बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

यो देश कसको ?

आइतबार, २८ वैशाख २०७७, ११ : ०६
आइतबार, २८ वैशाख २०७७

कहिले आदेशात्मक शैलीमा त कहिले प्रधानमन्त्रीको विनोदरसयुक्त भावमा सरकारी फरमान जारी छ– ‘लकडाउन अझ कडा गरिएको छ । आफ्नो, परिवार, छरछिमेक अनि मुलुककै स्वास्थ्यका लागि घरमै बस्नुस्, लकडाउनको पूर्ण पालना गर्नुस्, नत्र सरकार कडा कारबाहीमा उत्रिनेछ !’ अझ २०६२÷६३ को राजनीतिक परिवर्तनले सङ्घीय राजधानीमा रूपान्तरित भएको काठमाण्डू ‘देश’ले उपत्यका भित्रिने नाका थप कडाइ गर्ने जनाउ दिइरहेको छ । अर्थात् कोरोना सन्त्रासले सुरक्षाका विभिन्न घेराहरु निर्माण गरिरहेको छ । सबैभन्दा पहिले सङ्घीय शासकहरुको हेडक्वार्टर, त्यसपछि शासनसत्ताका केन्द्रहरु अनि क्रमशः प्रदेश, जिल्ला, स्थानीय तहहरु हुँदै देशको भौगोलिक सीमानासम्म । त्यो सुरक्षा घेराको सबैभन्दा पुछारमा चाहिँ ‘सार्वभौम नागरिक’ को घरबास परेको छ !

सरकारी फरमान अनुसार लकडाउन जिन्दगीको ४५औँ दिन (अर्को चरणको लकडाउनबारे सरकारी फर्मान जारी भइसकेको छ) एघार फिट बाई चौध फिटको एउटा कोठामा कैद भएको यो एकथान जीवनले खुल्ला आकाशरहित कोठाको सिलिङतर्फ नियाल्दै गर्दा केही लेखौं कि भन्ने भयो ! त्यसैले यी दुई थान हातहरु कम्प्युटरको किबोर्डमा अक्षरहरु टङ्कन गर्न बसे । तर पनि जाँगर खासै आएन, उत्साह धेरैबेर टिक्नै सकेन । तनमनको ऊर्जा त्यसै त्यसै आँधीबेहरीको व्यूहमा परेर कतै अलप भएझैं भयो । जेजति लेखिनुपर्ने हो, जेजति भनिनु पर्ने हो यी सबै लेखिइसके, भनिइसके, बोलिइसके । बस् समस्या त सुन्नेको हो । बुझ्नेको हो । महसुस गर्नेको हो । व्यवहारमा रूपान्तरित गर्नेको हो । लेख्ने, बोल्नेहरुले त आफ्नो कर्म गरेकै छन् । उनीहरु चिच्याएकै छन्, कराएकै छन् ।

तर जसलाई सुनाउनुपर्ने हो, जसले सुन्नुपर्ने हो ती सत्ताको नाभीमा विराजमान मसिहाहरुको ‘लकडाउन’ जिन्दगी अझ बढी आनन्दमयी र गुल्जार बनेको छ । तिनलाई अझ बढी सन्तोष र आनन्द मिलेको छ । तिनलाई अझ बढी ऐस र सुश्रुषा मिलेको छ । त्यसैले तिनले अहिले केही पनि सुन्दैनन्, देख्दैनन् अनि महसुस नै गर्दैनन् । जब महसुस नै हुँदैन भने त्यो व्यवहारमा प्रतिविम्बित भएर आउने कल्पना गर्नु नै बेकार छ !

जसै चीनको उहानबाट फैलन सुरु भएको कोरोना भाइरसले अमेरिका, युरोप, अफ्रिका, मध्य एसिया, पूर्वी एसिया हुँदै दक्षिण एसिया आइपुग्यो, तब हाम्रो दैनिकी घरमै सीमित हुन पुगेको छ । सरकारले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरससँग लड्न एक्कासि लकडाउन घोषणा गर्दा धेरै मान्छेहरु अभरमा परे । धेरै विरानो ठाउँमा अलपत्र परे । तर लकडाउन गर्नुपर्ने बाध्यता थियो नै । त्यसैले सुरुको दुई साता यसले खासै समस्या देखिएन । लकडाउन सफल भएको निषकर्षसहित फेरि कोरोनाको त्रास कायमै रहेको अवस्थामा सरकारले लकडाउन थप गर्यो । लकडाउनको दुई सातापछि भने यत्रतत्र कारुण र दुःखद् दृश्यहरु देखिन थाले ।

लकडाउनको प्रभावमा परी धेरै मानिस अलपत्र परे र तिनीहरुले हिँडेरै आफ्नो गन्तव्य पहिल्याउने कष्टसाध्य बाटो रोजे । किनकि उनीहरु विकल्पविहीन थिए । भरोसाविहीन थिए । हजारौँको सङ्ख्यामा मानिस झुण्डझुण्ड भएर सयौँ किलोमिटरको यात्रामा निस्किए । त्यो दृश्यले चारैतिर सन्नाटाको चित्र देखायो । भयावह युद्धबच्न हिँडेका मानिसका ताँतीझैँ लाग्ने ती दृश्यले जेबी टुहुेरेको सदावहार गीत –‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ, लाखौँको लागि उजाड छ यो देश, मुठ्ठीभरलाई त स्वर्ग छ !’ सम्झाइदियो ।

कुम्लो कुटुरो बोकेर, काखे शिशु च्यापेर भोक प्यास नभनी हप्तौँ तातो पिच सडकमा हिँड्दा ती वाफिएका मनहरुले के सोचे होलान् ? कामको सिलसिलामा पश्चिमबाट पूर्व पुगेका ती श्रमिक मजदुरहरु काम बन्द भएपछि बेखर्ची भएर ‘बाँचे घर पुगौँला, मरे एकबारको जुनी यसै भयो’ भन्दै विकल्पविहीन भएर भौँतारिएका दृश्यहरु जब सामाजिक सञ्जाल अनि सञ्चार माध्यममा बग्रेल्ती आउन थाल्यो– तब एउटा प्रश्न उब्जियो, आखिर यो देश कसको हो ?

जब लकडाउनका कारण बजार बन्द हुँदा खोरमा पालिएका कुखुरा भकाभक मर्न थाले । ती मरेका कुखुराको चाङ देखेर आँशुको घुट्को पिउँदै सहारा खोजिरहेको किसान होस् अथवा सयौँ किलोमिटर पैदल हिँडेर अर्धमूर्छित अवस्थामा सडक छेउको कुनै छहारीमा सुस्ताइरहेका बटुवाको क्रन्दन होस्, अथवा आफ्नो देश फर्किन सिमानाको गेट कहिले खुल्ला भन्दै सीमानाका बन्द गेटमा दुईथान आँखा विच्छ्याइरहेका प्रवासी नागरिक नै किन नहोऊन् ? यी सबै दृश्यहरु जब छरपस्ट भए, एउटा प्रश्न जबर्जस्त उब्जियो– आखिर यो देश कसको हो ?

हो, देशभित्रै र देश बाहिर अलपत्र परेका नागरिकले देश खोजिरहे । सरकार खोजिरहे । सहारा खोजिरहे । तर न त कसैको सहारा पाइयो न सरकार भेटियो न त देश नै फेला पर्यो । बाँच्ने अभिलाषासहित सङ्कटको बेला आफ्ना आफन्तजनसँग सँगै बसेर दुई गाँस खाने मनोकाङ्क्षा बोकेर ती घर फर्किन चाहन्थे । तर तिनले सहज रूपमा आफ्नो थातथलो पुग्नै पाएनन् । त्यसैले गोडा फटाएर, पैतालामा फोहोरा उठाएर, फाटेका जुत्ताचप्पलले सयौँ किलोमिटर सटक नाप्दै सयौँ मजदुरहरु हिँडिरहे तर सरकार कतै फेला परेन । किसानले खेतमा लगाएको तरकारी बोटमै कुहिए, सुके अनि ती सुकेका बाली हेर्दै गहभरी आँशु बोकेर देश खोजिरहे अहँ, देश फेला परेन !


नागरिकलाई लकडाउनको फर्मान गारी गरेसँगै हराएको सरकार एक्कासि यति होल्डिङ्ग्स र ओम्नीको पोल्टामा पो भेटियो । सारा मुलुक कोरोनाविरुद्ध लडिरहेको बेला सरकार भने मेडिकल सामग्री खरिदमा समेत भ्रष्टाचारको तानाबाना बुनिरहेको अवस्थामा पो भेटियो । अनि सरकार एकाएक दल फुटाउन सजिलो पार्ने अध्यादेशमा पो भेटियो । सरकार त संवैधानिक परिषद्मा विपक्षी दलको अस्तित्वलाई नै नामेट पार्ने गरी ल्याइएको अध्यादेशमा पो टुप्लुक्क देखियो । सरकार त लोकतन्त्रको घाँटी निमोठ्ने कानुन ल्याउने प्रपञ्चमा पो उदायो ।


अस्पतालका ढोका चहार्दै बिरामी र तिनका आफन्त यताउता दौडिरहे ! तर त्यहाँ पनि सरकार भेटिएन, देश फेला परेन । गरुन्जेलसम्म आम नेपालीले जतिसुकै गुनासो गरे पनि, जतिसुकै असन्तुष्टि पोखे पनि सरकार, सत्ता र पदीय हैसियतमा बसेकाहरुलाई जति नै प्रश्न गरेपनि प्रतिरोध गरेका थिएनन् । तिनले दुखम् सुखम् आफ्नो दैनिकी चलाइ नै रहेका थिए । आफूले गर्ने मिहिनेत गरेकै थिए । कामधन्दा चलाइदिएकै थिए । बन्दव्यापार अनि उद्यम गरेकै थिए । आफ्नो बाँच्ने काइदा गरेकै थिए ।

तर जब अनायासै देशमा कोरोनाको कहर भित्रियो ती नियमित कामधन्दाहरु अवरुद्ध हुने पुगे । ती नियमित बन्दव्यापार र उद्यम बन्द हुन पुग्यो । त्यो नियमित बाँच्ने काइदा बिथोलियो । अनि त उनीहरुले संकटको महशुस गरे । आम गरिखाने वर्गको जब आफ्नो रोजिरोटी नै गुम्यो, जब आफ्नो गरिखाने मेलो नै अवरुद्ध भयो, जब उसको श्रम गर्ने अड्डा नै बन्द भयो, जब उसको दालरोटी नै सङ्कटमा पर्यो । जब उसको चुलो नै निभ्यो अनि उनीहरुले सहारा खोजे । कसैको साथ, सहयोग र भरोसा खोजे । साँच्चिकै भन्ने हो भने उनीहरुले सरकार खोजे । देश खोजे । सङ्कटको बेला नै हो सरकार खोज्ने । सङ्कटमै हो राज्य खोज्ने तर अहँ भेटेनन् ।

नागरिकलाई लकडाउनको फर्मान गारी गरेसँगै हराएको सरकार एक्कासि यति होल्डिङ्ग्स र ओम्नीको पोल्टामा पो भेटियो । सारा मुलुक कोरोनाविरुद्ध लडिरहेको बेला सरकार भने मेडिकल सामग्री खरिदमा समेत भ्रष्टाचारको तानाबाना बुनिरहेको अवस्थामा पो भेटियो । अनि सरकार एकाएक दल फुटाउन सजिलो पार्ने अध्यादेशमा पो भेटियो । सरकार त संवैधानिक परिषद्मा विपक्षी दलको अस्तित्वलाई नै नामेट पार्ने गरी ल्याइएको अध्यादेशमा पो टुप्लुक्क देखियो । सरकार त लोकतन्त्रको घाँटी निमोठ्ने कानुन ल्याउने प्रपञ्चमा पो उदायो । जनमतलाई कब्जा गरी आफ्नो मनपरीतन्त्रको षड्यन्त्र गर्ने अध्यादेशमा पो देखियो । लोकतन्त्रको घाँटी अँठ्याएर अधिनायकत्व स्थापित गर्ने षड्यन्त्रमा पो झुल्कियो । 

जब नागरिकले सरकारलाई नदेख्नुपर्ने ठाउँमा देखे । जब सरकारले नागरिकका समस्या सुल्झाउने हैन, परन्तु बल्झाउने योजना बुनेको देखे, तब नागरिकले भर्चुअल प्रतिरोध गरे । सामाजिक सञ्जालहरुमा विरोधको स्वरूप घनिभूत भयो । सबैले प्रतिरोधको आवाज गुञ्जाए । अनि सञ्चार माध्यमहरुले पनि तिनै नागरिकका बोलीलाई टिपे । तिनकै आवाजलाई मुखरित बनाए । बल्ल सरकार झस्क्यो र निरङ्कुशता उत्प्रेरित विधेयक फिर्ता लिने निर्णय गर्यो ।

यी केही सन्दर्भहरुलाई केलाउँदा यो देश आम गरिखाने वर्गको होइन रहेछ, भन्ने भान हुन पुगेको छ । तर यो देश कुनै शासकले तरक्की गरेर वैभवशाली बनाएको देश हैन । बरु भोका नाङ्गा श्रमिक नागरिकहरुले दस नङ्ग्रा खियाएर, उनीहरुको ससानो उद्यमशील चेतले निर्माण भएको हो । यो देश बिना कुनै लगानी र श्रम राज्यको सम्पत्ति माथि ब्रह्मलुट गरी सहरबजारमा आलिशान महल अनि सुविधा सम्पन्न मोटरकारमा हुइँकिने राजनीतिक परजीवीहरुले चलाएको हैन, बरु तिनै गरिब किसान र ससाना उद्यमीहरुको अनवरत मिहिनेतले चलेको हो ।

त्यसैले शासनसत्तामा बसेकाहरुले दम्भ नदेखाए हुन्छ, कुनै दिन तिनका कुरा अवज्ञा गर्न, तिनलाई प्रतिरोध गर्न सबैभन्दा अग्रपङ्क्तिमा यिनै नागरिक उभिने छन् । जसलाई देशले÷सरकारले चिनेन, जसको दुरावस्था र विपत्तिलाई नजरअन्दाज गर्यो, जसको भोकोपेटलाई व्यङ्ग्य गरियो, जसको नाङ्गिएको आङलाई लल्कारियो, सीमानाको ढोका कुरेर बसेका बेवास्ता गरियो !

अहिले सडकमा कुनै विरोध छैन । कुनै प्रतिरोध छैन । कुनै जुलुस र नाराबाजी छैन । अझ भनौँ सडक सुनसान छ । प्रतिपक्षीको आवाज गुञ्जिने संसद यसै पनि बन्द छ । यदि त्यो चालू नै हुन्थ्यो  भने पनि त्यो आवाज सत्ताको कानमा पुगेकै हुँदैनथ्यो । झन् यो सङ्कटको बेला गुञ्जिने आवाज त प्रमको भाषामा ‘बेमौसमी बाजा’ भइगयो । त्यसैले त सत्ता नागरिकलाई आदेश गर्छ, ‘घरमै बस्नू, पोषिलो खानू, दीप प्रज्ज्वलन गर्नू, राष्ट्रिय गान बजाउनू, बस् घरमै बस्नू !’

अन्तिममा बुझ्नुपर्ने गुह्य चाहिँ के हो भने, यो देश शासनसत्ताको आसनमा पुगेका विशिष्ठहरु, राज्यस्रोतमा हात पुर्याउनसक्ने मसिहाहरु अनि केही थान धनाड्य वरिष्ठहरुको बापौती हैन । यो देश आफ्नै दशनङ्ग्रा खियाएर, आफ्नै पौरखमा बाँच्ने कला भएका हामी श्रमजीवी सार्वभौम नागरिकहरुको साझा भूगोल र भावना हो, जुन हामी प्राप्त गरेरै छाड्नेछौँ !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनिकर कार्की निवर्तमान
मनिकर कार्की निवर्तमान

Twitter : @nibartaman

[email protected]

लेखकबाट थप