शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी आमालाई लिएर गाउँ गए नवाजुद्दीन, श्रीमती आलियाले मागिन् सम्बन्धविच्छेद

मङ्गलबार, ०६ जेठ २०७७, ०८ : २६
मङ्गलबार, ०६ जेठ २०७७

बलिउड अभिनेता नवाजुद्दीन सिद्दीकी आजकाल समस्यामा घेरिएका छन् । एकातिर उनी आफ्नी बिरामी आमालाई लिएर आफ्नो पैतृक गाउँ बुढाना गएका छन् भने अर्कोतर्फ उनकी श्रीमती आलियाले उनलाई लिगल नोटिस पठाएर सम्बन्धविच्छेद र अंशको माग गरेकी छिन् । भारतीय सञ्चार माध्यमसँगको एक कुराकानीमा आलियाका वकिल अभय सहायले आलियाले नवाजलाई उक्त नोटिस ह्वाट्सएप र इमेलमार्फत् पठाएको जानकारी दिए ।

नोटिसमा संवेदनशील कुरा उल्लेखः

अभय सहायले नोटिसमा सम्बन्धविच्छेदको कारण त बताएका छैनन् तर उनका अनुसार यसमा निकै संवेदनशील र गोप्य कुरा उल्लेख गरिएको छ । उनका अनुसार मे ७ मा नवाजलाई इमेल र ह्वाट्सएपमार्फत् नोटिस पठाइएको थियो ।

१३ मेमा नीजि नोटिस पठाइएकोः

स्रोतका अनुसार १३ मेमा आलियाको तर्फबाट नीजि नोटिस पठाइयो । तर नवाजले कुनै जवाफ दिएका छैनन् । अभयका अनुसार हाल अदालत बन्द भएका कारण नवाजलाई १५ दिनको समय दिइएको छ । यदि तोकिएको समयावधिमा जवाफ नदिए उनीविरुद्ध कानूनी कारवाही गरिने बताइएको छ ।


आलियाले भनिन्, ‘कुनै न कुनै कारण त पक्कै होला’

भारतीय मिडियासँगको कुराकानीमा आलियाले पनि नवाजसँगको सम्बन्धविच्छेदको खबर पुष्टि गरिन् । यद्यपि, उनले यसको कारण पनि बताइनन् । तर उनले कुनै न कुनै कारण भएरै त यस्तो निर्णय लिइएको बताइन् । उनले भनिन्, ‘लकडाउनमा उनले यसबारे सोच्ने समय पाए । नवाजसँग मेरो सम्बन्ध निकै तनावपूर्ण छ र म निकै लामो समयदेखि उनीबाट अलग्गिएर बसिरहेकी छु ।’

नवाजुद्दीन र आलियाको विवाह १० वर्ष बितिसकेको छ । उनीहरुका दुई सन्तान पनि छन् । सन् २०१७ मा नवाज र आलियाको सम्बन्ध बिग्रिएको खबर सार्वजनिक भएको थियो । यद्यपि, त्यतिबेला यी दुईले उक्त खबर खण्डन गरेका थिए ।

हाल यूपीमा छन् नवाजः

नवाजुद्दीन सिद्दीकी हाल यूपीमा आफ्नो पैतृक गाउँ बुढानामा छन् । उनी ११ मे मा त्यहँ पुगेका हुन् । मुम्बई पुलिसद्वारा जारी गरिएको पास अनुसार नवाजकी ७१ वर्षीया आमा मेहरुन नीसा सिद्दीकी निकै बिरामी छिन् । उनी आफ्ना अन्य दुई परिवारका सदस्यसहित बुढाना गएका हुन् । त्यहाँ सिद्दीकीलाई उनको परिवारसहित १४ दिनका लागि क्वारेन्टाइनमा राखिएको छ । उनीहरुको क्वारेन्टाइन अवधि २५ मे मा पूरा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप