मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा स्थायी समिति बैठक : विषय धेरै, समय थोरै

बुधबार, ३१ वैशाख २०७७, ०९ : २२
बुधबार, ३१ वैशाख २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक आज बुधबार बस्दैछ । बैठकमा आगामी बर्षका लागि सरकारले ल्याउने नीति तथा कार्यक्रम र लिपुलेकमा भारतले बनाएको सडकबारे छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए । महासचिव पौडेलका अनुसार समयका कारण सम्भवतः बैठक एक दिन मात्रै बस्नेछ ।

‘नीति तथा कार्यक्रम र लिपुलेक अहिलेका प्रमुख विषय हुन् । मुख्यतः तिनै विषयमा छलफल हुन्छ । अन्य विषयमा पछि छलफल गर्ने गरी बैठक बस्छ,’ पौडेलको भनाइ छ ।

यता बैठकको माग गर्दै आएका स्थायी समिति सदस्यहरुले छोटै समय भएपनि बैठक बोलाउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्  ।

स्थायी समिति सदस्य भीम रावलले कोरोना र लिपुलेक बाहेक अध्यादेश, सरकार र पार्टीका विषयमा पनि समयभएसम्म छलफल हुनसक्ने बताए । उनले अहिलेकोे मुख्य मुद्दा कोरोना संक्रमण भएको भन्दै राष्ट्रियताको सन्दर्भमा भारतीय अतिक्रमणबारे पनि छलफल हुने जनाए । अर्का स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यले  बैठकको सुरुवात गर्नु नै सकारात्मक भएको भन्दै विषय राख्ने क्रममा सबै कुरा उठ्ने बताइन् । ‘बैठकमा अध्यक्षहरुले सम्बोधन गर्नुहोला, कसरी प्रस्तुत हुनुहुन्छ त्यसमा भरपर्ने भएकाले त्यसपछिमात्रै कसरी जाने भन्नेमा भर पर्छ’, शाक्यले उठेका विषयहरु ढाँटेर, छलेर र लुकाएर समाधान नहुने भन्दै जति प्रस्ट छलफलहुन्छ त्यति छिटो निचोड पनि आउने बताइन् । उनले कोरोना संक्रमण बढिरहेका बेला नियन्त्रणको प्रयास के कसरीे भइरहेको छ भनेर बुझ्ने, दोस्रो लिपुलेकमा भारतीय पक्षले बनाएको सडक र सिमा अतिक्रमबारे बुझ्ने, तेस्रो नीति तथा बजेट तथाचौथो पार्टी र सरकारको समिक्षामा अध्यादेशसँगै केन्द्रीय कमिटिका निर्णयका बारेमा छलफल हुनसक्ने बताइन् ।

शाक्यसहित २० जना स्थायी समितिका सदस्यहरुले सरकारले दुई अध्यादेश ल्याएपछि छलफल गर्न भन्दै स्थायी समिति बैठकको माग गरेका थिए । तर अध्यादेश वैशाख १२ गते नै खारेज भैसकेको छ । अध्यादेश खारेज भैसकेपछि बैठकको औचित्य नभएको भन्दै अध्यक्ष ओली बैठक राख्न यसअघि सहमत थिएनन्, जसका कारण वैशाख २५ गतेका लागि तय भएको बैठक स्थगित भएको थियो । तर नेताहरुले एक दिन भएपनि बैठक बोलाउनुपर्ने दबाब दिएपछि वैशाख ३१ गते बस्ने गरी अघिल्लो दिनमात्रै मिति तोकिएको थियो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच कुराकानी हुँदा नीति तथा कार्यक्रम र बजेटका दुई एजेण्डामा छलफल भएमात्र बैठक बोलाउने सहमति भएपछि आजको बैठक बोलाएको हो ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले नीति तथा कार्यक्रम र आगामी आर्थिक बजेटको बारेमा मात्र छलफल भए मात्र बैठक बोलाउन सकिने अडान लिएपछि यो बैठकमा सहमति भएको थियो । स्थायी कमिटीको बैठक नबसे पार्टीको तर्फबाट संसद बैठकलाई नियन्त्रण गर्न नसकिने अध्यक्ष प्रचण्डले भनेपछि अ‍ोली बैठक बोलाउन तयार भएको सचिवालयका एक सदस्यले बताए

संसदमा अहिले प्रि–बजेट छलफल भइरहेको छ । छलफलमा बोल्ने सांसदहरुले पार्टीको समेत आलोचना गरिरहेका छन् । त्यो कुरा अध्यक्ष ओलीलाई मन परेको छैन । उनले त्यसको गुनासो नेताहरु समक्ष पनि गरेका छन् । ‘पार्टीको बैठक नबसे नेताहरुले यस्तै बोलिरहन्छन्, उनीहरुलाई नियन्त्रण गर्न सकिदैन,’ भन्ने कुरा राखेपछि अध्यक्ष अ‍ोली बैठकका लागि सहमत भएका हुन् । । यद्यपी बैठक बसेपछि बोल्ने क्रममा नेताहरुले आआफ्नो अन्य विषयहरु पनि राख्न सक्ने छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप