शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनको मारमा कला क्षेत्रका मजदुर– ‘यो अवस्थामा कसरी बाँच्ने ?’

शनिबार, २७ वैशाख २०७७, ०९ : ०२
शनिबार, २७ वैशाख २०७७

काठमाडौं । कोरोनाभाइरस (कोभिड –१९)को त्रास संसारभर दिन प्रतिदिन बढ्दो छ । विश्वमा यो भाइरसले महामारीको रुप लिइरहेको छ । नेपालमा पनि यो भाइरस देखिएसँगै यसबाट सर्वसाधारणलाई सुरक्षित राख्न सरकारले देशभर गरेको लकडाउन डेढ महिना नाघिसकेको छ । अहिलेको अवस्थामै यो लकडाउन अझै एकसाता जारी रहनेछ ।

सरकारले गरेको लकडाउनका कारण देशको सबै क्षेत्रको अवस्था तहसनहस भएको छ । यो अवस्थाबाट नेपाली कला/मनोरञ्जन क्षेत्र पनि अछुतो रहन सकेको छैन । यसको बढी असर कलाक्षेत्रका मजदुरहरुमा देखिएको छ ।
कलाक्षेत्रमा दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका प्राविधिकहरुको अवस्था निकै कष्टकर बन्दै गएको छ । लकडाउन खुलेपछि पनि केही समय उनीहरुलाई समस्या नै पर्ने देखिएको छ । किनभने कलाक्षेत्रका गतिविधि भिडभाडमा हुने भएकोले लकडाउन खुले पनि गतिविधि सुरु हुन ६/८ महिना लाग्नेछ । 

यो अवस्थामा आफूहरुलाई राज्यले राहत वा जिउने आधार बनाउनु पर्ने कलाक्षेत्रका मजदुरहरु बताउँछन् । लकडाउन र त्यसपछिको अवस्थाको विषयमा कलाक्षेत्रका मजदुरहरुको धारणा उनीहरुकै शब्दमाः

राहुल राई (क्यामेराम्यान)
यो लकडाउन म जस्ता श्रमिकका लागि दुःख बनेर आएको छ ।  अहिले हामी कामविहीन भएका छौं । काम नभएपछि बसेर खानेमात्र भएको छ । आफूसँग जे थियो, त्यो सबै सकिन लागिसक्यो । केही समयपछि लकडाउन खुल्ला तर पनि ६/७ महिनासम्म फिल्मका गतिविधि (कामहरु) हुने देखिँदैन । यस्तो अवस्थामा कसरी बाँच्ने हो ? त्यसको चिन्ताले सताएको छ । लकडाउन खुले पनि हामीलाई फिल्मको गतिविधि सुचारु नभएसम्म अर्थात् ६/८ महिना सरकारले पाल्नुपर्छ ।


डिबी भण्डारी (प्रोडक्सन म्यानेजर)  
गरिरहेको काम अहिले बन्द छ । लकडाउनले गर्दा गाउँ फर्किने अवस्था नि छैन । जेनतेन बाँच्ने काम भएको छ । लकडाउन त केही समयमा खुल्ला । लकडाउन खुले पनि फिल्मको काम तुरुन्त हुन्न भन्ने लागेको छ । त्यसको लागि कम्तिमा पनि ६/८ महिना लाग्छ होला । ३५ वर्ष भयो मैले यो क्षेत्रमा बिताएको । मेरो अर्काे विकल्प केही पनि छैन । त्यसैले फिल्मको काम सुरु नभएसम्म बाँच्नका लागि चलचित्र सम्बन्धी संघसंस्था वा राज्यले हामीलाई जिउने आधारको ब्यवस्थापन गर्दिनुपर्छ भन्ने मेरो माग हो ।

विमला तामाङ (मेकअप आर्टिस्ट) 
डेढ महिना भयो काठमाडौंको कोठामा थन्किएको । अप्ठ्यारो अवस्थामा छु । नेपाल चलचित्र प्राविधिक संघले केही अगाडि राहत दिएको थियो । त्यो राहतले अहिले जिनतिन बाच्ने काम भएको छ । कोरोनाको कारण सरकारले गरेको लकडाउन त केही समयमा सकिएला । तर हामी फिल्मको दैनिक ज्यालामा काम गरेर खाने मानिसलाई भने अबको केही महिना अप्ठ्यारो स्थिति रहन्छ । किनभने काम छिट्टै सुचारु हँुदैन भन्ने सुनेको छु । यस्तो समयमा राज्यले राहत दिएर बाँच्ने आधार बनाईदिए हुन्थ्यो भन्ने लागेको छ । त्यो भएन भने पनि गाउँ जान पाए जान्थेँ । काम सुरु भएपछि फर्किन्थेँ ।

अर्जुन तिमिल्सिना (लाइटम्यान) 
अहिले म एकदमै समस्यामा छु । खल्तीमा एक पैसा छैन । कसैले केही राहत पनि दिएको छैन । लकडाउनपछि पनौती घरमा आएको छु । घरको अवस्था पनि नाजुक छ । फिल्मको दैनिक ज्याला गरेर घरपरिवार चलाउँदै आएको थिएँ । अहिले त्यो काम पनि बन्द भयो । सुत्केरी छोरी घरमा छिन् । सारै गाह्रो छ । फिल्मको काम सुरु भएदेखि केही राहत हुन्थ्यो । तर, अब ५/६ महिनायता फिल्मको काम सुरु हुन गाह्रो छ । त्यसैले  कसरी बाँच्ने, परिवार कसरी चलाउने भन्ने चिन्तैचिन्ता छ । फिल्म क्षेत्रमा ३५ वर्ष बढी बिताएँ । यो लामो योगदानमा अहिलेसम्म कहीँबाट केही पनि पाएको छैन । यो अप्ठ्यारो अवस्थामा चलचित्र विकास बोर्डबाट हेरबिचार होस् भन्ने लागेको छ । अहिलेको अवस्थाले सुसाइट गर्न मन लागेको छ । 

दीपेन्द्र प्रसाद थपलिया (सह–क्यामेराम्यान) 
अहिले समस्याको चाङ छन् । समस्या केलाएर के साध्य ? न काम छ, न दाम । तनाव भइरहेको छ । हाम्रो प्राविधिक संघले केही राहत दिएको थियो । केही समय सहज भए पनि अहिले फेरि अप्ठ्यारोमै छु । लकडाउन खुल्यो भने पनि हाम्रो फिल्म क्षेत्रका काम छिट्टै नहोला । काममा फर्किने समयसम्म कसरी बाँच्ने, अहिलेको चिन्ता यही हो । यो अवस्थामा राज्यले विकास बोर्डमार्फत केही ब्यवस्था गर्नुपर्छ भन्ने लागेको छ । केही भएन भने पनि अर्काे काम केही न केही गरेर बाँच्नुपर्ला ।

सानुभाई बिष्ट (लाइटम्यान) 
बसुन्धारामा छु अहिले । लकडाउनले निम्त्याएको समस्याको कुरा गरेर साध्य छैन । धेरै समस्यामा छु । कसलाई के भन्ने हो । यो लकडाउन केही समयमा खुल्ने देखिएको छ । तर पनि हाम्रो फिल्म क्षेत्रका काम सुरु हुन ४/५ महिना लाग्छ होला । यो समय के गर्ने, के खाने भन्ने चिन्ता लागेको छ । हामी फिल्मको काममा दैनिक ज्यालादारीमा गरेर खाने मजदुर हौँ । राज्यले हाम्रो समस्या बुझेर केही ब्यवस्था गर्दिए हुन्थ्यो । नत्र हामी मर्छौं ।


भरत नेपाल (लाइट ग्राफर)  
काठमाडौंको कोठामा दिन काट्दै छु । अवस्था निकै गाह्रो छ । राहत कहीँकतैबाट अहिलेसम्म मिलेको छैन । अहिलेभन्दा पनि मजस्ता मजदुरका लागि लकडाउन खुलेपछि पनि धेरै समस्या देखिने स्थिति छ । किनभने हाम्रो काम नियमित सुचारु हुन ५/६ महिना लाग्छ होला । यो समय आफुसँग भएको पनि सकिन्छ । हामीले चलचित्रको काम गरेर जे जति कमाउँछौँ, त्यो अनुसारको कर पनि राज्यलाई तिरेका छौं । अर्काे काम जानेको छैन । त्यसैले यो अप्ठ्यारो समय चलचित्र विकास बोर्डले केही ब्यवस्था गर्दिए हुन्थ्यो भन्ने लागेको छ । 

महेन्द्र लामा (लाइटम्यान) 
यो लकडाउनमा जेनतेन बाँच्ने काम भएको छ । यो समयको चिन्ता छैन, चिन्ता लकडाउनपछिको हो । किनभने लकडाउन सकिएपछि पनि फिल्मको काम ८/१० महिनासम्म सुरु हुँदैन होला । यो समय राज्यले हेर्दिए हुन्थ्यो भन्ने लागेको छ । राज्यबाट केही भएन भने गाउँ फर्किएर जे काम पाइन्छ त्यो गर्नुपर्ला । नत्र खान नपाएर मरिन्छ ।

राजु फुँयाल (स्पोटब्वाइ) 
लकडाउनले नै अवस्था निकै कष्टकर बनाएको छ । खानै समस्या छ । यो लकडाउन खुलेपछि पनि समस्या जस्ताको तस्तै रहन्छ । किनभने हाम्रो फिल्म क्षेत्रको काम सुरु हुन ६/७ महिना लाग्छ भनेर हाम्रै क्षेत्रका अग्रजले भनेका छन् । यो समय कसरी बाँच्ने भन्ने चिन्ता लागेको छ । हामी नियमित काममा नफर्किएसम्म राज्यले कोठा भाडा र खाने ब्यवस्था गर्दिए हुन्थ्यो । नत्र हामी बाँच्न गाह्रो छ । 

प्राविधिक बचाउने चिन्ता
सरकारले गरेको यो लकडाउन त केही समयपछि खुल्ला । तर कोरोनाको त्रासका कारण फिल्म सुटिङ, रिलिजजस्ता गतिविधि सुचारु हुन भने केही महिना लाग्छ । यो समय प्राविधिकलाई कसरी बचाउने भन्ने चिन्ता नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामालाई छ । 


‘लकडाउन खुलेपछि फिल्मको काम सुचारु हुन ६/८ महिना जति लाग्छ होला । त्यो समय प्राविधिकलाई कसरी बचाउने भन्ने अहिलेको मेरो चिन्ताको विषय हो,’ लामाले भने, ‘यसका लागि राहत बाहेक कुनै विकल्प छैन ।’

भोलि यो क्षेत्रका लागि मानिसको अभाव हुने भएकोले यो अवस्थामा उनीहरुलाई अन्य क्षेत्रमा लाग भन्न पनि नसकिने उनी बताउँछन् । लामाले यो अवस्थामा राज्यका निकायले त्यस्ता मजदूरलाई हेर्नुपर्ने औंल्याए ।

‘चलचित्रको काम नियमित नभएसम्मका लागि राहतको ब्यवस्था गर्न चलचित्र प्राविधिक संघ, चलचित्र विकास बोर्ड लगायत विभिन्न संघसंस्थाहरुसँगको पहलमा जुटेको छु,’ लामाले अगाडि भने, ‘यो अवस्थामा उनीहरुको समस्या भनेको घरभाडा र दैनिक खाद्यान्न नै हो । त्यसका लागि राज्यसँग संघले पहल गर्छ ।’ 

राज्यले पनि यस्ता मजदुरका लागि केही आवधारणा बनाउनु पर्ने लामाको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप