शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अष्टलक्ष्मी शाक्य भन्छिन्– कोरोना त प्रधानमन्त्री ओलीका लागि बैठक नराख्ने बहाना बन्यो

बुधबार, ३१ वैशाख २०७७, १४ : ५२
बुधबार, ३१ वैशाख २०७७

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अघिल्लो दिन मात्रै  आज बुधबार ११ बजेका लागि तय भएको स्थायी समिति बैठक अचानक बैठक सुरु हुनुभन्दा डेढ घण्टाअघि मात्रै स्थगित भयो । बैठक बोलाएकोमा खुसी हुँदै सहभागी बन्न हिँडेका सदस्यहरुले बाटैमा बैठक स्थगित भएको खबर सुनेपछि बीच बाटोबाटै फर्किए । त्यसमध्येकी एक हुन् अष्टलक्ष्मी शाक्य । शाक्यलाई हामीले बैठक स्थगित भएको कतिबेला थाहा पाउनुभो भनेर सोध्दा हाँस्दै भनिन्, ‘खाना खाएर चोकमा पुगेकी थिएँ, भरे त बैठक स्थगित पो भइसकेछ ।’

उनले बैठक स्थगित हुनुमा कोरोना बहाना मात्र भएको भन्दै असन्तुष्टि पनि जनाइन् । बैठक स्थगित भएकोमा के भन्छिन् त नेतृ शाक्य ? शाक्यसँग रातोपाटीले छोटो प्रश्नोत्तर गरेको छ । प्रस्तुत छ शाक्यसँगको कुराकानी जस्ताको तस्तै :

स्थायी समिति बैठक स्थगित भएको कतिबजे थाहा पाउनुभयो ?

–खाना खाइवरी चोकमा पुगेकी थिएँ । १० बजेको थियो होला खबर पाउँदा ।

किन यस्तो भयो होला ?

–यस्तै हुन्छ भन्ने शङ्का त लागेको थियो तर अचानक भयो पनि यस्तै ।

कोरोनाभन्दा बैठक ठूलो त होइन नि, बैठक स्थगित गरेर राम्रै भएन र ?

–होइन, कोरोना छ भन्ने त थाहा भएकै कुरा हो नि । यस्तोमा बैठक कसरी सुरक्षित बनाउने भन्ने कुरा त हाम्रो मात्रै काम होइन । उहाँहरु (पार्टी नेतृत्व र सरकार) को हो । सत्तामा बसेको हुँदा झन् त्यो कुरा बुझेर स्थायी कमिटी सदस्यहरुको कोरोेना चेकजाँच गराउने कि नगराउने, के–के नियम पालना गर्नुपर्ने हो त्यो कुरा पहिल्यै गर्नुपर्ने होइन र ? त्यो व्यवस्थापन नगर्ने अनि अन्तिममा आएर अनेकौँ कामहरु मिलाइसकेपछि स्थगित गर्ने ? यो राम्रो भएन । अझ आज त सबै आफ्नो आफ्नो घरबाट समेत हिँडिसकेपछि निर्णय भएछ । बैठकस्थल पुग्न पनि एक आधा घण्टा त लाग्छ । दुःख भयो, त्यही हो ।

बैठक स्थगित गर्नुमा कोरोना बहाना मात्रै हो भन्ने तपाईंको गुनासो हो ?

–हो, हो । यो कोरोना त बहाना मात्र हो । मनै छैन । प्रस्ट भन्नुपर्दा उहाँ (अध्यक्ष केपी ओली ) लाई बैठकमा उभिन नै मन लाग्दैन । कुरा सुन्न नै मन लाग्दैन । अस्तिदेखि हामीले भनेको भन्यै गरेको हो नि त । उहाँमा धैर्यता राख्ने, कुरा सुन्ने र आलोचना सहने क्षमता भइदिएको भए पार्टी अहिलेसम्म धेरै व्यवस्थित भइसकेको हुनेथियो ।

अध्यक्षलाई मनै नभएर स्थगित भएको होला त बैठक ?

–हो नि, आज बैठकमा अलिअलि कुरा उठिहाल्छ । समग्रमा कुरा उठ्ने भएपछि र उहाँमा त्यो कुरा सुन्ने सहास देखिएन  । अर्को उहाँमा धैर्यता पनि छैन । समस्या यही हो क्या ।

स्थायी समिति सदस्यहरुको कोरोनाको पीसीआर रिपोर्ट नआइसकेकाले बैठक स्थगित गर्नुपर्यो भनिएको छ । तपार्इं लगायत स्थायी समिति सदस्यले कोरोना परीक्षण त गर्नुभएको थियो नि होइन ?

–होइन कसरी गर्नु यो सबै ? मैले भने नि स्थायी कमिटीको बैठक बस्नुअगाडि जसरी संसद बस्नुअघि सबै तयारी गरियो, सबैको चेकजाँच भयो, त्यसरी गर्नुपर्ने हो पार्टीमा पनि । आफ्नै पार्टीको सरकार भएको, प्रधानमन्त्री र मन्त्रीहरु सत्तामा भएको पार्टीले कसरी स्थायी समिति बैठक बस्ने भन्ने कुरा त व्यवस्थित गरेर निर्णय गर्नुपथ्र्यो नि । फेरि हामीलाई त बैठक बस्ने भनेर हिजो न आएको हो अचानक खबर ।

हिजो बैठक बस्ने भनेपछि कोरोना परीक्षण गर्नु भनेर भनिएन तपार्इंहरुलाई ?

–त्यसो भनिदिएको भए त हुन्थ्यो नि । त्यो पनि भनेनन् । केही पनि जानकारी दिएनन् । अचानक बैठक हुने रे भनेर जानकारी आयो । त्यति हो ।

बैठक स्थगित भएको जानकारी चाहिँ कसरी भयो नि ?

–हामी सबै आआफ्नो घरबाट कसरी जाने भनेर बल्लबल्ल मिलाएका थियौँ । कतिको आफ्नै गाडी पनि छैन । सार्वजनिक बस पनि चलेको छैन । त्यही भएर हामी एकातिर बस्नेहरु एउटै गाडीमा मिलाएर जाने भनेर सबै चोकचोकमा पुगिसकेका थियौँ । भरे त (हा.हा...हा..) नाटक जस्तै भयो ।

नाटक नै गरेको होला त ?

–दिक्क त लाग्छ तर दिक्क मान्नु पनि भएन नि । योे पार्टी कसरी चलिरहेको छ भन्ने कुरा छ्याङ्गै भयो । प्रस्टै भयो । पार्टी कसरी चलिरहेको छ ? नेतृत्व कस्तो छ भन्ने कुरा यो घटनाले पनि देखायो । नत्र यत्रो कोरोनादेखि लिपुलेक र नीति तथा कार्यक्रमसम्मका समस्या छन्, छलफल गर्नुछ  । तर हालत यस्तो छ । स्थायी कमिटी भनेको त महत्त्वपुर्ण कमिटी हो । यस्तो महत्त्वपूर्ण बैठक बस्ने कुरामा यस्तो पारा छ । केटाकेटी पारा भनौँ कि के भन्नु ? हचुवा भन्दा पनि होला । बहाना बनाएर र टारेरै हुन्छ भन्ने देखियो  । बहाना नै बनाउने हो भने त जहिले पनि एउटा एउटा बहाना त निस्किहाल्छ नि । तर अब अहिले कोरोना बहाना बनिदियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप