघनत्व भएका भारत, अमेरिका, चीन, बेलायतलगायतका मुलुकका मुख्य शहरमा कोरोनाभाइरस फैलिएपछि नियन्त्रण गर्न समस्या भइरहेको छ । स्रोतसाधन भएका देशलाई कोरोनासँग लड्न हम्मेहम्मे भएको बेलामा अल्पविकसित राष्ट्रका बढि जनघनत्व भएको ठाउँमा कोरोना फैलिएमा जटिल परिस्थिति आउन सक्ने उनी बताउँछन् ।

त्यसैले ४० लाख जनसंख्या भएको राजधानी काठमाडौंमा पनि भित्रभित्र तिव्र रुपमा फैलिएको अवस्थामा समस्या पर्ने उनी बताउँछन् । कार्य क्षेत्रमा खटिएका मानिस र संक्रमितको कन्ट्याक्ट ट्रेसिङलाई तिव्रता दिनुपर्ने उनको भनाइ छ । काठमाडौंमा १० प्रतिशतमा मात्र कोरोना संक्रमण फैलिएमा पनि ४० हजार संक्रमित हुने उनले प्रष्ट पारे । ४० हजार जनाले ४ लाख मानिसलाई सार्न सक्ने क्षमता भएकाले यस्तो अवस्था आउन नदिनका लागि १५ दिनसम्म कडा लकडाउन गरेर परीक्षणको दायरालाई बढाउनुको विकल्प नभएको विज्ञहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप