केन्द्रीय संस्करण
विचार

सीमा अतिक्रमण र भारतीय मनोविज्ञान

person explore access_timeजेठ ६, २०७७ chat_bubble_outline0

हाम्रा पुर्खाहरुको सौर्य, बलिदान र अथक सङ्घर्षको परिणाम हो नेपाल राष्ट्र । यो एकैदिनमा बनेको होइन । अपार प्राकृतिक सम्पदाले भरिपूर्ण र धार्मिक धरोहरहरूको पावन स्थल भएकाले यस भूगोलमा संसारभरिका प्रभुत्ववादी र साम्राज्यवादी शक्तिहरुले आँखा नलगाएका होइनन् । यसका बाबजुद हाम्रा अग्रजहरुको दूरदर्शिता र बुद्धिमत्ताका कारण नेपाल राष्ट्र बनेको र जोगिएको हो । खासगरी बेलायती र तिब्बतीहरुको निशानाबाट यस भूमिलाई जोगाउन अग्रजहरुले गरेको बलिदानीलाई हामी कदापी बिर्सन सक्तैनौँ । जसका कारण आज हामीले आफूलाई नेपाली भन्न पाएका छौँ र विश्वव्यापी रूपमा आफ्नो पहिचान बनाएका छौँ । नेपाल निर्माण यताका अढाई सय वर्षमा धेरै उतारचढाव पनि झेलेका छौँ तथापि नेपाल र नेपालीको शिर झुक्न दिएका छैनौँ ।

भारतीय स्वतन्त्रता र नेपाल

सन् १९४७ मा ब्रिटिस उपनिवेशबाट भारत स्वतन्त्र भए पश्चात सन् १९५० मा नेपाल पनि राणा शासनको तानाशाही पञ्जाबाट मुक्त भयो । जननायक बीपी कोइरालाको नेतृत्वमा सम्पन्न क्रान्तिद्वारा नेपालमा लोकतन्त्रको स्थापना भयो । यस अभूतपूर्व राजनीतिक घटनाले नेपाललाई नयाँ युगमा पदार्पण गरायो र विश्वजगतसँगको औपचारिक सम्बन्धको सुरुवात भयो । नेपाल एकीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने शाहवंशीय राजतन्त्रको समेत उद्धार हुन पुग्यो । राजासहितको बहुदलीय लोकतन्त्रको विधिवत अभ्यास प्रारम्भ भयो । विभिन्न दर्शन, सिद्धान्त र विचारधारा अँगालेका राजनीतिक दलहरुले खुला रूपमा आफ्ना गतिविधिहरु सञ्चालन गर्न थाले । यसले राज्य सञ्चालनमा नागरिक चासो र सहभागिताको लोकतान्त्रिक सिद्धान्तलाई सार्थक बनाउने प्रयत्नलाई टेवा पुग्न थाल्यो । नेपालमा ऐतिहासिक राजनीतिक परिवर्तन मात्र भएन, नागरिक जागरणको नयाँ युग सुरु भयो ।

भारतीय औपनिवेशिक प्रवृत्ति

लामो समयसम्म बेलायती साम्राज्यको अधीनमा बसेको भारतले स्वाधीनता प्राप्त गरेपछि आफ्ना वरिपरिका साना छिमेकी राष्ट्रहरूप्रति औपनिवेशिक रवैया देखाउन थालेपछि दक्षिण एसियामा नयाँ समस्या पैदा भयो । हरेक छिमेकी देशको आन्तरिक मामिलामा हस्तक्षेप गरेर राजनीतिक अस्थिरता पैदा गर्ने रणनीति लिएको भारतका तत्कालीन नेताहरुले नेपाल, भुटान र सिक्किमलाई आफूमा मिलाउने प्रयास अघि बढाए । विश्व मानचित्रबाट सिक्किमको अस्तित्व विलुप्त भयो । संसारका अगाडि हाक्काहाक्की एउटा स्वतन्त्र, सार्वभौम र स्वाधीन राष्ट्र सिक्किम भारतको प्रान्त बन्न पुग्यो । भुटानलाई घोषित रूपमा आफूमा गाभ्न नसके पनि भारतीय रक्षा र विदेश नीतिको मातहत चल्ने नाम मात्रको राष्ट्र बनाउने काम भयो । यो नै दक्षिण एसियामा आफ्नो प्रभुत्व कायम राख्ने भारतीय रवैयाको ज्वलन्त दृष्टान्त हो ।

नेपालप्रतिको वक्र दृष्टि

नेपालबाट राणाशासनको अन्त्य गरी लोकतन्त्र स्थापना गर्न नेपाली काँग्रेसले चलाएको सङ्घर्षलाई सहयोग पुर्याएको देखिए पनि भारतको राजनीतिक अभिष्ट सकेसम्म नेपाल खाने, नसके नेपाललाई आफ्नो कठपुतली बनाउने नै थियो । त्यसको एउटा दृष्टान्त राणा काँग्रेस संयुक्त मन्त्रीमण्डलमा गृहमन्त्री रहेका क्रान्तिका मुख्य नेता बीपी कोइरालालाई मोहन समशेरले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री मातृका प्रसादलाई बनाउनु थियो । मातृका र राजालाई मिलाएर काँग्रेसलाई किनारामा धकेल्ने र नेपालको शासनलाई अधीनमा लिई विस्तारै क्रमिक रूपमा नेपालकोे सार्वभौमसत्ता समाप्त पार्ने भारतीय गुरुयोजना थियो । यस भारतीय योजनालाई छर्लङ्गै बुझेका बीपी कोइरालाको अवरोधका कारण तत्काल नेपाल कब्जा गर्ने उसको दाउ पूरा हुन सकेन । अन्ततः संसदमा दुई तिहाइ बहुमतका साथ प्रधानमन्त्री भएका कोइरालालाई अपदस्थ गराई जेलमा राखेर राजा महेन्द्रमार्फत नेपाल हत्याउने अर्को रणनीतिमा भारत अग्रसर भएको देखिन्छ ।

कालापानीमा भारतीय सेना

सन् १९६२ मा चलेको भारत–चीन युद्धमा पराजित भएपछि फर्किएको भारतीय फौजले नेपालको कालापानी क्षेत्रमा आफ्नो क्याम्प खडा गरी अड्डा जमाएको आज ५८ वर्ष भएछ । भारतीय फौजले आफ्नो भूमिमा अड्डा जमाएको सूचना पाएर पनि तत्कालीन राजा महेन्द्र किन चुप चाप बसे ? उनी चुप बस्नुपर्ने कारण के ? केही समूहद्वारा राष्ट्रवादका प्रतीकको रूपमा चित्रित र प्रचारित राजाले भारतप्रति आपत्ति किन जनाएनन् ? निकै सोचनीय कुरा छ र कारण पनि स्पष्ट छ । उनी नेपालका असली शासक हुन चाहन्थे । यस महत्त्वाकाङ्क्षाको परिपूर्ति गर्न लोकतान्त्रिक शासन प्रणाली र बीपीलाई उनले बलियो तगारो देखे । आफ्नो बाटो सफा गर्न व्यवस्था र बीपीलाई सिध्याउनु पथ्र्यो । उता जवाहरलाल नेहरू समेत नेपाल हडप्ने योजनामा बीपीलाई नै तगारो ठान्थे । भारतका आफ्ना कटुआलोचक आफू सरहका समाजवादी नेताहरु लोहिया, जयप्रकाशहरुसँग बीपीको सुमधुर सम्बन्ध थियो । यस अर्थमा नेहरु बीपीलाई आफ्ना विरोधी ठान्थे । त्यसैले राजा महेन्द्र र नेहरु दुवैले आफ्ना विरोधी बीपीलाई बाटोबाट हटाए । नेपालमा पञ्चायती व्यवस्था र कालापानीमा सेना एकअर्काका परिपूरक जस्ता भए । यहीँबाट नेपाली भूभागमा भारतीय फौजले निर्वाध रूपमा अड्डा जमाउन पुग्यो ।

लोकतन्त्रको पुनस्र्थापना

तीस वर्षको पञ्चायती व्यवस्था समाप्त भएर २०४६ सालमा नेपालमा बहुदलीय लोकतन्त्रको पुनस्र्थापना भएपछि नेपाल भारतको सम्बन्धलाई पुनः परिभाषित गर्न सकिन्थ्यो । तर नेपाल र यहाँका नेताहरुले यस विषयमा ध्यानै दिएनन् । सत्ताको प्राप्ति पछि सबै कुरा पुगेझैँ भयो । भारतको नेपालप्रतिको ऐतिहासिक रवैया विस्मृतिमा धकेलियो । उल्टो नेपालका अधिकांश राजनीतिज्ञका लागि भारत र दिल्ली परमधाम बन्न पुग्यो । त्यत्रो गोता खाएर पनि बदलिएको परिस्थितिमा समेत नेताहरु भारतीय रवैयाबाट सचेत भएनन् । अब भने भारत नेपाल निल्ने पुरानो रणनीतिबाट पछि हटेर भुटानीकरणको बाटोमा अग्रसर थियो । यस भारतीय योजनामा कतिपय नेपाली नेताहरु संलग्न पनि हुनसक्छन् । त्यसैले नै भारत उच्च मनोविज्ञानका साथ आफ्नो रणनीतिमा सफल हुन अग्रसर देखिन्छ ।

सीमा सुरक्षामा उदासीनता

सन् १९६२ बाट कालापानीमा बसेको भारतीय सेनाले आफ्नो प्रभुत्व बिस्तार गर्दै थियो भने सुस्ता लगायत दर्जनौँ ठाउँमा नेपालको भूभाग अतिक्रमणमा पर्दै गयो । नेपालका कुनै पनि सरकारको प्राथमिकतामा सीमा सुरक्षा नपर्नु साच्चै नै दुःखद् विषय थियो । राजालाई राजगद्दी र नेताहरुलाई सत्ताबाहेक अरू कुनै कुरासँग मतलब थिएन । २०६२÷०६३ को ऐतिहासिक परिवर्तनपश्चातका सरकारहरुले समेत यस विषयमा कुनै चासो नदेखाउनु अझै उदेकलाग्दो विषय थियो । यो रवैयाबाट भारत उत्साहित त छँदै थियो, उसको मनोबल समेत बढिरहेको थियो । त्यसैको परिणामस्वरूप नेपाली भूमिबाट झण्डै ८० किलोमिटर बाटो बनाउन भारत सफल भयोे । भारतको यस बलमिच्याइँ र सफलताका लागि हामी पनि जिम्मेवार छौँ ।

अब के गर्ने ?

इतिहासले उपलब्ध गराएको अभूतपूर्व अवसर हो यो । मूलतः कालापानी क्षेत्र र समग्र नेपालको सीमाका विषयमा भारतसँग एकमुष्ट र निर्णायक वार्ता गर्नुको कुनै विकल्प छैन । हामीसँग यथेष्ट प्रमाणहरु छन् । खोज्नु, जुटाउनु र थप्नुपर्ने प्रमाणका लागि सरकार दिनरात जुट्नुपर्छ । वर्तमानको गतिले भारतसँग प्रभावकारी संवाद सम्भव देखिँदैन । अहिले सबैभन्दा निकम्मा सरकारी अङ्गको रूपमा परराष्ट्र र रक्षा मन्त्रालय देखिनु निकै दुर्भाग्यपूर्ण छ । तसर्थ सीमाका विषयमा राष्ट्र एक ढिक्का देखिएको यस ऐतिहासिक घडीमा नेपालले आफ्नो अस्मिता जोगाउन कुनै कसर बाँकी राख्नु हुँदैन ।

(लेखक नेपाली काँग्रेसका केन्द्रीय सदस्य हुन् ।)

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.