शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

सांसदको प्रश्न : भारतले १२ वर्षदेखि सडक बनाउँदा नेपालले किन थाहा पाएन ?

‘मन्त्रीले हेलिकोप्टरबाट सीमा निरीक्षण गर्दा के हेरेर आए ?’
आइतबार, २८ वैशाख २०७७, १० : २६
आइतबार, २८ वैशाख २०७७

काठमाडौँ । नेपाल भारतबीचको सीमा विवादबारे संसदको अन्र्तराष्ट्रिय समितिले डाकेको बैठकमा भूमी व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याल अनुपस्थित भएकी छिन् । अचानक स्वास्थ्य समस्या आएका कारण बैठकमा सहभागी हुन नसकेको जानकारी गराएको समितिकी सभापति पवित्रा निरौला खरेलले जानकारी दिइन् ।

बैठकमा भूमि व्यवस्था मन्त्रालयका सचिवले सहभागिता जनाएका छन् । उनले प्राविधिक कारणले नेपालको सम्पूर्ण भूभाग रहेको नक्सा सार्वजनिक गर्न नसकेको बताएका छन् । निकट भविष्यमा नक्सा प्रकाशन गर्ने तयारी रहको उनले बताएका छन् । बैठकमा गृहमन्त्री रामबहादुर थापालाई पनि बोलाइएको छ ।

उनी संसदको अर्को समिति राज्यब्यवस्था तथा सुशासन समितिमा सहभागी भएका छन् । बैठकमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतले एकतर्फी रुपमा नेपाली भूमीमा सडक बनाएको विषय आपत्तिजनक रहेको र कुटनीतिक तबरबाट समस्या समाधान गर्न जोड दिएका छन् ।

बैठकमा सांसदहरुले तत्काल नेपालले नेपालको आफ्नो भूमि समेटिएको नक्सा जारी गर्न माग गरेका छन् । नेकपा सांसद राम कार्कीले तत्काल नेपालले आफ्नो भूभाग समेटिएको नक्सा सार्वजनिक गर्न माग गरेका छन् । उनले दुई देशबीच कुटनीतिक तरिकाले छलफल गर्ने भनेर भारतले पनि बताएको उल्लेख गर्दै नेपालले आफ्नो भूभागको आधिकारिक नक्सा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।


नेपाली कांग्रेसका सांसद दिव्यमणीराज भण्डारीले भारतले १२ वर्षदेखि सडक बनाउँदा नेपालले किन थाहा पाएन भन्दै प्रश्न गरे । उनले ‘अहिले गुगल स्याटेलाइटबाट सबै देखिन्छ, जनतालाई कति उल्लु बनाउन खोजेको ?’ भन्दै प्रश्न गरे ।

नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले मन्त्रीले हेलिकोप्टरबाट सीमा निरीक्षण गरेको भन्ने कुरा आएको बताउदै मन्त्रीले के हेरे भन्दै प्रश्न गरे ?  उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल गत फागुन ५ गते नेपाली सेनाको हेलिकप्टर चढेर निरीक्षणका लागि दार्चुला गएका थिए ।उनले प्रमुख प्रतिपक्षी दलले सरकारलाई आवश्यक कदम चाल्न सहमति दिँदा पनि सरकार लाचार भएको बताए ।

नेकपा सांसद सुदन किराँतीले जनताले थाहा पाएपछि मात्र सरकारले थाहा पाउने यो कस्तो सरकार हो भन्दै आपत्ति प्रकट गरे । उनले १२ किलोमिटर सडक खन्दा पनि सीमा क्षेत्रमा खटिएका सरकारी संयन्त्र भारतको गोटी हो कि हैन भन्दै आपत्ति प्रकट गरे ।

संसदीय समिति कार्यपालिकाको लाचार छायाँ छ हैन, किन संसदीय समितिले दिएको निर्देशन सरकारले पालना गरेन भन्दै प्रश्न गरे । उनले संसदले नेपालको नक्सा प्रकाशन गर्न दिएको निर्देशन पालना नभएको भन्दै आक्रोश व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप