शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘पैसाको महत्त्व रहेनछ’

मङ्गलबार, ३० वैशाख २०७७, ११ : २८
मङ्गलबार, ३० वैशाख २०७७

काठमाडौँ । भुवन चन्द पहिलो नेपाली फिल्म ‘आमा’ की नायिका हुन् । त्यसैले पनि उनी प्रथम नेपाली नायिका भनेर चिनिएकी छिन् । विसं २०१० सालमा नाटकबाट कलायात्रा सुरु गरेकी चन्दले २०२१ मा चलचित्र आमा अभिनय गरेकी थिइन् ।

अहिलेसम्म ६६ वर्ष कलायात्रामा बिताएकी चन्दको सो यात्रा अहिले पनि जारी छ । उनले अहिलेसम्म थुप्रै नाटक, ४ दर्जनभन्दा बढी टेलिशृङ्खला, यतिकै सङ्ख्यामा फिल्म र केही म्युजिक भिडियो समेत अभिनय गरेकी छन् । कोरोनाका कारण सिर्जित यो लकडाउन अन्य मानिसझैँ उनले पनि घरमै बिताइरहेकी छन् । घरको काम गर्ने, फिल्म हेर्ने यस्तै यस्तै छ लकडाउनमा दिनचर्या ।

जीवनको नौलो अनुभव लकडाउन भएको उनी बताउँछिन् । यो लकडाउनले धेरै कुरा सिकाएको समेत महसुस गरेकी छन् । अभिनेत्री भुवन चन्दकै शब्दमा उनको लकडाउन डायरी ः

मेरो दिनचर्या पहिले जस्तो थियो लकडाउनको समयमा पनि त्यस्तै नै छ । किनभने पहिले पनि काम नभएर फुर्सदै फुर्सद थियो, घरमै बस्थेँ । अहिले पनि त्यही हो ।

लकडाउन मेरा लागि भन्दा पनि काम गरेर खाने व्यक्तिहरुका लागि सङ्कट भएर आयो । उनीहरुका लागि निकै गाह्रो परिस्थिति हो ।

लकडाउन एक किसिमले हेर्ने हो भने मैले जेल जस्तो पाएँ । किनभने बाहिर कतै निस्किन, आफन्त भेट्न, आफन्त घरमा आउन, आफू आफन्तको घरमा जान केही गर्न पाइँदैन ।

कोरोना, कहिलै नसोचेको, कहीँ नदेखेको अचम्मको रोग हो । एक देशमा मात्र होइन संसारभर यसले आतङ्क मच्चाएको छ ।

संयम सिकायो

मानिस एक दुई दिन घरमा बस्नुपर्दा सक्दिनँ भन्थे । दुनियाँदारी नाटक गर्थे तर चाह्यो भने सकिँदो रहेछ । कोरोनाको कारण सिर्जित लकडाउनले यस्तो देखाएको छ । आजको दिनसम्म पनि मानिस घरमै बसेका छन् त !

लकडाउनमा पनि मेरो दैनिकी भने पहिले झँै छ । घरमा श्रीमान् श्रीमती मात्र छौँ । काम गर्ने मानिस छैनन् । धेरै मानिस नभए पनि काम भने उस्तै हुँदो रहेछ । खाना पाकाउँदा, घरको सरसफाइ लगायतका काममा दिन बितिरहेको छ । बचेको समय फिल्महरु हेर्छु ।

३, ४ दिनमा सपिङका लागि घर बाहिर निस्किन्छु । घर नजिक तरकारी पसल छ । अन्य सामान पनि त्यहीँ नजिक भएकोले सजिलो छ ।

पहिलो अनुभव

लकडाउन मेरो जीवनको पहिलो अनुभव हो । लकडाउन यति धेरै होला भनेर मैले मात्र होइन कसैले पनि सोचेका थिएन होला ।

जीवनमा अहिलेसम्म तीन ठूला कुराको अनुभव भयो । ५ वर्ष अगाडि भुइँचालो, केही अगाडि यस्तै अर्काे महामारी पनि आएको थियो । रोगको नाम भने बिर्सिएँ । अहिले कोरोना आयो । यसले कहिलै नसुनेको, नभोगेको लकडाउन जस्तो परिस्थितिको सामना गरायो ।

यो लकडाउन र कोरोनाको महामारी जीवनमा कसैले पनि भोग्नु नपरोस् भन्ने मेरो धारणा छ ।

मेरा छोराहरु अमेरिकामा छन् । अमेरिकामा कोरोनाको असर अन्य ठाउँमा भन्दा धेरै देखिएको छ । त्यसैले उनीहरुको स्वस्थ्यको चिन्ता धेरै लाग्छ ।

बिहान बेलुका नियमित फोन गर भनेका छौँ । हामी पनि गर्छाैं । फोनमा उनीहरुको आवज सुन्यो, सुरक्षित रहन आग्रह गर्यो । भगवानसँग प्रथाना गर्यो । अहिले यति नै गर्न सकिन्छ ।

कोरोना जस्तो रोग कहिलै नदेखियोस्, कसैलाई नहोस् भन्ने लागेको छ । अर्काे कुरो यसले हामीलाई संयम भएर बस्न, जस्तो परिस्थितिको पनि सामान गर्न, मेलमिलाप गरेर रहन र मानवताको ज्ञान दिएको छ । आफूसँग भएको बाँडेर खान सिकाएको छ । मैले पनि खान नपाएका केही व्यक्तिलाई सहयोग गरेँ ।

पैसाको महत्त्व रहेनछ

हामी जीवन जिउनका लागि सधैँ भागदौड गर्दछौँ । त्यो व्यर्थ रहेछ भन्ने कोरोनाले सिकायो । अहिले आएर मैले पैसा केही होइन रहेछ भन्ने बुझेँ । सेवा र मानवता नै सबैभन्दा ठूलो रहेछ भन्ने अनुभव गरेँ किनभने लकडाउनमा पैसा भए पनि खान पाइएन, कोरोनाको उपचार भएन, चाहेको ठाउँमा हिँड्न पाइएन ।

मेरो काम केही छैन । लकडाउन पछि के गर्ने भनेर सोचेकी पनि छैन । केही अगाडि ‘साइनो’ नामक फिल्म निर्माण गरेकी थिएँ । फिल्मले पनि डुबायो ।

फिल्म उद्योग पनि दिन प्रतिदिन बिँग्रदो थियो । अहिलेको लकडाउनले झन् तहसनहस बनायो । मलाई लाग्छ अवको एक वर्ष लाग्छ होला फिल्म उद्योग पहिलेको गतिमा फर्किन ।

म मात्र होइन । कुनै पनि निर्माता अहिलेको परिस्थितिमा फिल्म निर्माण सोच्न सक्दैनन् । बिस्तरै फर्किएलान् । म पनि फिल्म निर्माण गर्न सक्छु ।

लकडाउनको समय पनि मैले फ्यान, साथीभाइ, सबैको साथ पाइरहेको छु । उहाँहरुले फोन, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट हालखबर बुझ्ने गर्नुभएको छ । चिन्ता लिने गर्नु भएको छ । यसले धेरै खुसी मिल्दो रहेछ । उहाँहरुसँग भेटेजस्तो, सँगै भए जस्तो लाग्दो रहेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप