शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा युवक पक्राउ

सोमबार, २९ वैशाख २०७७, १२ : ४०
सोमबार, २९ वैशाख २०७७

कैलाली । कैलालीको गौरिगङ्गा नगरपालिका–९ शङ्करपुरकी १९ वर्षीया युवतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक युवकलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । शङ्करपुरकी युवती लक्ष्मी देउवाको फेसबुक आइडीबाट उनका आफन्त तथा साथीहरुलाई अश्लील भिडियो तथा फोटोहरु पठाई चरित्र हत्या गरी आत्महत्या गर्न बाध्य पारेको आरोपमा कञ्चनपुरको बेलौरी नगरपालीका–७ का २३ वर्षीय सन्तराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

शनिबार युवती देउवाले धनगढी उपमहानगरपालीका–६ जालीस्थित सुकुटी नालामा घाँटीमा पासो लगाई आत्महत्या गरेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले घटनामा संलग्न चौधरीलाई उक्त अश्लील भिडियो, फोटो र फेसबुक आइडी लगइन अवस्थामा मोबाइलमा फेला पारी पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । 

६०० मजदुरलाई राहत वितरण

सुन्दर सुदूरपश्चिम यातायात प्रालिले लकडाउनका कारण सवारीसाधन चल्न छोडेपछि समस्यामा परेका व्यवसायी तथा मजदुरलाई आइतबार राहत वितरण गरेको छ । यातायात प्रालिद्वारा प्रालिको यातायात सेवामा संलग्न भई सेवा दिइरहेका व्यवसायी तथा मजदुरलाई राहत वितरण गरिएको बताइएको छ ।

प्रालिका अध्यक्ष पदमराज सापकोटाले प्रालिसँग आबद्ध व्यवसायी तथा मजदुरमध्ये पहिलो चरणमा ६०० लाई राहत वितरण गरिएको जानकारी दिए । उनले प्रतिव्यक्ति २० किलो चामल, दुई किलो दाल, एक किलो नुन र एक पोका खानेतेल वितरण गरिएको बताउनुभयो । लकडाउन लम्बिँदै गएको खण्डमा पुनः दोस्रो चरणको राहत वितरण गरिने अध्यक्ष सापकोटाको भनाइ छ ।

चोरी घटनामा संलग्न ३ पक्राउ

धनगढी उपमहानगरपालिका–७ मा एक व्यक्तिको घरबाट सुनका गहनासहित नगद रकम चोरीको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । गत चैत ६ गते वडा नं ७ बस्ने रामबहादुर विककी श्रीमती रेखा घरमा ढोका बन्द गरी बारीमा गएको समयमा ढोका खोली दराजमा रहेको सुनको तिलहरी दुई थान, हातको बाला, मोबाइल र नगद रु २० हजारसहित चोरी गरेको आरोपमा धनगढी–१ का श्याम जोशी, शिवनगर बेताल आरती सुनचाँदी पसल सञ्चालक कमलेश भन्ने सुजल खनाल र पङ्कज घिमिरेलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बस्नेतले आइतबार जानकारी दिए ।

मदिरा बरामद

प्रहरीले धनगढी उपमहानगरपालीका–७ मनेहरा र वडा नं १२ बाट रु २० हजार बराबरको मदिरा बरामद गरी आइतबार नष्ट गरेको छ । घरेलु कच्चा मदिरा अन्दाजी ४५० लिटर बरामद गरी नष्ट गरिएको र विभिन्न किसिमका सिल प्याक मदिरा २२५ बोतल कारवाहीका लागि सम्बन्धित कार्यालयमा पठाइने बताइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप