शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

घेराबन्दीमा बालुवाटार

आइतबार, २८ वैशाख २०७७, १७ : २८
आइतबार, २८ वैशाख २०७७

-झकबहादुर मल्ल ‘सुदीप’

       सन् १९६४ तिरको कुरा हो । चिनियाँ कम्युनिस्ट पार्टी र सरकारमा नेपालको अहिलेको जस्तै समस्या देखा पर्यो । कम्युनिस्ट पार्टीको मूल्य, मान्यता र आदर्शविपरीत राष्ट्रपति लिउ साओचिका गतिविधिहरु देखापरे । सरकारमा बुर्जुवाहरूको घेराबन्दी प्रष्ट रूपमा देखा पर्यो । 

सरकार कम्युनिस्ट पार्टीको भन्दा पनि संशोधनवादी, सुधारवादी र बुर्जुवाहरूको केन्द्रको रूपमा विकास भयो । सरकारका गतिविधि यसरी विकास भइरहँदा पार्टीका कतिपय जिम्मेवार नेताहरु साथै चिनियाँ जनमुक्ति सेनाका कमान्डरहरु समेत बुर्जुवाहरूको प्रभावमा परे । ठीक त्यही बेलामा चिनियाँ कम्युनिस्ट पार्टीका सर्वोच्च नेता माओ त्सेतुङले बेजिङ युनिभर्सिटीका विद्यार्थीहरुलाई सम्बोधन गर्दै आम जनतालाई अपिल गरेका थिए– ‘बम्बार्ड द बुर्जुवाज हेडक्वाटर’ । 

 बुर्जुवा हेडक्वाटरमा बम्बार्ड गर्ने भन्ने कुरा माओ त्सेतुङले साङ्केतिक रूपमा अभिव्यक्त गर्नुभएको हो । साँच्चैको बम र बारुद पड्काउने भन्दा पनि महत्त्वपूर्ण कुरा पार्टी नेतृत्वमा देखा परेका बुर्जुवा चिन्तन् र व्यवहारका विरुद्ध सङ्गठित वैचारिक हमला गर्न गरेको अपिल थियो । 

त्यसलाई पछि चिनियाँ कम्युनिस्ट पार्टीले ‘महान सर्वहारा सांस्कृतिक क्रान्ति’को रूपमा अघि बढायो । सत्ता र सरकारमा रहेका विकृति, विसङ्गतिका विरुद्ध आम जनतालाई सम्मिलित गराएर कम्युनिस्ट पार्टीले सञ्चालन गरेको यो महान् अभियानले नै केही कमी कमजोरीका बाबजुद आजको विकसित चीन निर्माण गरेको हो । यदि साँच्चिकै नेपाललाई विकास गर्ने हो भने कम्युनिस्ट पार्टी र सरकारमा रहेका विकृति र विसङ्गतिका विरुद्ध निर्ममतापूर्वक यो महान् सांस्कृतिक अभियान सञ्चालन गर्नै पर्दछ ।

आज नेपालको कम्युनिस्ट आन्दोलनमा ठीक यस्तै खालको परिस्थिति अझ गम्भीर र जटिल रूपमा देखापरेको छ । कम्युनिस्ट मूल्य मान्यता र आदर्श एकातिर छ, सरकार अर्कोतिर दलालहरूको घेराबन्दीमा नराम्ररी फँसेको छ । जनताका समस्याहरु दिनप्रतिदिन जटिल बन्दै गइरहेका छन् । राष्ट्रियताको सवाल दिनानुदिन जटिल बन्दै गइरहेको छ । विश्व महामारीको रूपमा देखापरेको कोरोना र यसले गरेको असर सिङ्गो मानव समाजमा त छँदैछ नेपाली जनताको भविष्यसमेत अत्यन्त पीडादायी र कष्टकर हुने देखिन्छ ।

 यो तत्काल देखिएको गम्भीर समस्याप्रति सरकारले देखाएको संवेदनशीलतालाई मात्रै आधार बनाएर यसो भनिएको होइन । सरकार गठनको झण्डै साढे दुई वर्षको अवधिलाई नियाल्यो भने आज भन्नै पर्छ ‘बम्बार्ड द ब्रोकर्स हेडक्वाटर’ ।

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहास उथलपुथलकारी घटनाले भरिएको छ । टुटफुट र विभाजनका अनगिन्ती शृङ्खलाहरु पार गरेर वर्तमानको धरातलमा खडा भएको छ । नेपाली कम्युनिस्ट आन्दोलन नेपाल आमाका वीर सन्ततिहरुले बगाएको रगतको भेलबाट अघि बढेको हो । यसमा त्याग, समर्पण, वीरता र बलिदानका कीर्तिमानी गाथाहरु प्रशस्त मात्रामा छन् । शासकहरुका विरुद्धको लडाइँमा विजय र पराजयका कैयौँ घुम्ती र मोडहरु देखा पर्दछन् । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलन एकाध व्यक्ति वा समूहको विर्ता होइन । लाखौँलाख नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरूको विचार र भावनाको केन्द्रीकृत अभिव्यक्ति नेपाल कम्युनिस्ट पार्टी हो । यसकारण कम्युनिस्ट पार्टीको मुख्य नेतृत्वमा दलालहरूको घेराबन्दी किमार्थ स्वीकार्य हुँदैन ।

 अहिले दलालहरूको हेडक्वाटरको रूपमा प्रयोग भएको बालुवाटारबाट दिनानुदिन कम्युनिस्ट पार्टीको त्यही गौरवपूर्ण इतिहासको खिल्ली उडाइएको छ । कम्युनिस्ट मूल्य मान्यता र आदर्शहरुको धज्जी उडाइएको छ । ऐतिहासिक पृष्ठभूमि र योगदान गरेका नेता र कार्यकर्ताहरुको अवमूल्यन गर्ने काम भइरहेको छ । पार्टी एकताका सन्दर्भमा विधान र प्रतिवेदनमा स्पष्ट उल्लेख भएका सैद्धान्तिक मूल्य र मान्यताहरुमाथि प्रहार भइरहेको छ । विकास र समृद्धिका लागि जनताले व्यक्त गरेको उच्च किसिमको अभिमतलाई अपव्याख्या गर्ने र त्यसलाई भुत्ते पार्ने काम भइरहेको छ । एकताका मूल्य र मान्यताहरु ध्वस्त पार्दै नयाँ ढङ्गले फुटको बिजारोपण भइरहेको छ । यो कार्यमा सक्रिय दलालहरु आफ्नो सम्पूर्ण ताकतकासाथ एकातिर तरबार चलाइरहेका छन् भने अर्काेतिर प्रधानमन्त्रीलाई मण्डले शैलीमा देवत्वकरण गरिरहेका छन् । 

मार्क्सवाद र पुँजीवाद एक–अर्काका विरोधी तत्व हुन् । आज पुँजीवादको विकृत र भद्दा रूप ‘दलाल पुँजीवाद’को रूपमा हाम्रो जस्तो देशमा देखापरेको छ । जसले बहुराष्ट्रिय कम्पनीहरू, अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको तावेदारी गर्ने साथै राष्ट्रिय स्वाधीनता र राष्ट्रिय पुँजीलाई कमजोर पार्ने काम गरेको हुन्छ । यसका विविध रूप र प्रभावबारे अरू कुनै सन्दर्भमा चर्चा गरौँला । यही दलाल पुँजीवाद र यसका मतियारहरु बालुवाटारलाई केन्द्र बनाएर कम्युनिस्ट पार्टी र नेपाली जनताका विरुद्ध निरन्तर क्रियाशील भइरहेका छन् । गत केन्द्रीय समिति बैठकमा पनि यसबारे गम्भीर विषय उठान भएको थियो । विडम्बना नै मान्नुपर्छ नेपाल कम्युनिस्ट पार्टीका एक अध्यक्ष तथा प्रधानमन्त्री तिनै दलालहरूको बैसाखी टेकेर नेपाली राजनीतिको वैतरणी तर्ने असफल प्रयत्न गरिरहनुभएको छ ।
 

कम्युनिस्ट पार्टी र त्यसको नेतृत्वलाई पार्टी र सरकार सञ्चालन सम्बन्धी अलमलिनु नपर्ने गरी विश्व कम्युनिस्ट आन्दोलन र नेपालको आफ्नै इतिहासले स्पष्ट बाटो देखाएको छ । अझै त्यसलाई मूर्तरूप दिने गरी चुनावी घोषणापत्र पनि जारी भएको थियो । पटक पटक सरकारको नेतृत्व गरेका नेताहरूको टिम पनि साथमै छ । पाँच वर्षे कार्यकाल बोकेको सरकारको मध्यावधि समीक्षा गर्दाखेरी कुनै पनि किसिमको प्रभावकारी काम भएको देखिँदैन । बरु उल्टै काम नहुनुको दोष अरूको थाप्लोमा हालेर आफू पानीमाथिको ओभानो बन्ने कोसिस भइरहेको छ । यसको एउटै मात्र कारण हो बालुवाटारमा दलालहरूको घेराबन्दी । यो संसारका प्रायः सबै देशहरुमा हुने गर्छ । जसले त्यो घेरा तोडेर आफ्ना सच्चा मित्रहरू साथमा लिएर निस्वार्थ भावका साथ काम गर्छ, त्यही नेता नै सफल भएको हुन्छ भने राष्ट्रले समृद्धि हासिल गरेको हुन्छ ।

आज देशको समग्र विकास खर्च हेरौँ, स्थिति साह्रै नाजुक छ । राष्ट्रिय गौरवका आयोजनाहरु हेरौँ, प्रगति सन्तोषजनक छैन । सुशासनको पाटो हेरौँ, न्यायप्रणाली हेरौँ कतैबाट पनि सुखद् परिणाम भेट्न सकिँदैन । सातैवटा प्रदेशका सरकारको गतिविधिहरु हेरौँ, त्यहाँ झन् अस्तव्यस्त छ । स्थानीय तहका सरकारहरू पनि एकाध बाहेक सबैको स्थिति जनचाहना अनुरूप छैन । सिङ्गो देशको यो अवस्था देख्दादेख्दै पनि पाँच वर्ष यही सरकारलाई कामको जिम्मा दिने हो भने राजनीतिक स्थायित्व नामको परिणाम बाहेक नेपाली जनताले केही पनि प्राप्त गर्ने छैनन् । प्राप्त गर्नेछन् त तिनै दलालहरुले जसले बालुवाटारलाई आफ्नो क्रीडास्थल बनाएका छन् । यतिबेला दलालहरूको त्यो क्रीडास्थलमा बम्बार्ड गरिएन भने सिङ्गो पार्टीले देश र जनताको सामु गरेका प्रतिबद्धता अधुरो रहने मात्रै होइन, देशले नै त्यसको भारी मूल्य चुक्ता गर्नुपर्ने हुन्छ । 

आज कोडि–१९ अर्थात कोरोना भाइरसका कारण सिङ्गो विश्व सङ्कटग्रस्त अवस्थामा छ । डेढ महिनादेखि सरकारले लकडाउन गर्नेबाहेक खासै उल्लेख्य काम गरेको देखिँदैन । व्यापक मात्रामा परीक्षण गर्ने, सङ्क्रमण भएको स्थानलाई सुरक्षित गर्ने र स्वास्थ्य सामग्रीहरूको पर्याप्त व्यवस्था गरेर आमजनतालाई विश्वासमा लिने काम सरकारी तवरबाट हुनसकेको छैन । लकडाउनका कारण अस्तव्यस्त बनेको जनजीवनलाई कसरी सहज बनाउने ? धरासायी बनेको अर्थतन्त्रलाई कसरी माथि उठाउने ? वैदेशिक रोजगारीमा रहेका र सङ्कटग्रस्त अवस्थामा पुगेका नागरिकहरूको जिम्मा कसरी लिने लगायतका तमाम समस्या समाधान गर्ने ठोस योजना यो सरकारले ल्याउन सकिरहेको छैन र सक्ने सम्भावना पनि छैन । अर्बौं कमिसनका खेलबाहेक देश र जनताप्रति जिम्मेवार देखाउने कुनै पनि क्षमता दलालहरुसँग हुँदैन । तिनै दलालहरूको बोलवाला रहेको देशको कार्यकारी निकायबाट विद्यमान सङ्कटको समाधान खोज्नु भनेको ऐँजेरुको बोटबाट स्याउ फल्ने अपेक्षा गर्नु जस्तै हो ।

आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री आफ्नो कुर्सी बचाउनको लागि हदैसम्मका प्रयत्न गरिरहनुभएको छ । सिङ्गो पार्टी र संसदीय दलले एक मतका साथ निर्वाचित गरेको प्रधानमन्त्री कुर्सी बचाउनका लागि संसदीय दलमा बहुमतको जोहो गर्न लिगलिगे दौडमा हुनुहुन्छ । 

पार्टीको सचिवालय, स्थायी समिति, केन्द्रीय समिति लगायतका निकायप्रति उहाँको भरोसा छैन अथवा ती निकायहरुबाट उहाँले विश्वास गुमाइ सक्नुभएको छ । सरकारको समग्र काम र व्यवहारले आमजनताको समेत विश्वास गुमाइसकेको अवस्था छ । यस्तो सङ्कटपूर्ण अवस्थामा समेत पार्टी र जनताप्रति साँच्चिकै इमानदार हुने हो भने उहाँ आफैँले त्यो दलालहरूको घेरा तोडेर अघि बढ्ने आँट गर्नेपर्छ । तर परिस्थिति हेर्दा राम राम भन्नु बाहेक अर्काे विकल्प देखिँदैन । किनकि चास्नीमा डुबेको झिँगाझैँ प्रधानमन्त्री दलालहरूको रसातलमा परिसक्नु भएको छ । 

नेपाली कम्युनिस्ट आन्दोलनमा निकै ठूलो योगदान गरेको हाम्रो नेतृत्वको टिम छ । लाखाँै नेता र कार्यकर्ताहरुको पङ्क्ति छ । यो विषम परिस्थितिबाट राष्ट्रलाई अगाडि बढाउने हो भने, कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाइ विकास गर्ने हो भने, गौरवपूर्ण इतिहासको रक्षा गर्ने हो भने र नेपाली समाजलाई विकास, प्रगति र समृद्धिको मार्गमा लैजाने हो भने अन्तिम पटक अठोट गर्नै पर्छ ‘बम्बार्ड द ब्रोकर्स हेडक्वाटर’ । यसो गर्न सकियो भने दलालहरूको चक्रव्यूहमा फसेका हाम्रा प्रिय अध्यक्ष तथा प्रधानमन्त्रीको पनि सकुशल उद्धार हुनेछ । व्यक्तिगतरूपमा नेपाली कम्युनिस्ट आन्दोलनलाई उहाँले पुर्याएको योगदानको समेत रक्षा हुनेछ । यो विषम परिस्थितिको फाइदा उठाउन तयार भएर बसेका यथास्थितिवादी तथा प्रतिगामी तत्वहरुबाट समेत देशलाई मुक्त गर्न सकिनेछ । त्यसको निम्ति एक मात्र विकल्प हो ‘बम्बार्ड द ब्रोकर्स हेडक्वाटर’ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा