मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

मिस्टर ‘अनभिज्ञ’ !

महत्त्वपूर्ण घटनाबारे प्रधानमन्त्री सधैँ अनभिज्ञ, कसले रोक्छ सूचना ?
शुक्रबार, ०२ जेठ २०७७, ११ : ०५
शुक्रबार, ०२ जेठ २०७७

काठमाडौँ । जब–जब देशमा कुनै महत्त्वपूर्ण घटना हुन्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफ हुन्छ – मलाई यसबारे केही थाहा नै थिएन । चाहे सीमा विवादसँग सम्बन्धित कुरा होस् या भ्रष्टाचारसँग सम्बन्धित होस् या कोरोना नियन्त्रणसँग सम्बन्धित नै किन नहोस्, आफू विवादमा फँस्ने सम्भावना देखिए, उनले यसबारेमा आफूलाई थाहै नै थिएन भनेर पन्छिने गरेका छन् । यदी राष्ट्रका कार्यकारी प्रमुख नै महत्त्वपूर्ण सूचनाबाट बञ्चित हुन्छन् भने यो सरकार कसले चलाउँछ भनेर प्रश्न खडा भएको छ ।

लकडाउन

पछिल्लो पटक वैशाख ३० गते बसेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले उपत्यकाको लकडाउन खुकुलो बनाएकोबारे अनभिज्ञता प्रकट गरेका थिए । वैशाख २८ गतेदेखि उपत्यकाको लकडाउन खुकुलो पार्दै केही उद्योग धन्दा खोल्न दिनुको साथै केही कार्यालय तथा वित्तीय संस्था खोल्न दिने सरकारले निर्णय गरेको थियो । तर मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारिएको प्रति अनभिज्ञता प्रकट गरेका थिए । ‘उपत्यकामा लकडाउन छ र ?,’ भन्ने व्यङ्ग्यात्मक प्रश्न मन्त्रीहरुसँग गरेका थिए । कोभिड–१९’ (नोभल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक ईश्वर पोखरेलमाथि रिस नै पोखेका थिए । सोही विशेष समितिबाट यस्तो निर्णय भएको थियो ।

नेपाली नेपाली भूमीमा भारतीय सडक

भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेकोबारे पनि आफूलाई जानकारी नरहेको कुरा प्रधानमन्त्रीको दाबी छ । भारतले एकतर्फी रुपमा सडक बनाएर त्यसको उद्घाटन गरेको कुरा आफूले पत्रपत्रिकाबाट मात्र थाहा पाएको उनको भनाइ छ । जब कि उनकै क्याविनेटका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले बैशाख २८ गते प्रतिनिधिसभामा बोल्दै सरकारलाई भारतले सडक बनाइरहेको कुरा पहिले नै थाहा भएको र त्यो रोक्न भारतसँग पटकपटक पत्राचार र वार्ता भएको जानकारी सदनलाई गराएका थिए ।

भारतको नयाँ नक्सा

यसअघि भारतले गत नोभेम्बरमा नेपालको कालापानीसमेत भारतीय भूभागमा पारिएको नयाँ नक्सा सार्वजनिक गरेको थियो । त्यो नक्साको बारेमा पनि आफूलाई थाहा नभएको कुरा उनले भनेका थिए । सञ्चारमाध्यममा आइसकेर सबैतिर चर्चा भएपछि पनि प्रधानमन्त्री ओलीले आफ्नो जानकारीमा नरहेको बताएका थिए ।

औषधी खरिद प्रकरण

यहाँसम्म कि सरकारले चीनबाट औषधी खरिद गरेर ल्याउने टेन्डर ओम्नी दिएको कुरा पनि आफ्नो जानकारीमा नरहेको कुरा उनले भनेका थिए । चैत २६ गते बसेको पार्टीको सचिवालय बैठकमा खरिद प्रकरणमा भएको आर्थिक अनियमितताका विषयमा नेताहरूले प्रश्न उठाएपछि प्रष्टिकरण दिने क्रममा प्रधानमन्त्री ओलीले ओम्नीसँग भएको विवादास्पद खरिद सम्झौता बारेमा आफूलाई थाहै नभएको प्रतिकृया दिएका थिए ।

विवादास्पद कम्पनी ओम्नीलाई औषधि खरिदको जिम्मा दिने निर्णय विवादमा आएपछि प्रधानमन्त्री ओलीले उक्त कम्पनीसँगको सम्झौता रद्द गर्ने निर्णय लिएका थिए । रक्षा मन्त्री ईश्वर पोखरेल, प्रधानमन्त्रीकै सचिवालयका सल्लाहकारदेखि स्वास्थ्यमन्त्री भानुभक्त ढकालसम्मका नेता खरिद प्रकरणमा मुछिएका थिए ।

भारतको पत्र

भारतबाट आयातित फलफूल र तरकारीको विषादी परीक्षण बारे नेपालमा निकै चर्चा भएको थियो । विषादी परीक्षण रोक्न भारतले नै नेपाललाई पत्र पठाएको थियो । तर त्यो कुरा पनि आफूलाई थाहा नभएको प्रधानमन्त्री ओलीले त्यतिबेला भनेका थिए । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनले त्यतिबेला गुनासो गरेका थिए ।

मेलम्चीको पानी

त्यस्तै, राजधानीबासीको लागि मेलम्ची खानेपानी कहिल्यै पूरा नहुने सपना जस्तै भएको छ । आज आउँछ भोलि आउँछ भनि सपना देखाउने काम मात्र भएको छ । त्यसले गर्दा मेलम्ची आयोजना बेलाबेलामा विवादमा पनि पर्ने गरेको छ । सुरुङ निर्माणको काम सक्ने जिम्मेवारी पाएको इटालियन ठेकेदार कम्पनीले काम छोडेर भागेको कुरा पनि प्रधानमन्त्रीलाई थाह थिएन । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा त्यस विषयमा कुरा उठ्दा प्रधानमन्त्री ओलीले मेलम्ची खानेपानी आयोजनाको कामबारे खानेपानी सचिवले आफूलाई ढाँटेको प्रतिकृया दिएका थिए । उनले मेलम्चीले अहिले भोगिरहेको समस्याबारे आफूलाई कुनै जानकारी नदिएको गुनासो गरेका थिए ।

चिनी आयातमा रोक

त्यति मात्र होइन, त्यसअघि दसैँताका सरकारले गरेको एकलाख टनभन्दा बढी चिनी आयात रोक्ने निर्णयबारे पनि आफूलाई थाहा नभएको बताएका थिए । जब कि त्यो निर्णय मन्त्रीपरिषद्बाट नै भएको थियो । एक लाख मेट्रिक टनभन्दा बढी चीन आयात गर्न सरकारले रोकेको थियो । वि.सं. २०७५ को चैतमा भएको एक व्यपारीहरुको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले त्यसबेला सरकारलाई चिनी व्यापारीले झुक्याएको आरोप लगाएका थिए ।

यी घटनाहरुबाट प्रष्ट हुन्छ कि यो सरकार प्रधानमन्त्री ओलीको नियन्त्रण भन्दा बाहिर छ । पूर्वराष्ट्रपतिका प्रेस सल्लाहकार रहिसकेका वरिष्ठ पत्रकार राजेन्द्र दाहालले आफ्नो ट्वीटरमा लेखेका छन्,‘लिपुलेक, कालापानी क्षेत्रमा भारतले सडक बनाउँदै छ भन्ने परराष्ट्रमन्त्रीलाई थाहा थियोे, दार्चुलाका सिडिओलाई थाहा थियोे, प्रेसमार्फत आम नेपालीलाई थाहा थियो तर प्रधानमन्त्रीलाई थाहा थिएन रे ! प्रधानमन्त्रीजी बुझ पचाउनु भएको होइन भनेर कसरी पत्याउनु ?’

नेकपाकै एकजना पूर्वप्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार रहिसकेका एक नेता भन्छन्, ‘सरकारको त्यत्रो संयन्त्र हुन्छ, सारा साधन, स्रोत, सुविधा हुन्छ । त्यस अवस्थामा पनि प्रधानमन्त्रीले जानकारीमा आएन भन्न सुहाउँदैन ।’ पार्टीमा विवाद चलिरहेको कारण नाम उल्लेख नगर्न भनेका ती नेताले प्रधानमन्त्री ओलीले झुठो बोलेर जनतालाई भ्रमित गरिरहेको बताए । ‘वहाँलाई सबै कुरा थाह हुन्छ,’ तर विवादबाट बच्नका लागि उनले आफूलाई जानकारी नै नरहेको कुरा भनेर पन्छिने गरेको उनले दावी गरे । ‘पार्टीमा पनि उनको त्यही बानी रहेको छ । पार्टीमा पनि कुनै विवाद भयो भने ‘ए यस्तो हो र ?, मलाई थाहै थिएन’ भनि पन्छिने गगर्छन्,’ उनले भने, ‘तर अहिलेको जमानामा यसरी पन्छिन सकिँदैन, सबै कुरा सबैलाई थाह हुन्छ ।’

कहाँबाट असहयोग ?

अर्कोतिर प्रधानमन्त्री ओलीलाई उनको सरकारका मन्त्री अथवा ब्युरोक्रेसीले साथ नदिएको हुनसक्ने विश्लेषणहरु पनि भइरहेको छ । योसँगै प्रधानमन्त्रीका निजी सचिवालयमाथि पनि प्रश्न खडा भएको छ । प्रधानमन्त्री ओलीलाई उनको निजीसचिवालयबाट उपयुक्त सहयोग नभइरहेको गुनासो पनि सुन्ने गरिएको छ ।

निजी सचिवालयले उपयुक्त समयमा उपयुक्त जानकारी नदिएको कारणले प्रधानमन्त्री ओलीलाई कार्य सम्पादनमा समस्या उत्पन्न भएको हुनसक्ने जानकारहरु बताउँछन् ।

प्रधानमन्त्री तथा मन्त्रीहरुले आफ्नो लागि सल्लाहकारको टीम त्यसैका लागि बनाएका हुन्छन् । सम्बन्धित क्षेत्रका विज्ञ नै राखेका हुन्छन् । सरकार कसरी सञ्चालन भइरहेको छ, त्यसको जस–अपजस निजी सचिवालयलाई पनि जान्छ । तर प्रधानमन्त्री ओलीको कार्यशैली र अभिव्यक्तिले गर्दा सचिवलयको क्षमता माथि पनि प्रश्न खडा भएको जानकारहरु बताउँछन् ।

त्यतिमात्र होइन देश तथा विदेशमा हुने गतिविधिको सुक्ष्म अध्ययन गर्नका लागि सूचना संकलन गर्न विभिन्न संयन्त्रहरु सरकारसँग छ । त्यसमा राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री ओलीले आफ्नो मातहतमा राखेका छन् । त्यसबाहेक सेनाको छुट्टै, नेपाल प्रहरीको छुट्टै, सशस्त्र प्रहरीको छुट्टै, यहाँसम्म कि गृहमन्त्री मातहत पनि सूचना संकलन गर्ने संयन्त्र छुट्टै हुन्छ ।

सरकारसँग यतिका संयन्त्र हुँदाहुँदै पनि सरकारका नेतृत्वकर्ताले राष्ट्रिय–अन्तर्राष्ट्रिय गतिविधिका कुरा थाहा पाइन भन्न सुहाउँदैन । अहिले त झन् स्थानिय निकाय पनि छन् । हरेक वडा हरेक तहमा अहिले सरकारका प्रतिनिधि हुन्छन् । कुनै सूचना वा जानकारीबाट कोही अनभिज्ञ रहन सक्दैन ।

राजनीतिक विश्लेषक एवं लेखक श्रीकृष्ण अनिरुद्र गौतम प्रधानमन्त्री ओलीले यसरी पन्छिन् नमिल्ने बताए । उनले भने, ‘आम जनताले मलाई यो कुरा जानकारी छैन, वा जानकारी थिएन भन्न पाउँछ तर प्रधानमन्त्री ओली जुन पदमा, जुन जिम्मेवारीमा बस्नुभएको छ त्यस अवस्थामा उहाँले मलाई यो कुरा जानकारी दिएन भन्न मिल्दैन ।’

‘सरकार एउटा मिसनेरीबाट चल्छ । सरकारका विभिन्न संयन्त्रहरु हुन्छन् । ती संयन्त्रमध्ये कसैलाई कुनै कुराको जानकारी छ भने त्यो प्रधानमन्त्रीलाई नै जानकारी रहेको सरह हुन्छ,’ उनले भने, ‘प्रधानमन्त्रीको पदमा बस्ने व्यक्तिले राज्यको कुनै कुरा थाह छैन, जानकारीमा छैन भन्न मिल्दैन ।’ यद्यपी प्रधानमन्त्री ओलीले जवाफदेहिताबाट पन्छिनका लागि पटक पटक यस्तो गरेको टिप्पणी गर्दै उनले कसैलाई कुनै जवाफ दिन नपरोस् भनेर नै प्रधानमन्त्री सिधै आफूलाई जानकारी नभएको भन्दिने गरेको उनको बुझाइ छ ।

तर प्रधानमन्त्री ओली सूचनाबाट कति पछाडि छन् भने कुरा एउटा घटनाले पुष्टी भएको छ । कोरोनाभाइरस नियन्त्रणका लागि लागू गरिएको लकडाउनको अवधि लम्बिएपछि काठमाडौँबाट मान्छेहरू हिँडेर घर जान थाले । भोकभोकै हप्तौँसम्म हिँडेर घर पुगेका भिडियो र फोटोसमेत सार्वजनिक हुन्थ्यो । तर प्रधानमन्त्री ओलीले सो कुरा आफ्नो जानाकारीमा नरहेको अभिव्यक्ति दिएका थिए । यहाँसम्म कि सिडियो र प्रहरीले थाहा नपाएको विषय पत्रकारले कसरी थाहा पाउँछ भन्ने लाचारपूर्ण प्रश्न गरेका थिए । पत्रकारले त कतै मजदुरलाई सडकमा ‘प्लान्ट’ गरेका त होइनन् भन्ने उनको संकेत थियो । पत्रकारले ढिलो सूचना दिएकोप्रति पनि उनको गुनासो थियो ।

यसले पनि पुष्टि हुन्छ कि प्रधानमन्त्री ओलीलाई उनको संयन्त्रले जानकारी दिँदैन या प्रधानमन्त्री ओलीले स्वयं जानकारी लिन मान्दैनन् वा जानकार भएर पनि अनभिज्ञता देखाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप