शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संसदमा प्रधानमन्त्रीविरुद्ध खनिए देउवा, राजीनामा दिन सल्लाह

शुक्रबार, २६ वैशाख २०७७, १६ : ३६
शुक्रबार, २६ वैशाख २०७७

काठमाडौं । काँग्रेस सभापति तथा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकारको कडा आलोचना गरेका छन् । 

संघीय संसदको प्रतिनिधिसभा बैठकलाई शुक्रबार सम्बोधन गर्दै देउवाले  सिंगो देश कोरोनाबाट आतंकित भएको बेलामा सरकारले लोकतान्त्रिक मूल्य र मान्यता एवं संविधानको मूल भावना विपरित दुइवटा विवादास्पद अध्यादेश जारी गरेर अलोकतान्त्रिक एवं गैह्र जिम्मेवार चरित्र प्रस्तुत गरेको आरोप लगाएका छन् । 

सबैपक्ष कोरोना विरुद्धको लडाईमा एक भएर लागेको बेला दल विभाजनको अध्यादेश ल्याउनु र संवैधानिक परिषद्को गरिमा समाप्त पार्ने षड्यन्त्र गर्नु प्रधानमन्त्रीको नियोजित नियत भएको दावी गरेका छन् । 

उनले एक सांसदको अपहरण प्रकरणमा नै न कुनै रुपले सरकारको संलग्नता देखिएके पनि देउवाले आरोप लगाए । उनले यो घटनाको निन्दा गर्दै अपराधमा संलग्न सबैलाई कडा कार्वाही गर्न माग समेत गरे । 

‘एकातर्फ कोरोनासंग लड्ने हाम्रो साझा दायित्व छ भने अर्कातर्फ वर्तमान सरकारले नियोजित नियतबाट लोकतन्त्र र संविधानका विरुद्ध गरिरहेको घातबाट वर्तमान संविधान र लोकतान्त्रिक ब्यवस्थाको रक्षा गर्नुपर्ने परिस्थिति पनि छ । म सरकार बाहिर रहेका राजनीतिक दल, संचार माध्यम, बुद्धिजीवी र समस्त नेपालीलाई यसबारे सजग र एकताबद्ध हुन अनुरोध गर्दछु’, देउलाले भने । 

देउवाले सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाई सकेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिँदा ठीक हुने सुझाव दिए। 

‘सरकारले नागरिकलाई देशमा सरकारको अस्तित्व रहेको अनुभूति गराउन सकेको छैन । महामारी विरुद्ध लड्न पूर्व तयारी, लक डाउनका बेलामा राहत, क्वारेनटाईन, अस्पताल आदीको उचित व्यवस्थापन, स्वास्थ तथा सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरुको व्यक्तिगत सुरक्षा सामग्री, परिक्षण सामग्रीको आपुर्तिका कामहरु उचित तवरले भएका छैनन्’, देउवाले भने, ‘ नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको ३ महिना बितिसक्दा पनि हालसम्म व्यापक परिक्षण भई सक्नु पर्नेमा अत्यन्त न्यून संख्यामा मात्र परिक्षण  भएको छ । परिक्षण सामग्रीको विश्वसनियतामा प्रश्न उठेका छन् । विदेशमा अफ्ट्यारोमा परेका नेपाली नागरिकको उद्दारको कुनै  योजना छैन । कोरोनावाट बिभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक प्रभावको अध्ययन गरी तत्कालिन र दिर्घकालिन रणनीति बनाउने दिशामा कुनै सुरसार छैन ।’

 विषम अवस्थामा पनि भ्रष्टाचारका घटना हुनु,  सरकार लोकतान्त्रिक मूल्य मान्यता र संविधानको भावना विपरित क्रियाकलापमा व्यस्त रहनु, सासदको अपहरण हुनु जस्ता अवाञ्छीत र आपराधिक गतिविधि कुनैपनि रुपले स्विकार्य हुन नसक्ने देउवाले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप