केन्द्रीय संस्करण
कारोनाभाइरस

कोरोना ‘कम्युनिटी ट्रान्समिसन’को यात्रामा ?

धुलिखेलमा संक्रमितको मृत्यु खतराको घण्टी बजेको सङ्केत !

person explore access_timeजेठ ५, २०७७ chat_bubble_outline0

काठमाडौँ । विश्वभर उग्ररूप लिँदै गएको कोरोना भाइरस (कोभिड–१९) ले नेपालमा पनि खतराको घण्टी बजाएको छ । अहिलेसम्म नेपालभित्र ३ सय ४ जनामा कोरोना सङ्क्रमण भेटिएको छ भने दुई जनाको मृत्यु भइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनको परिभाषाअनुसार नेपालमा कोरोना भाइरसको सङ्क्रमण समुदायमा प्रवेश (कम्युनिटी ट्रान्समिसन) गरिसकेको छैन । नेपाल अहिलेसम्म ‘क्लस्टर अफ केसेज’कै अवस्थामा छ ।

तर सङ्क्रमण रोग विशषज्ञ डा. अनुप सुवेदी भने पछिल्ला सङ्क्रमणका केस हेर्दा समुदायमा कोरोना प्रवेश गरेको सङ्केत देखिएको बताउँछन् । रातोपाटीसँगको सङ्क्षिप्त कुराकानीमा डा. सुवेदीले भने, ‘कोरोना समुदायमा गएको छ कि छैन भन्नेबारे हामीसँग तथ्यांक छैन । यो कुरा सरकारले पनि दिएको छैन । तर समुदायमा गएको सङ्केत भने देखिएको छ ।’

उनले उदाहारण दिँदै अगाडि थपे, ‘जस्तै बाहिर कतै नगएको, बाहिरबाट आएकाहरुसँग सम्पर्क नभएको मान्छेको धुलिखेलमा मृत्यु भयो । बाहिरबाट आएका कोरोना सङ्क्रमितसँग उहाँको सम्पर्क भएको थाहा छैन । जसलाई हेर्दा समुदायमा गएको सङ्केत देखिन्छ ।’

डा. सुवेदीका अनुसार यकिन गरेर भन्न सरकारबाटै हरेक केसको ट्राभल हिस्ट्री र कन्ट्याक ट्रेसिङको अध्ययन गर्नुपर्ने हुन्छ ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष  एवम् जनरल फिजिसियन (इन्टरनल मेडिसिन) डा. लोचन कार्कीले भने नेपाल क्लस्टर फेजमै रहेको बताउँछन् । ‘विश्व स्वास्थ्य सङ्गठनले ‘क्लस्टर अफ केसेज’लाई समय, भौगोलिक स्थान वा समान एक्सपोजरको क्लस्टर हुने क्षेत्रहरुका रूपमा परिभाषा गरेको छ । कम्युनिटी ट्रान्समिसनलाई ठूलो सङ्ख्यामा स्थानीय सङ्क्रमण (लोकल ट्रान्समिसन) भएको ठाउँका रूपमा व्याख्या गरेको छ,’ रातोपाटीसँग उनले भने, ‘केसहरु लिङ्कड ट्रान्समिसन चेन, समय, स्थान र एक्सपोजरमा क्लस्टर्ड भएको देखिन्छ । डब्लूएचओको परिभाषाले यसलाई कम्युनिटी ट्रान्समिसनका रूपमा व्याख्या गरेको छैन ।  यसलाई क्लस्टरकै रूपमा बुझ्नुपर्ने हुन्छ ।’

डा. कार्कीले नेपालमा कोरोनाको वर्तमान अवस्थाबारे उदहारण दिँदै थप प्रस्ट्याउने कोसिस पनि गरे । ‘क्लस्टर भनेको हाम्रो वडाको सीमित व्यक्तिलाई सङ्क्रमण भेटियो । ती व्यक्तिले हाम्रो छरछिमेकलाई भेटे र हामीले को व्यक्तिबाट कहाँ कहाँ सर्यो भन्ने ट्रेस गर्ने सक्ने अवस्थालाई ‘ग्रुप अफ पिपुल’ भयो । त्यो नै क्लस्टर भयो,’ उनले भने ।

डा. कार्कीले कोरोना भाइरसको सङ्क्रमण समुदाय प्रवेशको विषयमा पनि प्रस्ट्याए । उनले भने, ‘समुदायमा प्रवेश गयो भन्नका लागि म कुनै सपिङ महल, मार्केट वा सिनेमा हलमा गएँ भने त्यहाँ त छरपस्ट हुने भयो । को कहाँको हुन्छ पत्तै हुँदैन । त्यस्तो अवस्थामा एकबाट अर्कोमा सर्दा कम्युनिटी लेबलमा गयो । अहिलेसम्म हेर्दा त्यस्तो देखिएको छैन ।’

खतराको घण्टी, अबको बाटो

कोरोनाले खतराको घण्टी बसाइसक्दा पनि त्यस विरुद्ध सरकारको तयारी भने भरोसा योग्य छैन । कोरोना नेपाल प्रवेश गरेको करिब ४ महिना हुँदा पनि परीक्षणको दायरा र स्वास्थ्य उपकरण प्राप्तता सन्तोषजनक छैन ।

११ चैतमा नेपालभित्र दोस्रो व्यक्तिमा कोराना सङ्क्रमण भएपछि जारी लकडाउनकै बीच कोरोनाको भयावह रूपको सङ्केत देखिन थालिसकेको छ ।

पूर्व स्वास्थ्यमन्त्री गगन थापाले कोरोनासँगको लडाइँ सरकारको नेतृत्वमा रहेको बुझाइ ठीक नहुनुको परिणामका रूपमा व्याख्य गरे । ‘सरकारको नेतृत्वमा रहेको व्यक्तिमा कोरोना सङ्क्रमणको लडाइँबारे बुझाइ ठीक हुनुपर्यो । यसले लामो समय सरकारको अभूतपूर्व काम  र हामी नेपालीहरुसँग जन्मजात भएको गजबको रोग प्रतिरोधात्मक क्षमताका कारणले नेपालमा कोरोनाको सङ्क्रमण नै भएकौ छैन । हामी कहाँ मृत्यु पनि भएन र चमत्कार भएको छ भनेर भ्रममा राख्ने काम ग-यो,’ उनले भने, ‘यो मैले आरोप लगाएर भनेको होइन, सरकारी डकुमेन्टमा आएको कुरा हो । यो कुरा बजेटको सिद्धान्त र नीतिमा पनि आयो । यसबाट हाम्रो नेतृत्वले हामी अरु देशहरुभन्दा फरक छौँ भनेर बुझेको  देखियो । हामी पहिला यो भ्रमबाट निस्किहाल्नुपर्यो । हाम्रो नेतृत्व यो भ्रमबाट ननिस्किएको परिणाम हो यो ।’

कोरोनासँगको लडाइँ जित्न भाइरसभन्दा अगाडि पुग्नुपर्ने भन्दै भाइरसको पछिपछि दौडिएर जित्न नसकिने थापाको बुझाइ छ ।

अब सरकार तीनवटा कुरामा गम्भीर हुनुपर्ने भन्दै उनले भने, ‘सरकारले परीक्षणको दायरा यति बढाउनुपर्यो कि जेठ महिनामा कम्तीमा पनि साढे २ लाख मान्छेको पीसीआर गर्नुपर्यो । दुई लाख मान्छेको परीक्षण गर्नका लागि त्यहीअनुसार परीक्षणको सामग्री चाहियो, जनशक्ति चाहियो सिस्टम चाहियो  र त्यसको तयारी पनि चाहियो,’ उनले भने, ‘दोस्रो काम भनेको परीक्षणसँग जोडिएर आउने कन्ट्याक ट्रेसमा फोकस हुनुपर्यो । सबैभन्दा बढी हामी चुकेकै त्यसमा हो ।’

यसका लागि पालिका स्तरमा कन्ट्याक ट्रेस गर्न हजारभन्दा बढी मान्छेलाई तालिम दिनुपर्ने थापाको भनाइ छ ।

कन्ट्याक ट्रेसिङको समस्याबारे उदाहारण दिँदै उनले भने, ‘जस्तै बूढानीलकण्ठ नगरपालिकास्थित कपनमा एक जनामा हिजो (शनिबार)कोरोना सङ्क्रमण देखियो । हिजो सङ्क्रमण पुष्टि हुँदा पनि हामी त्यो मान्छेले को–को मान्छेसँग सम्पर्क गर्यो भन्ने कुराको बल्ल प्रारम्भिक सूचना लिँदै छौँ। एकैचोटि कोरोना सङ्क्रमितको सङ्ख्या हजार नाघेपछि हामी केही पनि मेसो पाउँदैनौँ । त्यसैले हामीसँग पालिका स्तरमा कन्ट्याक ट्रेस गर्ने सक्ने हजारभन्दा बढी मान्छेलाई तालिम दिइहालौँ । यसरी तालिम दिइयो भने पालिका स्तरमा पाँच सात जना खटाउन सकियो । सम्बन्धित ठाउँमा एक जना सङ्क्रमति भयो भने जिम्मेवारी लिएको मान्छेले पाँच, छ घण्टामा सङ्क्रमितको सम्पर्कमा आएको खोजी गर्न सक्थ्यो ।’

थापाका अनुसार कन्ट्याक ट्रेसिङको धेरैभन्दा धेरै तयारीका लागि हजारौँ मान्छेलाई रातारात तालिम दिएर तयार गर्न सकिन्छ । यस्तै उनले सरकारले तीन चरणमा कामको विभाजन गरे पनि अहिलेसम्म पहिलो चरणको काम गरिहेको बताए ।

थापाले भने, ‘स्वास्थ्य मन्त्रालयले  नेपाल तेस्रो चरणमा प्रवेश गरिसक्यो भन्ने सोचका साथ त्यो अनुसार तयारी सुरु गर्नुपर्यो । मानौँ हर्को हप्ता काठमाडौँमा मात्र ५ हजारभन्दा बढी सङ्क्रमित भए । केही मान्छेलाई आइसोलेसनमा राख्नुपर्ने, केहीलाई अस्पताल लानुपर्ने अवस्था आयो भन्ने मानेर तयारी गर्नुपर्यो । अहिले यसरी काम गर्यो भने हर्को हप्ता त्यो सङ्ख्याभन्दा कम सङ्क्रमण देखिए त जित्न सकियो ।’

यस्तै थापाले कोरोना जोखिम कम गर्न सीमा नाका सिल गर्दै केही नाका वैधानिक रूपमा खोल्न सुझाए ।

‘सिमानामा हामी जति दिन रोक्छौँ त्यति नै सङ्क्रमणको जोखिम बढ्छ । त्यसैले तुरुन्त वैधानिक नाका खुलाउनको विकल्प छैन । सिमाना सबै सिल गर्दै निश्चित ठाउँमा केही नाका खोलेर नेपालीहरुलाई भित्र्याउने र उनीहरुलाई क्वारेन्टाइनमा राख्दै पीसीआर गर्न सकिन्छ । मैले भनेका कुरामा तत्काल तयारीका साथ बसियो, यो लडाइँ हामीले जित्छौ जित्छौँ,’ थापाले भने ।

अझै पनि बर्बाद भयो र सक्किहाल्यो भन्ने अवस्था नरहेको उनले बताए । थापाले भने, ‘हामीले यसो गरेनौँ भने अझै लकडाउन थप्दै मात्र जान्छौँ । भोलि यस्तो दिन आउँछ लकडाउन कसैले पनि मान्दैन । त्यसपछि हामी सम्हालिन नसक्नु अवस्थामा पुग्छौँ ।’

डा. अनुप सुवेदी भने कोरोना परीक्षणका लागि सर्वजनिक आह्वान गर्न सुझाउँछन् । अब सरकारले चाल्नुपर्ने कदम आधारभूत जनस्वास्थ्यका उपाय नै हुन् । पहिलो  कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएकाहरुलाई परीक्षण गर्न आउनुहोस् भनेर सार्वजनिक आह्वान गर्न आवश्यक छ,’ उनले भने, ‘त्यो हामीले गर्न सकेका छैनौँ । जोसँग एम्बुलेन्समा जान सक्ने पैसा छ, उनीहरु मात्र खोकी र ज्वारो आएपछि अस्पताल जाने गरेको पाइएको छ । धेरै मान्छेलाई परीक्षण गर्न जान पनि गाह्रो छ । सार्वजनिक आह्वानमा मान्छे आउने अवस्था बनेन भने पनि घरमै गएर परीक्षण गरिदिने काम देशव्यापी रूपमा हुनुपर्यो ।’

डा. सुवेदीका अनुसार त्यसबाहेक पछिल्लो एक डेढ महिनामा भारत र विदेशबाट आएका मान्छेको पीसीआर परीक्षण गर्नुपर्छ ।

‘यो कुरा सरकारको गाइड लाइनमा छ तर खोजी खोजी परीक्षण भएको छैन । काठमाडौँमा १० हजार जनाको कोरोना परीक्षण गर्ने कुरा थियो । अलि अलि नगरपालिकाका फोहोर मैला उठाउने कर्मचारीको परीक्षण भएको सुनियो । अरूको पनि गर्नुपर्यो । जहाँ समुदायमा फैलिएको सङ्केत देखिएको छ, त्यहाँ परीक्षणको दायरा व्यापक बढाउनुपर्यो । काठमाडौँसँगै तराईका क्षेत्रमा फोकस गर्नुपर्ने देखिएको छ,’ उनले भने ।

थापाका जस्तै डा. सुवेदी पनि कन्ट्याक ट्रेसिङको तालिम दिएर धेरै जनालाई परिचालन गर्न सकिने बताउँछन् । उनले भने, ‘सरकारले थुप्रै मान्छेलाई रोजगारी दिने अवसर पनि हुन्छ । यसका लागि १० कक्षा पास गरेको मान्छेलाई तालिम दिन सकिन्छ । उनीहरुलाई पीपीईसम्बन्धी सिकाउनुपर्यो र कन्ट्याक ट्रेसिङका सिद्धान्तबारे सिकाउनुपर्यो । एक दुई दिन तालिम दिए मान्छेलाई मजाले काम लगाउन सकिन्छ ।’

यो पनि कसरी गर्ने भन्ने कुरा पनि सरकारलाई थाहा भएको उनले बताए ।

सुवेदीले भने, ‘विश्व स्वास्थ्य सङ्गठनबाट १८ जनालाई तालिम दिएको सुनेको थिएँ । त्यसै तालिम दिन नसकिए पनि आधारभूत कुराहरु तालिम दिएर मान्छेलाई  परिचालन गर्न सकिन्छ ।’

यस्तै डा. कार्की पनि कोरोना नियन्त्रणका लागि परीक्षण बाहेकको विकल्प नभएको बताउँछन् ।

‘अब हामीले कुनै अलमल नगरी कोरोना पोजेटिभ भएका व्यक्तिहरु कहाँ कहाँ गए ककसलाई भेटे र सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेस गर्न सक्नुपर्यो,’ उनले भने, ‘त्यसपछि सङ्क्रमणको चेनलाई ब्रेक गर्नका लागि यी व्यक्तिलाई समुदायबाट बेग्लै राख्नको उपाय छैन । त्यसका लागि पनि चाहिने भनेको टेस्ट नै हो । त्यसैले डब्लूएचओले टेस्ट–टेस्ट भनिरहेको छ ।’

परीक्षण गर्दा पनि सरकारले एक्टिभ सर्कुलेसनमा जोड दिनुपर्नेमा उनले सुझाए  ।

डा. कार्कीले भने, ‘हामीले एक्टिभ सर्कुलेसन गर्न सकिरहेका छैनौँ । बाहिरबाट आएकाहरुको खोजी गरी घरघरमै गएर टेस्ट गर्नुपथ्र्यो । त्यसलाई विभिन्न तरिकाले गर्न सकिन्छ । जस्तै प्लेनबाट आएका मान्छेको विमानस्थलबाट छिर्दाको डाटा हेरेर घरघरै जान सकियो । स्थलमार्गबाट आएकाहरुमा अलि गाह्रो छ । त्यसरी डाटा राख्न सकिएको छैन होला । तर स्थानीयलाई बाहिरबाट को आयो भन्ने कुरा थाहा हुन्छ ।’

यस्तै टेलिफोन मार्फतबाट पनि कन्ट्याक ट्रेसिङ गरेर देशबाहिरबाट आएकोहरुको परीक्षण गर्न सकिने उनले बताए ।

कार्कीका अनुसार सरकार एक्टिभ सर्कुलेसनभन्दा पनि फोकस सर्कुलेसनमा रुमलिएको छ । ‘कुनै ठाउँमा बाहिरबाट आएका मान्छे छन् रे भनेपछि त्यहाँ परीक्षण गरियो । कोरोना पनि भेटियो । हामी यसरी फोकस खालको सर्कुलेसन गरिहेको छौँ,’ उनले भने ।

यस्तै उनले हरेक व्यक्तिले पनि आफ्नो ट्राभलको रेकर्ड राख्नु जरुरी रहेको बताए । डा. कार्कीका अनुसार कोरिया, चीन, तालिवानलगायत कोरोना जितेका राष्ट्र यसरी नै सफल भएका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.