शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रोटीबेटीको सम्बन्धमा काँडा बनेर आयो कोरोना

प्रदेश ५ मा संक्रमित अझै बढ्न सक्ने अनुमान
सोमबार, २९ वैशाख २०७७, १८ : ५६
सोमबार, २९ वैशाख २०७७

बुटवल । भनिन्छ, नेपाल–भारत सम्वन्ध रोटीबेटीसँग जोडिएको छ । नेपालको तराई भेगका बासिन्दा र भारतीय नागरिकबीच चल्ने बिहेबारी, रोजगारी, व्यापारलगायतका कारण पनि रोटीबेटीको सम्बन्ध बर्षौंदेखि चलिरहेको छ । तराईका कतिपय जिल्ला तथा स्थानमा भारतीय र नेपाली नागरिकको किनमेल गर्न जाने बजार नै एउटै छन् 

सीमाक्षेत्रका बासिन्दाहरुको सानो व्यापारदेखि रोजगारीका लागि समेत दुवैतर्फ जाउजाउ हुने गर्दछन् ।

पाँच नम्बर प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाको भारतसँग सिमाना जोडिएका छन् । 

नवलपरासी, रुपन्देही कपिलवस्तु, बाँके, बर्दिया र दाड भारतसँग सीमा जोडिएका जिल्ला हुन् । तर खुला सिमाना र रोटीबेटीको सम्वन्धलाई अहिले कोरोना भाइरसको त्रासले अप्ठ्यारोमा पारेको छ ।  

रोटीबेटीको सम्वन्ध बन्नु स्वाभाविक रहेको पूर्वकृषि राज्यमन्त्री तथा रुपन्देही मायादेवी गाउँपालिकाका स्थायी बासिन्दा ओमप्रकाश यादव (गुन्जारी) बताउँछन् ।

‘यो रोटीबेटीको पुरानो सम्बन्धमा अहिले कोरोना काँडा बनेर आएको छ । कामका लागि आउजाउ त हुने भैहाल्यो । त्योबाहेक हाम्रो समुदायमा यताउता बिहेबारी समेत हुुन्छ’, यादवले रातोपाटीसँग भने,‘तर अहिले कोरोनाले समस्या निम्तिएको छ ।’

१२ जिल्ला रहेको प्रदेश ५ मा ६ जिल्ला कोरोेनाको बढी जोखिममा रहने अनुमान गरिएपनि अहिलेसम्म बाँके, नवलपरासी, बर्दिया र कपिलवस्तु गरी तीन जिल्लामा मात्रै कोरोना संक्रमित भेटिएका छन् ।

ती सबै कोरोना संक्रमित भारतबाट आएका र उनीहरुको सम्पर्कमा रहेका व्यक्तिहरु भएको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. बिनोद गिरीको भनाइ छ ।

प्रदेशमा कुल ३८५.२ किलोमिटर भारतसँग खुल्ला सीमा रहेकोमा ६ वटा मुख्य भन्सार नाका छन् । ६ वटा छोटी भन्सार र ४४ स्थानका दशगजासम्मै पिच सडकले जोडेको छ ।

प्रदेशका सीमा क्षेत्रमा सशस्त्र प्रहरीका करिब ७ हजार र नेपाल प्रहरीका साढे ६ हजार सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

चोरबाटोले निम्त्याएको चिन्ता
अहिले नेपाल भारत दुवै देश लकडाउनमा छन् । तर, लकडाउनकै बीचमा पनि पाँच नम्बर प्रदेशमा चोरबाटो हुँदै भारतबाट नेपाल छिर्नेहरुको कमी छैन । प्रहरीले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको दावी गरेपनि त्यो पत्याउने कुनै आधार भेटिदैन । 

यो प्रदेशमा पछिल्लो पटक भेटिएका कोरोना संक्रमितहरु लकडाउनकै समयमा दिल्ली र मुम्बाईबाट नेपाल भित्रिएको पुष्टि भएपछि प्रहरीको दावी फिक्का भएको हो ।

रुपन्देहीको मर्चरबारका कोरोना संक्रमित युवा दिल्लीबाट लकडाउनकै समयमा चोरबाटो हुँदै घर आएका थिए । कपिलवस्तुका १५ कोरोना संक्रमित पनि लकडाउनकै समयमा नेपाल आएको पाइएको छ ।

बाँकेको नेपालगन्जमा शुरुमा भेटिएका ६० वर्षीय पुरुष पनि भारत जानेआउने गरेको खुलेको थियो । कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौड्यालले कपिलवस्तुमा आएका कोरोना संक्रमित सिमानाकाबाट लुकिछिपी आएको रातोपाटीलाई बताए ।

उनीहरु रोटी अर्थात् रोजगारीकालागि भारत गएका हुन् । जसमा ८ जना कपिलवस्तुको यशोधारा गाउँपालिकाका छन् । ‘कुलानाला हुँदै पनि आउछन् । कसरी रोक्न सकिन्छ ? लुक्दै आउनेहरु दिनदिनै बढेका छन्’,कपिलवस्तुको यशोधरा गाउँपालिकाका स्वास्थ्य संयोजक ज्योति प्रसाद दुवेले रातोपाटीसँग भने, ‘यो गाउँपालिका भारतको सिद्धार्थनगर जिल्लासँग जोडिन्छ ।’ यो बाहेक कपिलवस्तुका अन्य गाउँपालिकाहरु पनि भारतसँग जोडिएका छन् । गाउँपालिका अध्यक्ष गिरजेश कुमार पाण्डे भन्छन्, ‘उताका यता आउने र यताका उता जाने पहिलेदेखि नै हो । अहिले उता भएकाहरु यता धरै आएका छन् ।’

रुपन्देहीको मर्चवारीमाई गाउँपालिकासँग सीमा जोडिएको भारतीय गाउँ कोल्हुई र पुरन्दपुर थाना आसपासका गाउँका ६ जनामा कोरोन संक्रमण  भएको थियो । उताको सम्वन्ध जस्तै त्रास पनि मर्चबारमा कायमै छ । 

कोरोना संक्रमित भेटिएको भारतीय गाउँ कोल्हुईबाट नेपाली भूभाग मर्चवारीमाई गाउँपालिका पैदल पुग्न १० मिनेटमात्र लाग्छ । सीमावर्ती भारतीय क्षेत्रमा संक्रमित भेटेपछि पनि आउने क्रम नरोएपछि त्रास बढेको समरीमाई गाउँपालिकाका बासिन्दा निरन्जन पाठक बताउँछन् ।

पाठकका अनुसार समरीमाईको ठोटरी नाकाबाट मान्छेहरु राति समेत आउने गरेका छन् । तर सवैलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था फिलतो भएकाले स्थानीयमा चिन्ता थपिएको उनको भनाइ छ ।

सीमामा ५० मिटरदेखि डेढ सय मिटरको दुरीमा सशस्त्रका जवानहरु खटाइएको छ । त्यो बाहेक नेपाल प्रहरीले पनि  साढे ६ हजार जनशक्ति खटाएको प्रदेश ५ का प्रदेश प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवराज पोखरेलको भनाइ छ । उनले सीमामा प्रहरीको आँखा छलेर आउनेहरुलाई केही गर्न नसकिएको बाध्यता सुनाए । 

प्रदेश ५ मा सोमबारसम्म ४० जना कोरोना संक्रमित भेटिएका छन् । बांँकेमा २४ ,कपिलवस्तुमा १५ र रुपन्देहीमा १ जना संक्रमित भेटिएका हुन् । बाँकेमा भेटिएकालाई नेपालगन्ज तथा रुपन्देही र कपिलवस्तुमा भेटिएकालाई बुटललमा राखिएको छ ।

संक्रमित अझै बढ्न सक्ने अनुमान
कोरोना परीक्षणका लागि प्रदेश ५ मा केही दिनअघिसम्म किट अभाव भएर रोकिएको स्वाब नमूना संकलन र परीक्षण शनिबारदेखि निरन्तरता पाएको छ । 

भैरहवा, दाग र नेपालगञ्जमा कोरोना परीक्षण केन्द्र स्थापना  गरिएका छन् । केही दिन रोकिएको परीक्षणलाई केन्द्रबाट सामग्री आएपछि तीब्रता दिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टाइनलाई केन्द्रित गरी नमूना परीक्षण भइरहेको स्वास्थ्य निर्देशक डा. विनोद कुमार गिरीले रातोपाटीलाई बताए ।

यसरी कन्ट्याक्ट ट्रेसिङ बढाउँदा र क्वारेन्टाइनमा रहेकाहरुको स्वाबको नमूना लिदै गर्दा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेर जान सक्ने उनको ठम्याइ छ ।

तीन दिनयतामात्रै भारतबाट नेपालतर्फ भित्रिएर क्वारेन्टाइनमा बस्नेहरुको संख्या पनि अत्यधिक छ । त्यो बाहेक सीमामा अलपत्र परेका नेपालीहरुको संख्या पनि करिब तीन हजार भन्दा बढी रहेकाले उनीहरुमा समेत कोरोना संक्रमण हुनसक्ने भय र जोखिम दुबै रहेकोे डा. गिरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप