बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

के नेपालका शैक्षिक संस्थाको परीक्षा प्रणालीमा परिवर्तन सम्भव होला ? यसो भन्छन् शैक्षिक क्षेत्रका ज्ञाताहरु

आइतबार, ०४ जेठ २०७७, १८ : ०१
आइतबार, ०४ जेठ २०७७

काठमाडौं– नेपालमा हाल संचालन भइरहेको अनलाइन कक्षा र परिक्षा प्रणालीको प्रभावकारिताबारे प्रश्न उठिरहेको अवस्थामा शिक्षा क्षेत्रका ज्ञाताहरुले यसबारे छलफल गरेका छन् । कम्प्युटर फ्याकल्टी एसोसिएसन अफ नेपाल (सीफ्यान)ले आज शैक्षिक क्षेत्रका व्यक्तित्वहरुसँग “परिवर्तन सम्भव छ ? सन्दर्भः नेपालका शैक्षिक संस्थामा परीक्षा प्रणाली” विषयक अनलाइन अन्तरक्रिया गरेको छ ।

कार्यक्रममा सुदुर पश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अम्मराज जोशीले महामारीको कारणले पारम्परिक शिक्षा प्रणालीमा आघात परेको बताए । विकसित मुलुकहरुमा आवश्यक पूर्वाधार भएकाले डिजिटल माध्यमबाट शैक्षिक गतिविधिहरु संचालन गर्न सम्भव भएको भए पनि नेपालमा अप्ठ्यारो स्थिति रहेको अझ परीक्षा जस्तो सम्बेदनशील कुरामा धेरै गृहकार्य गर्नुपर्ने बताए ।

उनले अहिले रोकिएका परीक्षाको सम्बन्धमा परिस्थितिजन्य निर्णय उपयुक्त समयमा आउला तर भविष्यका निम्ति समग्र परीक्षा प्रणाली र परीक्षा संचालन गर्ने निकायमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव पनि भएको बताए ।

त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले सानो विद्यार्थी संख्या भएका कार्यक्रममा अनलाइन कक्षा संचालन भैरहेको भए पनि विद्यार्थी संख्या धेरै भएका कार्यक्रमका सबै विद्यार्थीहरु अझै सम्पर्कमा ल्याउन नसकिएको अवस्थामा रोकिएका परीक्षा फरक ढंगले गर्ने कुरा अहिले गाह्रो हुने बताए । उनले अहिलेको भन्दा प्रभावकारी र वैज्ञानिक मुल्यांकन पद्दतिमा जाने र त्यसकालागि सम्बद्ध निकायमा आवश्यक सुधार ल्याउन त्रिवीवीले कदम चाल्नुपर्ने बताए ।

काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार प्राडा सुवोध शर्माले नेपालको विद्यमान परीक्षा प्रणालीमा आमुल परिवर्तनको आवश्यकता रहेको र त्यो सम्भव रहेको बताए। डिजिटल माध्यमबाट सम्पूर्ण शैक्षिक गतिबिधि संचालन गर्नु आर्थिक, वातावरणीय तथा अन्य विविध कोणबाट फलदायी हुने बताउँदै सामान्य अवस्थामा मिश्रित विधि उपयोग गर्न सकिए पनि अहिलेको जस्तो अप्ठ्यारो अवस्थामा अनलाइन शिक्षाको कुनै विकल्प नरहेको बताए ।

राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अर्यालले रोकिएका परीक्षा कसरी संचालन गर्ने भन्ने बारेमा विभिन्न कोणबाट अध्ययन भइरहेको भएपनि अहिले सबैको पहिलो प्राथमिकता स्वास्थ्य हुनुपर्छ भन्दै नआत्तिकन घरमा नै बस्न सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरे । सरकार तथा जनस्वास्थ्यविद्हरुले अब परीक्षा संचालन गर्दा हुन्छ भने पछी २ देखि ३ हप्ताको समय दिएर परीक्षाको तालिका प्रकाशन गरिने उनले बताए ।

कार्यक्रममा सीएसआइटी कलेज अर्गनाइजेसन नेपालका अध्यक्ष एवं हिसानका उपाध्यक्ष रामेश्वर अर्यालले पाठ्यक्रमको उद्देश्य पुरा भयो कि भएन भनेर हेर्ने माध्यम परीक्षा हो भन्दै पाठ्यक्रम परिमार्जन नगरी परीक्षा प्रणाली मात्र परिवर्तन गरेर नपुग्ने बताए ।  नेपालमा अहिलेकै अवस्थामा शिक्षक आधारित परीक्षा प्रणाली विस्वसनिय हुन नसक्ने भन्दै केहि अगाडी गरिएको परिवर्तनले विद्यार्थीहरुको गुणस्तरमा कमि ल्याएको पनि उहाँले बताए । 

त्यसैगरी, प्याब्सनका अध्यक्ष टिकाराम पुरीले कोविड–१९ का कारण परीक्षा संचालन गर्न अप्ठ्यारो अवस्था भएकोले यो एक बर्षका लागि मात्र भए पनि एसइईका विद्यार्थीहरुलाई आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्नु पर्ने बताउँदै कक्षा ११ को पनि आन्तरिक मूल्यांकनको आधारमा ग्रेड प्रदान गर्ने पद्दति शुरु गर्नुपर्ने बताए । 

कक्षा ८ मा पालिका स्तरमा, कक्षा १० मा प्रदेश स्तरमा र कक्षामा राष्ट्रिय स्तरमा परीक्षा संचालन गर्नुपर्ने बताउँदै अध्यक्ष पुरीले अन्य कक्षामा विद्यार्थीहरुलाई सबै भन्दा नजिकबाट चिन्ने र बुझ्ने, उनीहरुलाई पढाउने शिक्षकहरु बाट नै मुल्यांकन गराउनुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप