शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विद्यार्थी र अभिभावकलाई नियमित परामर्श

आइतबार, ०४ जेठ २०७७, १८ : ४०
आइतबार, ०४ जेठ २०७७

विद्यालयको वार्षिक परीक्षा सकेका र एसइईको परीक्षा दिनै नपाएका विद्यार्थी यतिखेर बन्दाबन्दीका कारण घरघरमा नै छन् । 

विद्यालयको वार्षिक परीक्षा सकिएको दुई महिना बितिसक्दा पनि विद्यालय जान नपाएका र एसइईको परीक्षा दिन नपाएका विद्यार्थीलाई घरमा बसिरहँदा अत्यार लाग्न थालिसकेको छ नै अभिभावकलाई पनि चिन्तित बनाएको छ ।

कोरोना भाइरसको महामारी फैलँदै गएका अवस्थामा बन्दाबन्दी जारी छ भने सरकारले अर्को सूचना जारी नहुँदासम्मका लागि विद्यार्थी भर्ना रोक्नु भनेको छ ।

सरकारको निर्देशनलाई आत्मसात् गर्दै सकेसम्म प्रविधिको प्रयोगबाट सामाजिक दूरी कायम गर्दै अधिकांश विद्यालयले विद्यार्थीको वार्षिक परीक्षाफल भने प्रकाशन गरिसकेका छन् ।

परीक्षाफल प्रकाशन गरिए पनि विद्यार्थी भर्ना भने नगरिएको पोखरा महानगरपालिका–३२ स्थित गोगन मावि व्यवस्थापन समितिका अध्यक्ष मेघराज पौडेलले बताए ।

दुई महिनादेखि घरमा रहेका बालबच्चाको आगामी शैक्षिक वर्षको पढाइका लागि अभिभावकहरूले दिनानुदिन चासो व्यक्त गरिरहेको उनले बताए ।

“विद्यार्थी तथा अभिभावकलाई विद्यालयका तर्फबाट टेलिफोनको प्रयोग गरी निरन्तर सम्पर्क गरिरहेका छौँ”, उनले भने, “एसइई दिने विद्यार्थीका लागि त सम्बन्धित विषयका शिक्षकले उनीहरूका पढाइका क्रममा परेका समस्यालाई समेत नियमित परामर्श सेवा दिँदै आउनुभएको छ ।”

अभिभावकसँगको सम्पर्कका क्रममा महामारीको यस क्षणमा बालबच्चालाई घरघरमा नै सुरक्षित राख्न र आगामी पढाइका लागि अनावश्यक चिन्ता नलिन परामर्श प्रदान गरिरहेको उनले बताए । 

लामो समयको घरको बसाइलाई सिर्जनात्मक बनाउन उनीहरूलाई विभिन्न रचनात्मक काममा व्यस्त बनाउन पनि अभिभावकलाई आग्रह गरिएको छ ।

महामारी फैलँदै गएका अवस्थामा विद्यार्थीको भर्ना लिँदा विद्यालयमा पढ्ने विद्यार्थी तथा अभिभावकको चापका साथै पाठ्यपुस्तक खरिद लगायतका विषयले उनीहरूलाई थप चिन्तित बनाउने भएका कारण पनि सरकारले सोचविचार गरेर मात्रै भर्ना खुलाउनुपर्ने देखिएको उनको भनाइ छ ।

कास्कीकै विजयपुरस्थित भवानी कालिका माविले पनि वार्षिक परीक्षाफल प्रकाशन गरिसकेको छ । परीक्षाफल प्रकाशन भए पनि विद्यालयले विद्यार्थीको भर्ना भने नलिएको विद्यालयका प्रधानाध्यापक रमेश भट्टराईले जानकारी दिए ।

यसबीचमा विद्यालयले विद्यार्थी तथा अभिभावकसँग टेलिफोनमार्फत सम्पर्क गरिरहे पनि कतिपय भने बन्दाबन्दीका कारण आफ्ना गाउँघरमा फर्केका कारण सम्पर्क हुन नसकेको उनले बताए । 

उनका अनुसार विद्यालयले एसइई परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि भने सम्बन्धित विषय शिक्षकले निरन्तर सम्पर्क गर्दै शैक्षिक परामर्श प्रदान गरिएका थिए ।

“महामारीको यस क्षणमा दूर शिक्षा, भर्जुअल लर्निङलगायत प्रविधिमा आधारित सिकाइलाई प्राथमिकता दिनुपर्ने देखिन्छ,” नेपाल शिक्षक सङ्घ कास्कीका अध्यक्षसमेत रहेका भट्टराईले भने, “हाम्रो  विद्यमान संरचना एवम् साधनस्रोतको अभाव आदिका कारण यसमा सबैको पहुँच नपुग्नु भने चुनौतीपूर्ण बनेको छ ।”

तथ्याङ्कअनुसार कास्की जिल्लामा करीब ४०४ सामुदायिक विद्यालय र २२८ वटा संस्थागत विद्यालय छन् । जिल्लाका कतिपय विद्यालयले परीक्षाफल प्रकाशन गरिसकेर कतिपय गर्ने क्रममा रहेको जिल्ला शिक्षा समन्वय इकाइ कास्कीका प्रमुख नारायण सुवेदीले जानकारी दिए ।

सरकारले परिपत्र जारी गरेसँगै विद्यालयमा आगामी शैक्षिक वर्षका लागि भर्ना प्रक्रिया शुरु गरिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप