केन्द्रीय संस्करण

रुसमा कोभिड–१९ को मृत्युदर किन कम छ ?

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

केन्ट सेप्कोविट्ज

झन्डै दुई सातादेखि तीन देश – अमेरिका, रुस र ब्राजिलले बाँकी विश्वलाई कोभिड–१९ का नयाँ संक्रमितको दैनिक संख्यामा उछिनिरहेका छन् । यसका केही अर्थ छन् । यी तीनवटै देश १२ करोड ५० लाखभन्दा धेरै जनसंख्या भएका विश्वका शीर्ष १० भित्र पर्छन् र हरेक देशको सीमित शहरमा मात्रै ठूलो जनसंख्या बस्छ ।

यसबाहेक कोरोना भित्र्दाँ यी तीनवटै देश अव्यवस्थित, र रोगबारे भ्रम, अविश्वास पालेर बसेका थिए । तर, एउटा महत्त्वपूर्ण भिन्नताले रुसलाई अन्य दुई देशबाट छुट्टयाउँछ । विगत दुई महिनादेखि महामारीको चपेटामा परेको अमेरिकामा पछिल्लो सातासम्म कोभिड–१९ बाट संक्रमितमध्ये ६ प्रतिशतको मृत्यु भएको छ । एक महिनादेखि कोरोनाबाट प्रभावित ब्राजिलमा मृत्युदर ७ प्रतिशत छ । इटली, जर्मनी, स्पेन, बेल्जियम, बेलायत समावेश पश्चिम युरोपका भूभागमा संक्रमितको मृत्युदर १० प्रतिशतभन्दा माथि थियो ।

तर रुस, जहाँ भन्डै ब्राजिलमै भित्रिएको समय यो महामारी भित्रियो, यहाँ मृत्युदर १ प्रतिशतभन्दा कम छ ।

यस्तो कसरी ?

रुसको स्वास्थ मन्त्रालयकी संक्रामक रोग प्रमुख डाक्टर इलिना मालिन्नीकोभासँग यसको सरल जवाफ छ – संक्रमणको समयमै पहिचान, साथै कुनै रोगको लक्षण देखिने बित्तिकै डाक्टरलाई देखाउन चाहने रुसीहरुको बानी मृत्युदर कम हुनुको कारण हो ।

रुसी पत्रकारहरुको रिर्पोटिङअनुसार देशभित्र ६० प्रतिशतभन्दा धेरै संक्रमण मस्कोमा पहिचान भएका छ, जहाँ ग्रामिण क्षेत्रको दाँजोमा युवा र स्वस्थ नागरिक धेरै छन् ।

कारण जेसुकै होस्, अति कम मृत्युदर केही अनपेक्षित छ । त्यसैले मैले के भइरहेछ भनेर बुझ्ने प्रयासका लागि विविध पक्षको तुलना गरेको छु ।

रुस र ब्राजिलबीच परीक्षणमा ठूलो भिन्तता छ ।

डाक्टर मलिन्निकोभा र रुसी नेताहरु धेरै गर्वित हुनसक्छन्, यो लेख लेख्दासम्म रुसले प्रति १० लाखमा ४० हजार ९ सय ९५ जनाको परीक्षण गरेको छ । ब्राजिलको परीक्षण दर अति कम अर्थात् प्रति १० लाख नागरिकमा ३ हजार ४ सय ५९ मात्रै छ । अमेरिकाले १० लाखमा ३० हजार ९ सय ३७ जनाको परीक्षण गरेको छ ।

अत्यधिक परीक्षण भएका स्वीटजरल्यान्ड, जर्मनी र अन्य केही देशमा पनि सुरुमा मृत्युदर निकै कम थियो किनकी संक्रमणका धेरै घटना पहिचान भए, अनि ती घटनाले गम्भीर रुप लिन पाएनन् । यद्यपी, जर्मनीमा महामारी फैलिएर परिपक्व हुँदा ० दशमलव ५ प्रतिशतभन्दा कम रहेको मृत्युदर बढेर ४ दशमलव ५ प्रतिशतमा पुग्यो ।

परीक्षणमा देखिएको यो भिन्नता अवश्य पनि प्रमुख कारण हो, तर कोभीड–१९ संक्रमणबाट हुने मृत्युको जोखिममा अन्य पक्षले पनि उत्तिकै भूमिका खेल्नसक्छन् । जस्तो, पुरुष हुनु , जेष्ठ नागरिक, मुटु रोग, फोक्सोको दीर्घरोग, मधुमेह,  मोटोपनालगायत ।

यी सबै अवस्थाबाट सामुहिक रुपमा ग्रस्त रोगीको दर अन्य देशको दाँजोमा रुसमा धेरै छ, विशेषगरी पुरुषमा । बिडम्बना, न रुस न ब्राजिलले नै संक्रमित वा मृतकको उमेर र लिङ्ग खुलाएर कुनै जानकारी सार्वजनिक गरेका छन् । यद्यपी, अप्रिलको अन्त्यमा ब्राजिलले कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये ५९ प्रतिशत पूरुष रहेको जनाएको थियो ।

विश्व बैंकका अनुसार रुसमा १५, ब्राजिलमा ९ र अमेरिका १६ प्रतिशत जनसख्ंया ६५ वर्ष वा त्यसभन्दा माथि छ । यस भिन्नताले ब्राजिलमा रुसको दाँजोमा कम मृतक हुनुपर्ने देखाउँछ ।

ब्राजिलको दाँजोमा रुसमा कार्डियाक रोग पनि सामान्य मानिन्छ । पछिल्लो एक अध्ययन अनुसार जसरी मापन गरेपनि रुसमा ब्राजिलको दाँजोमा कार्डियोभास्कुलर रोगीहरुको संख्या कम्तिमा दोब्बर छ – यो तथ्यले पनि ब्राजिलमा रुसभन्दा कोभिड–१९ मृत्यदर धेरै होइन, कम हुनुपर्ने देखाउँछ ।

फोक्सोको दीर्घरोगबारे भने यी देशको तथ्याङ्क बाहिर आएको छैन । यद्यपी, फोक्सोको रोगकोे मुख्य कारण मानिने धुम्रपानको खपत ब्राजिलको दाँजोमा रुसमा धेरै छ, रुसमा ५७ प्रतिशत पुरुष र २३ प्रतिशत महिलाले धुम्रपान गर्छन् भने ब्राजिलमा १७ प्रतिशत पूरुष र १० प्रतिशत महिलाले । तर यसका बाबजुद रुसमा फोक्सोको रोगबाट ज्यान गुमाउनेको संख्या ( प्रति एक लाखमा १४ दशमल ५ जना) अर्थात् ब्राजिलभन्दा (प्रति १ लाखमा २६ दशमलव ६ ) कम छ ।

रुसमा मधुमेहका बिरामीको संख्या ६ प्रतिशत छ भने ब्राजिलमा  झन्डै १० प्रतिशत । तर, मोटोपनको दर लगभग उस्तै छ । सन् २०१६ को तथ्यअनुसार अत्यधिक मोटोपन हुने देशमा २३ प्रतिशत जनसंख्यासहित रुस ७० औं स्थान र ब्राजिल २२ प्रतिशतसहित ८२ औँ स्थानमा थिए । अमेरिका ३६ प्रतिशत मोटोपनसहित यो सुचीको १२ औं स्थानमा छ ।

त्यसकारण देखिएका र मापन गर्न सकिने धेरै रोगको गम्भिरता हेर्दा यदी ब्राजिलभन्दा धेरै जोखिममा छैन नै भनेपनि, कम्तिमा बराबरीको अवस्थामा रुस छ । के त्यसो भए डाक्टर मलिन्नीकोभा सही छिन् ? के साँच्चै परीक्षण कार्य र रुसको चुस्त स्वास्थ प्रणालीकै कारण यस्तो भिन्नता देखिएको हो ?

सायद, यो भिन्नतालाई वर्णन गर्ने अन्य पाटो पनि होलान् । उदाहरणका लागि, रुसले कोभिड–१९ मृत्युलाई कसरी चित्रण गर्छ भन्ने हामीलाई थाहा छैन । यदी मुटुसम्बन्धी रोगबाट ग्रस्त मानिस कोभिड–१९ बाट मर्छ भने मृत्युको कारण के चाँही मान्ने ? ग्रामिण क्षेत्र, जहाँ विविध रोगको दर धेरै भएकाले स्वतः मृत्युदर पनि धेरै छ, त्यहाँबाट मस्कोमा कति छिटो सूचना आउँछ ?

अनि, नर्सिङ होममा भएका मृत्युका घटनालाई कसरी लिने, के कोभिड–१९ सम्बन्धित रोगका कारण भएको मृत्युमा यसलाई राखिन्छ, जबकी यहाँ परीक्षण नै भएको छैन ।

अमेरिका होस् वा अन्यत्र, रोगबारे बुझ्न र यसलाई नियन्त्रण गर्ने हाम्रो प्रयासको प्रभावकारीताका लागि कोभिड–१९ सँग सम्बन्धित मृत्युको सही वर्गिकरण निकै महत्त्वपूर्ण हुन्छ ।

यद्यपी, कुनै व्यक्तिको मृत्यु ठ्याक्कै यही कारण भयो भनेर ठहर गर्न साँच्चै कठिन छ । रोगहरु एक अर्काबाट स्वतन्त्र छैनन् – पक्कै पनि मुटु सम्बन्धी कुनै रोग भएको व्यक्ति यस्तो रोग नभएको व्यक्तिको दाँजामा धेरै प्रताडित हुन्छ, तर के त्यस व्यक्तिको मृत्यु नै हुन्छ ? मृत्युको सही कारण के हो ? सायद, एउटै रोगको कारणभन्दा धेरै रोगहरुबाट ग्रस्त हुँदा मानिस धेरै कमजोर र बिरामी हुन्छ ।

यसको अर्थ मृत्युको कारण एक वा अर्को तरिकाले परिभाषित गर्न सकिन्छ र त्यसलाई सही प्रमाणित पनि गर्न सकिन्छ ।

र, कोभीड–१९ जस्ता रोगका साथै केही देशमा राजनीतिक तनाव स्पष्ट देखिएको छ र यस्तो तनावको उपयोग गर्ने आकर्षणले मलाई त्यस भनाइ स्मरण गराएको छ, जसलाई धेरैले जोसेफ स्टालिनको मान्छन् (यद्यपी  उनैले भनेको प्रमाणित छैन) । ‘कसले भोट ग¥यो भन्ने होइन बरु भोट कसले गन्यो भन्ने कुराले अर्थ राख्छ ।’

अर्को शब्दमा भन्नुपर्दा, रुस र विश्वभर  नै कुनै अन्तर्राष्ट्रिय मापदण्डअनुसार होइन, बरु सूचना संकलन गरिरहेका अधिकारीहरुको रिपोर्टकै आधारमा कोभीड–१९ मृत्युदर परिभाषित गरिएको छ ।  फेरि एकपल्ट, कोभीड–१९ बारेको हाम्रो बुझाईलाई नयाँ अस्थिरताले अवरोध गरेको हामीले भेट्न सक्छौं । त्यो स्वास्थको होइन, बरु विशुद्ध राजनीतिक हिसाब–किताबको नतिजा हुनेछ ।

सीएनएन डटकमबाट

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.